रोल्पा । जिल्लाको पूर्वी भेगमा गत हप्तादेखि टेलिकम टावर नहँुदा सेवाग्राहीले सस्ती भोग्नुपरेको छ । सुनछहरी गाउँपालिकाको गुम्चालमा विद्युतकाे ट्रान्समिटर जलेकाले गत हप्तादेखि टेलिकमको सेवा अवरुद्ध भएको हो । अहिले गाउँपालिकाका जेलबाङ, सेरम उवा, गामलगायत स्थानका बासिन्दा टेलिकमको सेवा लिनबाट वञ्चित भएका छन् । टावर कहिले आउने कहिले जाने गर्छ स्थानीयवासी हिक्मत घर्तीले भने ।
पहिले सोलारमार्फत विद्युत् सञ्चालन हुने गरेकामा अहिले झन् विद्युत् भएर पनि नियमित सेवा सञ्चालनमा छैन उनले भने । सम्बन्धित नियकायले चासो नै दिँदैन कहिलेसम्म यसरी बस्ने घर्तीले दुःखेसो पोखे । टेलिकम टावर अवरुद्ध भएपछि धेरैपटक विद्युत् र टेलिकमका कार्यालयमा सम्पर्क गरी छिटो मर्मत गर्न पहल गरिएको सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले बताए । पटकपटक फोन गरेको छु, म आफैँ पनि कार्यालय पुगेर समस्या बताउँदासमेत तुलसीपुरले हेर्ने हो हामीले होइन भन्ने जवाफ पाइयो ।
उता विद्युत् कार्यालय प्रमुखलाई छिटो ट्रान्समिटर मर्मत गर्नुप¥यो भनी फोनगर्दा उल्टै थर्काउने गरेको अध्यक्ष पुनले गुनासो गरे । तार जलेको छ भन्ने बुझिएको छ नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालयका प्रमुख शम्भुप्रसाद मण्डलले बताए । टेलिकमका कर्मचारी आएपछि आफूले प्राविधिक पठाउने उनको भनाइ थियो ।
टेलिकमको साइड हो भनेपछि त उसैले उपलब्ध गराउनुप¥यो नि उनले भने । टावरको जिम्मा तुल्सीपुरको कार्यालयले हेर्ने गरेको दूर सञ्चार कार्यालयका प्रमुख भीष्मध्वज उपाध्यायले बताए । मर्मतका लागि उक्त कार्यालयमा चार इञ्जिनियरको टोली रहेको र उनीहरूले नै हेर्ने भएकाले तुलसीपुरबाट सामानसहित टोली चाँडै आउनेसमेत उनले बताए ।
समयमै मर्मत गर्न ढिलाइ गर्दा हप्तौँ दिनसम्म टेलिफोन सेवाबाट सेवाग्राही वञ्चित भएका छन् भने जिल्लाको पश्चिमोत्तर भेगको थवाङ, परिवर्तन, गंगादेव र माडी गाउँपालिकामा पनि यो समस्या देखिने गरेको छ । माडी गाउँपालिका–५ भाबाङ, वडा–३ स्थित तालाबाङ, परिवर्तन गाउँपालिका–२ स्थित राङ्सी र वडा–५ को राङ्कोट, थबाङ गाउँपालिका–२ स्थित थवाङमा टावर बनाइए पनि भरपर्दो छैन । गंगादेव गाउँपालिका–७ स्थित राँकको रातामाटामा रहेको टावर पश्चिम नेपालको सबैभन्दा ठूलो क्षमताको टावर मानिन्छ । नेपाल टेलिकमको सो टावरसँग अन्य टावर जोडिएकाले त्यहाँ समस्या आउने बित्तिकै अन्यत्रका टावरले काम गर्न छोड्छन् ।
रातामाटाको टावरमा समस्या देखापर्ने बित्तिकै पश्चिमोत्तर रोल्पाका अधिकांश टावरले काम नगर्ने समस्या रहेको परिवर्तन गाउँपालिका–२ वडाध्यक्ष हरिप्रसाद घर्तीले बताए । घण्टौँ डाँडाकाँडा पुगेर फोन गर्ने पुरानो समस्या दोहोरिने स्थानीयवासी सूर्यप्रकाश बुढामगरको गुनासो थियो । मुख्य समस्या विद्युत् आपूर्तिमै रहेको नेपाल टेलिकमका स्थानीय कर्मचारीले बताए । विद्युत्को तार जलिरहने र टावर सौर्य ऊर्जाबाट सञ्चालन गरिए पनि वर्षात्, कुहिरो र बादल लागेका समयमा ब्याट्रीमा विद्युत् सञ्चित नहुँदा समस्या हुने गरेको बताइन्छ ।
विद्युत् व्यवस्थापनका लागि स्थानीय सरकारसँग पटकपटक आग्रह गर्दा पनि सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ ।
प्रतिक्रिया