देउवा र पौडेलबीच चर्काचर्की

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यहरुको बैठक बुधबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्यो । मन्त्रिपरिषद् विस्तार र महाधिवेशनका विषयमा बढ्दो अन्तरकलहका बीच सो बैठक निकै चासोको विषय थियो । देशभरका कांग्रेस कार्यकर्ता स्थानीय तहको अधिवेशन हुन्छ वा हुँदैन भन्ने निर्णय पर्खिरहेका थिए । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका विषयमा पार्टीभित्र सल्लाह नगरेको विषय संस्थापन इतर समूहले जोडका साथ उठाउने तयारी गरेको थियो ।

सिंहदरबारको बैठकअघि महामन्त्री डा. शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा बसेको बैठकमा संस्थापन इतर समूहका नेताहरुले सभापति देउवा एकलौटी ढंगले अघि बढेको भन्दै कडा प्रतिवाद गर्नुपर्ने ठहर गरेका थिए । सोही अनुसार पदाधिकारी बैठकमा धारणा राख्नै वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले पाउने मन्त्रीको संख्या कति हो ? भनी देउवालाई प्रश्न गरेका थिए । ‘कांग्रेसले कति मन्त्री पाउने हो ? हाम्रोतर्फबाट कतिजना मन्त्री बनाउने हो ? हामीसंग सल्लाह नगरी एक–एक जनालाई शपथ खुवाउने, के तरिका हो ?, देउवासंग पौडेलको प्रश्न थियो ।

कांग्रेस नेतृत्वमा सरकार बनेपनि सरकारका महत्वपूर्ण निर्णयबारे पार्टीभित्र छलफल नभएकोमा पौडेलले आपत्ति जनाएका थिए । पौडेलले जवाफ खोजेपछि सभापति एवं प्रधानमन्त्री देउवाले ‘सबैका अगाडि आफूलाई बोल्न बाध्य नपार्न’ आग्रह गरे । देउवाले गठबन्धनमा मन्त्रालय बाँडफाँट र संख्याको टुंगो नलागेको तर अत्यावश्यक भएकोले परराष्ट्रमन्त्री नियुक्त गरेको जवाफ दिए । वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालालाई इंगित गर्दै देउवाले ‘संख्या टुंगेपछि सल्लाह गरिहाल्छु नि’ भन्ने जवाफ दिए । ‘मलाई सबैको अगाडि बोल्न बाध्य नपार्नुस् । तपाईं र शशांकसंग जे कुरा भएको छ म त्यो गरिहाल्छु । तपाईंहरुले दिएको नाम मसंग छदैछ’, देउवाले भने । देउवाको जवाफपछि बैठकको प्रसंग पार्टीको आन्तरिक विषयमा मोडियो । प्रधानमन्त्री देउवा ‘गठबन्धनको बैठक छ’ भन्दै बाहिरिए । त्यसअघि उनले अधिवेशनबारे उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र सहमहामन्त्री डा. प्रकाशशरण महतसंगको छलफलबाट जे निष्कर्ष निस्केपनि आफूले मान्ने बताएका थिए ।

देउवा बाहिरिएपछि नेताहरुबीच वडा अधिवेशन भइसकेका जिल्लामा पूर्व निर्धारित मितिमै पालिका अधिवेशन गर्ने, वडा अधिवेशन हुन बाँकी जिल्लाको क्रियाशील सदस्यता तत्काल टुंग्याएर वडा र पालिका अधिवेशन गर्ने तथा दसै अघिका अन्य अधिवेशन कार्यतालिका संशोधन गर्नेबारे निर्वाचन समितिमार्फत निर्णय लिने सहमति भयो । बैठकमा अनौपचारिक ढंगले एनआरएन अधिवेशनबारे पनि छलफल भएको थियो । एनआरएनको आसन्न महाधिवेशनमा कुल आचार्य नेतृत्वको प्यानललाई समर्थन गर्ने अनौपचारिक निर्णय भएको बैठकमा सहभागि एक नेताले बताए ।

निर्वाचनको तालिका हेरफेर
नेपाली कांग्रेसले स्थानीय तह र क्षेत्रीय अधिवेशनहरुको कार्यतालिकामा हेरफेर गरेको छ । बुधबार सिंहदरवारमा बसेको पदाधिकारी बैठकले दसैँअघि वडा र पालिका अधिवेशन सम्पन्न गर्ने सहमति जुटाएको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । यसअघि असोज ९ गते सबै स्थानीय तहको निर्वाचत गर्ने तालिका थियो । अब ९ गतेसम्म वडा अधिवेशन सकेर दसैँ अघि गाउँ र नगर अधिवेशन सम्पन्न गर्ने निर्णय भएको पौडेलले बताए । प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका अधिवेशन भने दसैँपछि हुनेछन् । असोज ९ गतेसम्म वडा अधिवेशन सम्पन्न गर्ने र ९ गते नै तोकिएका ठाउँमा गाउँ तथा नगर अधिवेशन गर्न सकिने कांग्रेसको निर्णय छ ।

प्रतिक्रिया