ललितपुर । वैश्विक महामारीका रुपमा फैलिएको कोरोनाले मानवजातिलाई गहिरो प्रभाव पारेको छ । यसबाट उत्पन्न त्रासको मनोविज्ञानले सामाजिक तथा मानसिक रुपमा मानिसलाई नराम्ररी गिजोलेको छ । बन्दाबन्दी, निषेधाज्ञा तथा बन्द सामाजिक जनजीवनले समाजका हरेक क्षेत्र प्रभावित छन् । कोरोना कहरबाट उत्पन्न सामाजिक तथा मानसिक विषयमा केन्द्रित रही कलाकार संगी श्रेष्ठले तयार पारेका कलाकृतिको प्रदर्शनी भएको छ । पाटनढोका चाकुपाटस्थित एमक्युब आर्ट ग्यालरीमा उनले जीवन र जगत्का शाश्वत पक्षलाई संवेगात्मक रुपमा उधिनेकी छन् ।
‘संवेग’ शीर्षकमा भएको प्रदर्शनीमा कलाकार संगीले कोरोना कहर र त्यसले पारेको सामाजिक, मानसिक तथा भौतिक प्रभावलाई बिम्बात्मक रुपमा चित्रण गरेकी छन् । हरेक संकटपछि हामी उठ्न सक्छौ, अघि बढ्न सक्छौं र गति लिन सक्छौ भन्ने भाव बोकेका कलाकृतिले निराशा होइन आशामा जीवनका पाइला चाल्नुपर्छ भन्ने सन्देश प्रवाह गरेका छन् । साढे दुई दशकदेखि नेपाली ललितकला क्षेत्रमा सक्रिय कलाकार संगीले कोरोना महामारीको अवधिमा बनाएका साढे दुई दर्जनभन्दा बढी चित्र प्रदर्शनी राखिएको जानकारी दिइन् । उनले प्रदर्शनीमा राखिएका प्रत्येक चित्रमा कोरोनाका कारण लगाइएको बन्दाबन्दी र निषेधाज्ञाका बीचमा मनमा उत्पन्न आवेगलाई रङ र रेखामार्फत अभिव्यक्त गरेको सुनाइन् । चित्रमा गुम्सिएर बस्नुपर्ने अवस्था आइलागेपछि मनमा उत्पन्न विभिन्न विचार, सोचाई अथवा मनस्थितिलाई चित्रमा उतारिएको छ । कोरोनाले निराशा उत्पन्न गरे पनि प्रदर्शनीमा राखिएका कलामा आशा र उज्यालोको भावलाई निकै कलात्मक रुपमा सम्प्रेषण गर्न खोजिएको छ । संकट प्राकृतिक तथा मानवीय जीवनमा आइरहने परिघटना हुन् । यस्ता समस्यासँग जुध्दै नयाँ सम्भावनाको खोजीमा मानिस सधैं अघि बढिरहनुपर्छ सन्देश कलाकृति रहेको पाइन्छ । उनले भनिन्, ‘कोरोना कालमा हामीले एकदमै फरक किसिमको समयलाई भोग्न बाध्य भयौं । कतिबेला के हुन्छ, कसलाई कस्तो विपत्ति आइपर्छ र अब समय कतातिर मोडिन्छ भन्ने अन्योलताबीच हामी गुज्रियौ । ती सबै पाटालाई मैले कलामार्फत् भोलि त राम्रो हुन्छ भन्ने आशा व्यक्त गर्दै प्रस्तुत गरेको छु ।’ उनका कलाकृतिमा आफन्त, समाजसँगै विश्वास, आशा, शान्ति, दीर्घायू, जित, प्रेम, सम्पत्ति सबै पुनः प्राप्त गर्न सकिन्छ भन्ने आशाका भाव अभिव्यक्त भएका छन् ।
कलाकार संगीका चित्र गति र रससँगै सुललित र उचित रङको संयोजनबाट भावप्रधान बन्न पुगेका छन् । रेखा, रङ र तुलिकाको सन्तुलित संयोजनले चित्रको आत्मालाई सजीव र गतिशील बनाएको पाइन्छ । चित्रमा रुप, रस, सुख–दुःख, आनन्द अवसाद, अनुराग–विराग, दया, करुणा, आशा–निराशा, भित्री र बाहिर जगत्को शाश्वत सत्यलाई प्रकट गरिएको छ । कुनै घटना, परिघटना वा परिस्थितिले समय या आत्मीयता, वेदना, अथवा भावना जागृत हुने अवस्था संवेग हो । चित्रमा रसबाट उत्पन्न आनन्दमयताले भावनालाई झंकृत गर्दछ । प्रदर्शित चित्रमा गति र रसलाई अनुभूतिद्वारा कलात्मक आनन्द प्राप्त गर्न सकिन्छ । रेखात्मक प्रस्तुतिको प्रवलता रहेका कलामा समसामयिक परिवेशलाई मनोवैज्ञानिक रुपमा जोडिएको छ । चित्रमा संयोजित रेखाले विलासिता तथा शृंगारभन्दा पनि भावनात्मक मनोदशालाई मार्मिक रुपमा चित्रण गरेको छ । रेखामा देखिने गतिशीलताले विषय, प्रस्तुति र कलात्मक उद्वेगलाई सशक्त बनाएको छ ।
क्लाकार संगी रङ संयोजनमा बढी सचेत भएको पाइन्छ । केही चित्रमा रेखाको प्रधानता बढी देखिन्छ भने केहीमा रङको । तथापि कलाकार श्रेष्ठले रुढिवादी सोचभन्दा माथि उठेर रेखा र रङको प्रयोगलाई सुललित र भावप्रधान बनाएकी छन् । जीवनका विविधता, परम्परागत कलाका बिम्बलाई आलङ्कारिक ढंगले प्रयोग, ज्यामितिय स्वरुपमा आकृतिको संयोजन, समय, परिवेश र घटनाको प्रतीकात्मक संयोजन, रङको सालिन प्रयोग, भद्दा रेखा वा रङको प्रयोगमा कमी, मनोवेगको उच्च प्रस्तुति प्रदर्शित कलाका मुख्य विशेषता हुन् । केही चित्रमा परम्परागत कलाका बिम्बलाई आलङ्कारिक रुपमा प्रयोग गरिएको छ । मण्डला, लतिका, फूल, पात आदिलाई बिम्बात्मक रुपमा प्रयोग गरिएको छ । ज्यामितीय आकारका मानवीय आकृतिमा निराशाभन्दा पनि आशा सञ्चार भएको भावलाई प्रकट गरेको पाइन्छ । जीवन र जगत्मा देखापर्ने विविध विपत्ति र दशालाई कलाकारले निराशा होइन आशा र विश्वासका साथ सामना गर्दै अघि बढ्नुपर्दछ भन्ने विचार प्रकट गरेकी छन् । प्रदर्शनी २२ गतेसम्म चल्ने छ ।
प्रतिक्रिया