अफगानिस्तानमा आइपिएल प्रसारणमा प्रतिबन्ध

काबु्ल । विश्वको सर्वाधिक लोकप्रिय टि२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) प्रसारण तालिबान सरकारले आफगानिस्तानमा प्रतिबन्ध लगाएको छ । अफगानिस्तान क्रिकेट बोर्डका पूर्व मिडिया व्यवस्थापक मोहम्मद इब्राहिमले आइपिएलमा इस्लाम विरोधी सामग्री देखाएको भन्दै तालिबानले प्रतिबन्ध लगाएको जनाएका छन् । आइपिएल सामाग्रीले महिला दर्शकहरुमा नराम्रो असर पर्ने भन्दै प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । महिलाहरुको नित्य, इस्लाम विराधी सामग्री र आइपिएलमा महिला दर्शकको उपस्थित रहेको भन्दै आइपिएल प्रसारणमा रोक लगाएको छ ।

तालिबान महिलाप्रति कठोर बन्दै आएको छ । अफगानिस्तानमा सम्पूर्ण महिला खेलकुद प्रतिबन्ध लगाउने यसअघि तालिबानले जनाइसकेको छ । अघिल्लो महिना तालिबानले अफगानिस्तानको सरकार कब्जा गरेको थियो । पुरुष टोलीलाई क्रिकेट खेल्न अनुमति दिएपनि महिलालाई भने रोक लगाएको छ । जसको कारण अफगानिस्तानको टेस्ट मान्यता खतरामा रहँदै आएको छ । आइपिएलमा अफगानिस्तानका तीन खेलाडी छन् । विश्व चर्चित लेगस्पिनर राशिद खान, मुजिब उर रहमान र अलराउन्डर मोहम्मद नाबी छन् । अफगानिस्तानका यी तिनै खेलाडीले सनराइजर्स हैदराबादबाट आइपिएल खेल्ने छन् । राशिद खानले अघिल्लो महिना आफ्नो सहमति र सल्लाह बिना अर्को महिना हुने टि२० विश्वकपको लागि टोली घोषणा गरेको भन्दै कप्तानी पद त्यागेका थिए । राशिदले कप्तानी छाडेपछि मोहम्मद नाबीले टि२० विश्वकप टोलीमा नेतृत्व गर्नेछन् ।

आइपिएल २०२१ आइतबार देखि संयुक्त अरव इमिरेट्स (युएई) मा सुरु भएको छ । गत वैशाखमा दोस्रो लहरको कोरोना महामारीको कारण आइपिएल आधा सिजनमा अनिश्चित समय सम्मलाई स्थगित भएको थियो । आइतबार चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सबीचको खेलसँगै आइपिएल फर्किएको छ । आइपिएल फाइनल अक्टोबर १५ मा हुनेछ । टि२० विश्वकप अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म युएई र ओमानमा हुनेछ । अफगानिस्तान सुपर १२ को बी मा छ । अफगानिस्तान, न्युजिल्यान्ड, भारत, पाकिस्तान, पहिलो चरणको समूह बी को विजेता र समूह ए को उप विजेता रहनेछन् । शीर्ष दुईमा रहन सके सेमिफाइनल खेल्नेछ ।

प्रतिक्रिया