आजबाट सुरु हुँदै एभरेष्ट प्रिमियर लिग टी-२० प्रतियोगिता

काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल)टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने ईपीएलमा साविक विजेता ललितपुर प्याट्रीयट्स र काठमाडौं किङ्स -११ ले उद्घाटन खेल खेल्ने छन्। उक्त खेल अपराह्न सवा १२ बजे सुरु हुनेछ । ललितपुर कुशल भुर्तेल र काठमाडौं सन्दीप लामिछानेको कप्तानीमा मैदानमा उत्रनेछ। दुबै टीममा चर्चित विदेशी खेलाडीको उपस्थिति रहनेछ ।

काठमाडौं किङ्स -११ मा पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदी, अफगानिस्तानका रहमानउल्लाह गुर्बाज लगायकका खेलाडी रहेका छन् भने ललितपुरमा श्रीलंकाका ओशाडा फर्नान्डो, सनदुन विराकोडी, अफगानिस्तानका आजमतुल्लाह ओमरजाई लगायतका खेलाडी रहेका छन्। चौंथो संस्करणको प्रतियोगितामा विभिन्न ६ वटा फ्रेन्चाइजी क्लबबाट २४ जना विदेशी खेलाडी खेल्दैछन् ।

प्रत्येक क्लबमा टेस्ट मान्यता प्राप्त देशका कम्तीमा एक खेलाडी हुने आयोजकले जनाएको छ । श्रीलंका, बंगलादेश, पाकिस्तान, दक्षिण अफ्रिका, वेष्ट इन्डिज, जिम्बाब्बे र अफगानिस्तानका खेलाडीलाई कीर्तिपुरस्थित मैदानमा देख्न पाउने निश्चित भइसकेको छ। त्यसबाहेक क्यानडा, मलेसिया, सिंगापुर र भुटानका खेलाडी पनि विभिन्न क्लबमा अनुबन्ध भएका छन् ।

श्रीलंकाबाट सबैभन्दा धेरै आठ खेलाडीले ईपीएल खेल्दैछन् । पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी कीर्तिपुरमा देखिने सबैभन्दा हाइप्रोफाइल क्रिकेटर हुनेछन् । बंगलादेशका एकदिवसीय अन्तर्राष्ट्रिय कप्तान तमिम इकबाल, श्रीलंकाका पूर्वकप्तान उपुल थरङ्गालगायत क्रिकेटरको खेल पनि हेर्न पाइनेछ । प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ। यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।

प्रतिक्रिया