म्याग्दी । उत्तर/दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाको चार वटा खण्डको निर्माण सम्पन्न भएको छ । चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको उत्तरी कोरला नाका जोड्ने यस आयोजनाको ११ मध्ये हालसम्म चार वटा खण्डको स्तरोन्नति सम्पन्न भएको हो । सो आयोजनाको निर्माण कार्य आर्थिक वर्ष ०७३/७४ देखि सुरु भएको छ ।
आयोजनाका निमित्त प्रमुख आश्विनीकुमार यादवका अनुसार चार वटा खण्ड भएको ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकको ६५ र सात वटा खण्ड भएको १ सय १० किलोमिटर दुरीको जोमसोम–कोरला खण्डको ८५ प्रतिशत निर्माण सकिएको छ । ‘जोमसोम–कोरला सडकको सातमध्ये चार वटा खण्डको सडक ग्राभेल गरेर ठेकेदारले हस्तान्तरण गरिसकेका छन्’, उनले भने, ‘बाँकी तीन वटा खण्डको काम अन्तिम चरणमा पुगेको छ ।’
दिवा–रौताह–एपेक्स जेभीले ठेक्का लिएको लोमान्थाङ गाउँपालिका–१ छोसेरदेखि कोरला नाकाको २४ नम्बर पिलरसम्मको १६ किलोमिटर सडक ०७५ सालमा ११ मिटर फराकिलो, नाली, गयाबियन पर्खाल, मेसिनरी पर्खाल निर्माण र ग्राभेल गरिएको थियो । भेना–घिलिङ, जोमसोम–कागबेनी–ताङ्वे र ताङ्वे–चैले खण्डको सडक पनि स्तरोन्नति गर्ने काम सकिएको आयोजनाले जनाएको छ । ६ अर्ब लागत अनुमान गरिएको आयोजनामा आव ०७७/७८ सम्ममा ५ अर्ब १३ करोड ४८ लाख खर्च भइसकेको छ ।
सडक निर्माण र मोटरेबल पुल निर्माणका लागि आयोजनामार्फत आव ०७३/७४ मा ४६ करोड २० लाख, ०७४/७५ मा १ अर्ब ५२ करोड ५२ लाख, ०७५/७६ मा १ अर्ब ३१ करोड, ०७६/७७ मा ९० करोड २५ लाख र आव ०७७/७८ मा १ अर्ब २४ करोडमा ९३ करोड ५० लाख बजेट खर्च भएको आयोजनाले जनाएको छ । पछिल्लो आव ०७७/७८ मा सडक स्तरोन्नतितर्फ ८१ करोड ३२ लाख र पुल निर्माणतर्फ १२ करोड ८७ लाख खर्च भएको थियो । यस सडकको विभिन्न ठाउँमा करिब २० वटा मोटरेबल पुल निर्माणाधीन छन् ।
आयोजनाअन्तर्गत म्याग्दीको गलेश्वर–नारच्याङ पुल (१९ किलोमिटर), मुस्ताङको कोबाङ–जोमसोम (१९ किलोमिटर) र चराङ–छोसेर खण्ड (२५ किलोमिटर) दुरीको सडकको भौतिक प्रगति कम देखिएको छ । कोबाङ–जोमसोम सडक कालोपत्र र चराङ–छोसेर खण्डको सडक ग्राभेल गर्न कोसी एन्ड न्यौपाने जेभीले ठेक्का लिएको थियो । शर्मा–युनाइटेड जेभीले ठेक्का लिएको गलेश्वर–नारच्याङ पुल खण्डमध्ये गलेश्वरदेखि बेगखोला सम्मको करिब ६ किलोमिटर सडक कालोपत्र सुरु भएको छ । शर्मा–गजुरमुखीले ठेक्का लिएको मुस्ताङको थासाङ गाउँपालिकाको खन्तीदेखि कैकुखोलासम्मको १६ दशमलव ५ किलोमिटर सडक कालोपत्र सुरु गरिएको छ । बर्खाका कारण रोकिएको सडक कालोपत्रलाई दसँैलगत्तै पूर्णता दिने निर्माण कम्पनीले जनाएका छन् ।
प्रवेश बिन्दुमा पर्ने बेनी नगरपालिका–९ गलेश्वरमा करिब एक किलोमिटर र चौथो नम्बर प्याकेजमा पर्ने कोवाङदेखि जोमसोमसम्मको १८ किलोमिटर सडक पनि कालोपत्र गर्न लागिएको आयोजनाका इञ्जिनियर आशिष मानन्धरले बताए । ‘बेनी–घाँसा खण्डको दुई प्याकेजमा डिबिएसडी र घाँसा–जोमसोम खण्डको दुई प्याकेजमा असपाल्ट प्रविधिको कालोपत्र हुँदै छ’, उनले भने, ‘११ मिटर फराकिलो बनाइएको सडकको सातदेखि आठ मिटर चौडाइमा कालोपत्र हुन्छ ।’ बेनीदेखि जोमसोमसम्म दुई लेन कालोपत्र र जोमसोमदेखि कोरलासम्म ११ मिटर फराकिलो ग्राभेल सडक बनाउन सञ्चालित यो आयोजना राष्ट्रिय गौरवको हो ।
यो सडकलाई गण्डकी प्रदेशको ‘भाग्यरेखा’ को रूपमा लिने गरिन्छ । यो आयोजनाले पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक स्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने बताइएको छ । कोरला नाकासम्म सहज रूपमा सडक सुविधा प्राप्त भएमा नाका सञ्चालन गर्ने वातावरण बन्ने, आन्तरिक तथा बाह्य पर्यटक एवं तीर्थयात्रीको आगमन बढ्ने, स्थानीयवासीलाई सुविधा पुग्ने, कालीगण्डकी र आसपासका नदीहरूमा जलविद्युत्को विकास हुने अपेक्षा गरिएको छ । ‘सडक सुविधायुक्त र सहज हुने हो भने पर्यटक आगमन बढ्छ, कोरला नाका सञ्चालन गर्न दबाब पुग्छ, स्थानीयवासी भन्छन्, ‘सडकको स्तरोन्नति र कालोपत्र हुन थालेपछि हामी उत्साहित भएका छौँ ।’
प्रतिक्रिया