श्रेष्ठको ‘टाइगर हिलकी पुनम’ माथि परिचर्चा

काठमाडौं । कवि एवं निबन्धकार अनिल श्रेष्ठको निबन्धकृति ‘टाइगर हिलकी पुनम’ माथि परिचर्चा गरिएको छ । कृतिको तेस्रो संस्करण प्रकाशित भएको अवसर पारेर शनिबार राजधानीमा परिचर्चा गरिएको हो । बालवाङ्मय तथा अनुसन्धान केन्द्रले आयोजनामा भएको उक्त कार्यक्रममा समीक्षक एवं स्रष्टाले श्रेष्ठको निबन्धमा पाइने वैचारिक स्पष्टता, काव्यात्मकता, भाषिक मिठास र मनोरम शैलीका कारण एउटा उचाइ प्राप्त गरेको बताए थिए ।
विवेक सिर्जनशील प्रकाशन प्रालिले प्रकाशित गरेको उक्त कृतिमा वक्ताहरुले देश र समाजको यथार्थ पक्षलाई कलात्मक रुपमा उधिनेको बताएका थिए ।

कार्यक्रममा समालोचक प्रा.डा. रमेशप्रसाद भट्टराईले विश्वमा निबन्ध र यात्रा निबन्धको क्षेत्रमा देखिएको पछिल्लो विकास र प्रवृत्तिको चर्चा गरे । उनले भने, ‘हामी पनि अब निबन्ध ‘टेबुल गफ’ मात्रै हो भन्ने भ्रमबाट मुक्त हुनुपर्छ ।’ उनले श्रेष्ठका निबन्धहरू नेपाली साहित्यको सन्दर्भमा सशक्त भएको धारणा राख्दै तर अझै साधना गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

अर्का समालोचक डा. बिन्दु शर्माले श्रेष्ठका निबन्धहरूमा देखिने पात्रहरूबारे विस्तारमा उल्लेख नहुँदा पाठकलाई के के नपुगेजस्तो लाग्ने विचार राख्दै आगामी लेखनमा त्यसतर्फ ध्यान दिन आग्रह गरिन् । निबन्धकार नवीन विभासले रोल्पामा जनादेश जान थालेपछि आफूले अनिल श्रेष्ठलाई चिनेको बताउँदै उनका निबन्धमा स्थानीय रङ पाइने जिकिर गरे । समालोचक तेजविलास अधिकारीले श्रेष्ठको परिचय र समग्र योगदानबारे चर्चा गरेका थिए । उनले श्रेष्ठले कविता, निबन्ध, समालोचना लगायत साहित्यका विविध विधामा कलम चलाउँदै आएको जानकारी दिए ।

निबन्धकार श्रेष्ठले आफ्नो लेखनयात्राबारे प्रकाश पार्दै आलोचनाबाट आफूलाई खार्न र अघि बढ्न थप ऊर्जा प्राप्त हुने गरेको उल्लेख गरे । कार्यक्रमको अध्यक्षता गर्दै बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष, समालोचक प्रमोद प्रधानले श्रेष्ठलाई चिन्न पुस्तक पढेर मात्र नहुने बताउँदै त्यसबाहिर पनि सूक्ष्म अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा बालवाङ्मय तथा अनुसन्धान केन्द्रका उपाध्यक्ष विजयराज आचार्यले स्वागत गरेका थिए भने कोषाध्यक्ष शान्ति सापकोटाले धन्यवाद दिएकी थिइन् । आयोजक संस्थाका महासचिव अनन्त वाग्लेले सञ्चालन गरेको उक्त कार्यक्रममा साहित्यकार राधेश्याम लेकाली, युवराज नयाँघरे, डा. धनप्रसाद सुवेदी, विष्णु भण्डारी, डा. बालाकृष्ण अधिकारी, माधव घिमिरे अटल, सिर्जना दुवाल, कमल सुवेदी, राजेन्द्रमान डंगोल लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया