कांग्रेस महाधिवेशन : गृह जिल्लामै युवा नेताको बेहाल

काठमाडौं । राष्ट्रिय राजनीतिमा कांग्रेस नेताहरू विश्वप्रकाश शर्मा र भीष्मराज आङदेम्बे प्रभावशाली नै हुन् । पार्टीको १४ औं महाधिवेशनमा शर्मा महामन्त्री र आङदेम्बे सहमहामन्त्री पदमा उठ्ने भएका छन् । उनीहरू दुवै जना कांग्रेसमा तेस्रो पुस्ताका नेता हुन् । रोचक त के छ भने यी दुवै नेताको जिल्लामा बेहाल देखिएको छ । अथवा, गाउँ/नगरको अधिवेशनपछि आएका नतिजाहरूको आधारमा यी नेताहरू भूगोलमा कमजोर ठहरिएका छन् । आङदेम्बे कमजोर ठहरिएका जिल्ला पाँचथरमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बलिया देखिए । उनी संस्थापन (शेरबहादुर देउवा) पक्षका नेता हुन् । आठ स्थानीय तहहरूमध्ये याङ्वरक गाउँपालिकामा शेरबहादुर नुगोबाहेक सबै पौडेल पक्षीय उम्मेदवार सभापति भएका छन् । पौडेल पक्षका नेता नरेन्द्रकुमार केरुङ त्यहाँ सभापति छन् । उनको प्रभाव विस्तारित अवस्थामा देखिन्छ । उनकै सक्रियतामा फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका, हिलिहाङ गाउँपालिका, फाल्गुनन्द गाउँपालिका, तुम्बेवा गाउँपालिका र मिक्लाजुङ गाउँपालिकामा संस्थापन पक्षलाई बनाइएको पाँचथर कांग्रेसमा चर्चा छ ।

यद्यपि, निर्वाचन भने फाल्गुनन्द र याङ्वरकमा मात्रै भएको हो । बाँकीमा सर्वसम्मत सभापति चयन भएको युवा नेता डेकेन्द्रकुमार तामाङले बताए । यसरी आठ स्थानीय तहमध्ये एउटामा भीष्म प्रभाव छाड्न सफल भए । शर्माको भने प्रभाव शून्य देखियो । गृह जिल्ला झापाको कुनै स्थानीय तहमा उनले आफूपक्षीय नेताहरू सभापतिमा निर्वाचित गराउन सकेनन् । सभापतिमा उनी पक्षीय सबै हारे । पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला त्यहाँ पूरै हाबी भए । शतप्रतिशत विजयी गराउँदै कांग्रेस झापामा पकड जमाए । कन्काइ नगरपालिका, मेची नगरपालिका, विर्तामोड नगरपालिका, कमल गाउँपालिका, झापा गाउँपालिका, दमक नगरपालिका, अर्जुनधारा नगरपालिका, बुद्ध शान्ती गाउँपालिका, भद्रपुर नगरपलिाका, गौरादह नगरपालिका, शिव शताक्षी नगरपालिका, हल्दिबारी गाउँपालिका, गौरीगञ्ज गाउँपालिका, बाह्रदशी गाउँपालिका र कचनकवल गाउँपालिकामा निर्वाचित सिटौला पक्षीय हुन् ।

यो आधारमा महामन्त्री र सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका नेताद्वय शर्मा र आङदेम्बे जिल्लामा प्रभावहीन जस्तै देखिए । शर्मा पछिल्लो समय नेता विमलेन्द्र निधि निकट छन् । १३ औं महाधिवेशनसम्म उनी देउवानिकट थिए । देउवा पक्षबाट केन्द्रीय सदस्यमा निर्वाचित उनलाई देउवाले नै प्रवक्ता बनाएका हुन् । आङदेम्बे पनि देउवा पक्षबाटै १३ औं महाधिवेशनमा उम्मेदवार बनेर निर्वाचित भए । र, देउवाले उनलाई अनुशासन समिति संयोजक नै बनाए । उनी देउवासँगै छन् । महामन्त्री पदमै उम्मेदवारी रहने बताउँदै आएका देउवा पक्षीय सहमहामन्त्री डा. प्रकाशशरण महत पनि गृह जिल्ला नुवाकोटमा कमजोर देखिएका छन् ।

१२ वटा स्थानीय तहमध्ये महतपक्षका चार जना सभापति बने । जबकि, संस्थापन इतर पक्षको नेतृत्व गरेका नेता अर्जुननरसिंह केसी पक्षका आठ स्थानीय तहमा सभापति बनेका छन् । राष्ट्रिय राजनीतिमा प्रभावशालीमध्येका नेता डा. रामशरण महत र बहादुरसिंह लामा पनि देउवा पक्षीय नै हुन् । तर, उनीहरूको प्रभाव घटेको देखिएको छ । यस्तै, सभापतिको आकांक्षीसमेत रहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल गृह जिल्ला तनहुँमा हाबी हुन सकेनन् । उनी पक्षका दुई, महामन्त्री पदका दाबेदार नेता प्रदीप पौडेल पक्षका दुई, नेता शंकर भण्डारी पक्षका पनि दुई जना सभापति पदमा निर्वाचित भएका छन् । नेता ध्रुव वाग्लेनिकट पनि एकजना सभापति भएका छन् ।

प्रतिक्रिया