कालीगण्डकीको प्राकृतिक स्वरुप नासिँदै

बेनी । धार्मिक, सांस्कृतिक र जैविक महत्वलेयुक्त, बहुमूल्य शिला शालिग्राम पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीको प्राकृतिकस्वरुप पछिल्ला केही वर्षयता नासिँदै गएको छ । बहुचर्चित कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम–कोरला सडकखण्डको स्तरोन्नति थालिएसँगै सडक विस्तार गर्ने क्रममा निस्किएका ढुंगा, माटो, गेगर र सडककै कारण बर्सेनि बाढीपहिरोले गर्दा पवित्र नदी कालीगण्डकीको मौलिकस्वरूपमा परिवर्तन आएको वातावरण संरक्षणकर्मीले बताएका छन् ।

हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने उक्त ७६ किलोमिटर सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएर सडक साँघुरो भएपछि सडक विस्तार गर्ने नाउँमा त्यहाँको ढुंगा र गेगर कालीगण्डकीमा खसाल्दै आइएको छ । यहाँ सामान्य वर्षा हँुदासाथ ढुंगा, माटो र लेदोसहितको पहिरो खस्नुका साथै बाटो बगाउने र कालीगण्डकीमा गएर मिसिने गरेको छ । सडकखण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रेभिर, बाँदरजुङ्गे भिरमा बर्सेनि ठूलाठूला पहिरो जाँदा कालीगण्डकीको जलचक्र प्रणाली नै परिवर्तन हुने गरेको अन्नपूर्ण गाउँपालिका–५ का रमेश पुनले बताए ।

वर्षाका कारण ढुंगा र माटोसहितको लेदो खसिरहेकाले ठाउँठाउँमा पहिरो जाने र त्यो पहिरो कालीगण्डकी नदीमा मिसिने हुँदा खोँचयुक्त कालीगण्डकी पुरिँदै र साँघुरिँदै जान थालेको जानकारहरूले बताएका छन् । डोजर र स्काभेटरले जथाभावी उत्खनन् गर्दा कालीगण्डकी नदीको जलचक्र प्रणाली नै खल्बलिँदै गएको छ । बालुवा, ढुंगाजस्ता नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन्का कारण नदीले आफ्नो मौलिक र प्राकृतिक धारपरिवर्तन गर्नुका साथै त्यहाँका जलचर प्राणी बसाइँ सर्दै गएपछि नदीको जलचक्र प्रणाली नै खल्बलिएको वतावरणविद्हरूले बताउँदै आएका छन् ।

सर्वोच्च अदालतले गत साउनमा नदी उत्खनन्, नदीमा फोहर विसर्जन नगर्न अन्तरिम आदेश जारी गरिसकेको छ । तर, चोरी निकासी भने रोकिएको छैन । पछिल्लो समय मानवीय अतिक्रमणका कारण संकुचित हुँदै गएको पवित्र कालीगण्डकी बचाउनका लागि युवा अभियानकर्मीले पोस्टर आन्दोलन कविता शृंखला ‘नदी सप्तक’ अभियानसमेत सुरु गरेका छन् । यति हुँदाहुँदै पनि राज्यले प्रभावकारी कदम चाल्न नसक्दा नदीको दोहन, उत्खनन्, अतिक्रमण र नदीजन्य पदार्थ र बहुमूल्य दुर्लभ शिला शालिग्रामको चोरी निकासी भने रोकिएको छैन । नदीको जलचक्र प्रणाली परिवर्तन हुँदा प्राकृतिक र मानवीय संकटसमेत बढ्दै गएको छ ।

नदीले मौलिक धार परिवर्तन गर्दा बाढीपहिरोका कारण तटीय बस्ती जेखिममा पर्दै जान थालेका छन् । नदी साविकको भन्दा गहिरो र साँघुरो बन्दै गएको दानाका व्यवसायी इन्द्रमान शेरचनले बताए । उनका अनुसार जलचक्र प्रणालीमा आएको परिवर्तनले बाढीपहिरो र नदी कटानको जोखिम उच्चरूपमा बढ्दै गएको छ । कालीगण्डकी नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै पनि कार्य नगर्न र नगराउन सर्वोच्च अदालतले गत साउनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय समेतलाई अन्तरिम आदेश दिएको छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले विवादको अन्तिम आदेश नभएसम्मका लागि कालीगण्डकी नदीको प्राकृतिक बहाव र पर्यावरण प्रतिकूल हुनेगरी कुनै कार्य नगर्न मन्त्रिपरिषद्को कार्यालयसमेतलाई अन्तरिम आदेश दिएको हो ।

कालीगण्डकी नदीको सौन्दर्यलाई क्षयीकरण हुन नदिन युवाको समूहले पोस्टर आन्दोलन कविता शृंखला ‘नदी सप्तक’ अभियान गरेको छ । अभियानले कालीगण्डकीमाथि रचिएका कवितालाई ‘पोस्टर कविता’का रूपमा विभिन्न सञ्चारमाध्यममार्फत सार्वजनिक गर्दै आएको छ ।
अभियान कालीगण्डकी नदीमाथि भइरहेको अवैध दोहनविरुद्ध लक्षित छ । राष्ट्रकवि स्व.माधवप्रसाद घिमिरेले ०१५ सालमा लेखेको कविता ‘कालीगण्डकी’ बाट ‘नदी सप्तक’ कविता शृंखला सुरुआत गरिएको अभियानका अगुवा आरके अदिप्त गिरीले बताए ।

प्रतिक्रिया