इमानदार र कर्तव्य निष्ठाका साथ काम गर्न नवनियुक्त मन्त्रिहरुलाई माधव नेपालको निर्देशन

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट नवनियुक्त मन्त्रीहरूलाई इमानदारता र कर्तव्य निष्ठाका साथ देश र जनताको हितमा काम गर्न निर्देशन दिएका छन् । पार्टीबाट नियुक्त मन्त्रीहरूलाई आइतबार पार्टी केन्द्रीय कार्यकालमा बोलाएर नेता नेपालले इमानदारता र कर्तव्यनिष्ठ भएर काम हुने विश्वास लिएको बताएका हुन् । उनले राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दुमा राखेर काम गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

अध्यक्ष नेपालले निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरूबाट मुक्त हुन पनि सचेत गराएका छन् । कुनै पनि संस्थामा व्यक्तिको छनौट गर्दा व्यक्तिको योग्यता, क्षमता र कार्यसम्पादनमा गरेको उत्कृष्टताको आधारमा गर्न पनि उनले सुझाव दिए ।

उनले भने – ‘तपाइहरूले इमानदारीताका साथ, कर्तव्यनिष्ठताका साथ आफ्नो काम सम्पादन गर्नुहुनेछ भन्ने हामीले अपेक्षा गरेका छौँ । इमानदारता र कर्तव्यनिष्ठको भावनालाई सर्वोपरि राखेर आफ्नो कार्यसम्पादन गर्ने कुरामा तपाईँहरूको ध्यान म आकर्षित गर्न चाहन्छु । काम गर्दाखेरी राष्ट्रको हितलाई र जुन संस्थाको जिम्मेवारी तपाईँहरूले सम्हाली रहनु भएको छ । त्यो संस्थाको हितलाई केन्द्रबिन्दुमा राखेर, अनि जनताको हितलाई केन्द्रबिन्दुमा राखेर तपाईँहरूले काम गर्नु हुनेछ । यस अर्थमा राष्ट्रको हित, जनताको हित र संस्थाको हितलाई तपाईँहरूले केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने हुन्छ ।’

अध्यक्ष नेपालले मन्त्रीहरूबाट विवादमा आउने र बदनामी कमाउने कुनै पनि काम हुनु नहुनेमा जोड दिएका छन् । उनले पदीय मर्यादा र गरिमा विपरीतका काम नगर्न समेत निर्देशन दिएका छन् ।

प्रतिक्रिया