प्रथम राष्ट्रिय केन्पो खुकुरी मार्सल आर्टस् च्याम्पियनसिप सुरु

काठमाडौं । नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा प्रथम राष्ट्रिय केन्पो खुकुरी मार्सल आर्टस् च्याम्पियनसिप सुरु भएको छ । शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको हो । प्रतियोगिताको राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे ।

प्रतियोगितामा प्रदेश १ बाहेक ६ प्रदेशका १ सय खेलाडीको सहभागिता रहेको आयोजक संघका अध्यक्ष पूर्णप्रसाद पाण्डेले जनाएका छन् । विभिन्न ४ विधा फुल केन्पो, सेमि केन्पो, सेल्फ डिफेन्स र खुकुरी कातामा प्रतिस्पर्धा भइरहेको छ ।

सेमि केन्पोको पुरुष ५०–५४ केजीमा सुदूरपश्चिम प्रदेशका सुनिल बोहरा पहिलो भए । उनले फाइनलमा बागमती प्रदेशका दीपक पाण्डेलाई पराजित गरे । सेमि केन्पोको महिला ४५–४९ केजीमा कर्णाली प्रदेशकी ज्योति विकले बागमतीकी पुष्पा श्रेष्ठलाई हराउदै स्वर्ण जितिन् ।

सोही स्पर्धाको पुरुषमा सुदूरपश्चिमका सञ्जय रोकायाले पहिलो स्थान हात पारे । उनले फाइनलमा गण्डकी प्रदेशका सन्जिव राईको चुनौती पन्छाए । फुल केन्पोको पुरुष ५५–५९ केजीमा कर्णालीका राजेन्द्र शाहीले बागमतीका सुमन याखालाई फाइनलमा पाखा लगाउदै शीर्ष स्थान हात पारे ।

प्रतिक्रिया