जसपा भित्र कुनै प्रकारको असन्तुष्टि छैन : कृषि मन्त्री यादव

धनुषा । जनता समाजवादी पार्टी नेपाल (जसपा) प्रदेश २ को प्रदेश कमिटीको बैठकमा सहभागी हुन जनकपुर आएका संघीय सरकारका नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवलाई जनकपुर एयरपोर्टमा स्वागत गरिएको छ । जनकपुर एयरपोर्टमा सञ्चारकर्मीहरु संगको अन्तरक्रियामा मन्त्री यादवले जनता समाजवादी पार्टी भित्र कुनै प्रकारको असन्तुष्टि नरहेको बताए । उनले भने, ‘मिडियामा जुन प्रकारले प्रचारप्रसार गरिएको छ, त्यो सत्यता होइन र थिएन पनि ।’

उनले भने, ‘हाम्रो देश कृषि प्रधान देश हो । र यहाँका जनताको आर्थिक मेरुदण्डको रुपमा कृषि पेशा नै रहेको छ । तर कृषि पेशा प्रती सरकारको सोच र चिन्तन नकारात्मक रहेको छ ।’ मन्त्री यादवले बिगतका कुनै पनि सरकारले कृषिलाई प्राथमिकतामा नराखेको र बजेट पनि न्यून (३ प्रतिशत) मात्र भएकोले देश कृषिमा आत्मनिर्भर, आधुनिकीकरण र व्यवसायीकरण गर्न नीतिगत कुरा हुँदाहुँदै बजेटको कमिका कारण यो क्षेत्र जटिल भएको बताए । यसकारण नै कृषि क्षेत्रको समृद्धि हुन नसकेको मन्त्री यादवले बताए ।

मलखाद, बिउबिजन र किसानको हक अधिकार सुनिश्चित गर्न आफू लागिपरेको मन्त्री यादवले जनाए । उनले भने, किसान देशको समृद्धिको मेरुदण्ड भएकोले किसानको उन्नति र प्रगति भए मात्र देशमा दिगो बिकास सम्भव रहेको मन्त्री यादवले ठोकुवा गरे । किसानको हितका कामहरु गर्नुका साथै सात वटै प्रदेशहरुमा कृषि बजारको निर्माण, कृषि उत्पादनको उचित मूल्य तोक्ने र भन्डारण अहिलेको सरकारको नीति भएकोले यसलाई लिएर अगाडी बढ्ने मन्त्री यादवले बताएका छन् । पार्टीको विधि बिधान अनुसार पुर्वा राजपा पार्टी र जसपाको प्रदेशतर्फको समायोजनको विषयमा प्रदेश नं २ को प्रदेश कमिटीको आजको बैठकले टुंगो लगाउने मन्त्री यादवले बताएका छन् । मन्त्री यादवको स्वागतमा प्रदेश नं २ का उधोग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय, प्रदेश नं २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, जनकपुर उप–महानगरपालिकाका मेयर लालकिशोर साह, जसपा धनुषा जिल्ला अध्यक्ष पशुपति यादव, जसपा सर्लाही जिल्ला अध्यक्ष बिरेन्द्र यादव लगायत धनुषा तथा विभिन्न जिल्लाबाट आएका जसपाका नेता तथा कार्यकर्ताहरुले मन्त्री यादवलाई स्वागत गरेका हुन् ।

प्रतिक्रिया