ह्वावेइकी उच्च अधिकारी चीन फिर्ता

वेइजिङ । क्यानडामा पक्राउ परेकी चिनियाँ अग्रणी टेलिकम कम्पनी ह्वावेइकी उच्च अधिकारी अमेरिकासँगको एक सम्झौता लगत्तै चीन फर्किएकी छन् । ह्वावेइकी आर्थिक मामिला प्रमुख मङ्ग वान्जू सन् २०१८को डिसेम्बरमा अमेरिकाको अनुरोधमा क्यानडामा पक्राउ परेकी थिइन्। ठगीको आरोपमा पक्राउ परेकी ह्वावेइका संस्थापककी छोरी वान्जूलाई क्यानडामै नजरबन्दमा राखिएको थियो ।

वान्जू पक्राउ सँगै चीनको अमेरिका र क्यानडासँगको सम्बन्धमा तनाव उत्पन्न भएको थियो । सम्झौतापछि शुक्रवार अमेरिकाको विदेश मन्त्रालयले उनको सुपुर्दगीका लागि क्यानडालाई गरिएको अनुरोध फिर्ता लिए लगत्तै उनी रिहा भइन् । वान्जूको पक्राउको बदलामा चीनले क्यानडेली नागरिकहरूलाई पक्राउ गरेको थियो । चीनले त्यसलाई अस्वीकार गर्दै आए पनि क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले चीनमा थुनामा रहेका दुई क्यानडेली नागरिक स्वदेश फर्कँदै गरेको बताएका छन् ।

वान्जू पक्राउ परे लगत्तै उनीहरूलाई जासुसीको आरोपमा चीनले पक्राउ गरेको थियो । ‘यो समय मेरो जीवनमा निकै विध्वंसात्मक रह्यो यसले मेरो जीवनमा निकै उथल पुथल ल्याएको छ,’ क्यानडामा थुनामुक्त भएपछि उनले सम्वाददाताहरूसँग भनिन् । ‘कालो बादलमा पनि चाँदीको घेरा हुन्छ । विश्वभरका मानिसहरूबाट प्राप्त शुभेच्छाहरूलाई म कहिल्यै बिर्सने छैन,’ उनले थपिन् । एएफपी समाचार संस्थाका अनुसार लगत्तै वान्जू एयर चाइनाको विमान मार्फत सेन्जेन सहर फर्किएकी थिइन् ।

वान्जूलाई छुटाउन अमेरिका र चीनबीच भएको सम्झौताको विस्तृत विवरणहरू सार्वजनिक भइसकेका छैनन् । दुई देशका कूटनीतिज्ञबीचको समझदारीबाट त्यसको टुङ्गो लगाइने बताइएको छ । विश्वको दोस्रो ठुलो स्मार्टफोन निर्माता कम्पनी ह्वावेइमाथि बैंकमा ठगी गरेको, न्यायमा वाधा उत्पन्न गरेको र अमेरिकी कम्पनी टी मोबाइलबाट प्रविधि चोरेको आरोप छ ।

अमेरिकाले वान्जूले इरानको स्काइकम कम्पनीसँग ह्वावेइको सम्बन्धबारे झुटो विवरण पेस गरेर विश्वकै ठुलो मध्येको एचएसबीसी बैंकलाई अमेरिकी प्रतिबन्ध उल्लंघनको जोखिममा पारेको आरोप लगाएको छ । अमेरिकाको न्यायालयले वान्जूमाथि लगाइएको अभियोजन तत्काललाई अघि नबढाउने सहमति भएको बताएपछि उनी रिहा भएकी थिइन् । अब उनीमाथि लागेको मुद्दा कम्तीमा सन् २०२२ को डिसेम्बरसम्म अघि बढाइने छैन ।

प्रतिक्रिया