गीतकार दहालले पाए रु ५७ हजारसहितको पुरस्कार

काठमाडौं । गीतकार रमेश दहाल ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृत भएका छन् । गीतकार संघ नेपालले प्रदान गर्ने ‘वर्ष गीत पुरस्कर’ यो वर्ष ‘आफै हिड्ने भिरको बाटो खन्नुपर्छ मैले’ गीतका लागि दाहाललाई शनिबार नगद रु ५७ हजारसहित सम्मानपत्रले सम्मान गरिएको जनाएको छ । पुरस्कृत गीतमा सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र कर्ण दासको स्वर रहेको छ ।

गीतकार संघ नेपालको एघारौँ वार्षिकोत्सव तथा नवौँ स्रष्टा सम्मान कार्यक्रम मोरङको सुन्दर हरैचामा शनिबार सम्पन्न भएको हो । सो अवसरमा विभिन्न कलाकार तथा साहित्यकारलाई पुरस्कृत गरिएको दाहालले जानकारी दिए । यो वर्षको राष्ट्रिय स्रष्टा पुरस्कारबाट गीतकार विश्व बल्लभलाई नगद १ लाख ५१ हजार र सम्मानपत्रले सम्मान गरिएको उनले बताए ।

वर्ष पुस्तकबाट गणेश श्रेष्ठ अपेक्षालाई नगद ५७ हजार र सम्मानपत्रले सम्मान गरिएको थियो । त्यस्तै, मातृभाषा गीत पुरस्कार कृष्ण बहादुर गुरुङ र डायस्पोरा पुरस्कार हरि उप्रेतीलाई दिइएको छ । गीतकार प्रमोद ढुंगाना र गंगाराम मुकारुङले निर्णायकको भुमिकामा उत्कृष्ट बर्ष गीत छानिएको हो ।

मोरङ, खोर्सानेस्थित सिद्धार्थ सेकेन्डरी स्कुलको सभाहलमा प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उनले कलाकारले तराई र पहाडलाई जोड्न अभिप्रेरित गर्ने गीत सङ्गीत बनाउनुपर्ने बताए ।

‘मुलुकमा भएका परिवर्तनका आन्दोलनमा कलाकार र साहित्यकारको योगदानको कदर गर्नुपर्छ’, उनले भने, ‘कलाकार र साहित्यकारको खबरदारीले राज्य सञ्चालन गर्नेलाई सचेत बनाइरहेको हुन्छ ।’ उनले कलाकार र साहित्यकारले प्रकृतिसँग जोडिएका विषयवस्तुलाई उठान गर्नुपर्ने बताए ।

रेडियो नेपालले आयोजना गर्ने बर्ष आधुनिक गीत प्रतियोगितामा दुई दुई पटक उत्कृष्ट गीतकारको पुरस्कार प्राप्त गर्न सफल गीतकारले म्युजिक खबर म्युजिक अवार्ड, सातौँ नेसनल क्यापिटल अवार्ड, सगरमाथा म्युजिक अवार्ड, लगायत दर्जनौ अवार्ड तथा पुरस्कारहरु प्राप्त गरेका छन् ।

दहालका फेरि तिम्रो सम्झनाले, पूर्वको बादल जल्यो, किनारामा उभिएर, रानी खोला, जननी जन्मभूमि, खैरो खैरो, मायामा कुर्न, सोचेको जति सबै कुरा, केवल यादमा तिम्रो, मिल्टेरिको जुत्ता, तिमीलाई भेट्दा लगायत सयौ गीत हिट छन् । दहालका हिउँको पूmल र बालुवाको घर जस्ता कृतिहरु प्रकाशन भएका छन् भने झण्डै तिन दर्जन जती साङ्गीतिक एल्बममा गीत लेखेका छन् ।

प्रतिक्रिया