असोज १० बाट यतीको पर्वतीय उडान

काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी यती एयरलाइन्सले कोरोना महामारीको दोस्रो लहरका कारण बन्द गरेको पर्वतीय उडान (माउन्टेन फ्लाईट) पुन सुरु गर्ने भएको छ । यती एयरलाइन्सले आगामी १० असोज देखि रोकिएको पर्वतीय उडान पुनः सुरु गर्ने भएको हो ।
नयाँ भेरियन्टसहित फैलिएको कोरोना महामारिबाट बच्न गरिएको दोश्रो लकडाउन एवं निशेधाज्ञापछि रोकिएको यती एयरलाइन्सको पर्वतीय उडान पुनः सुचारु गर्न लागिएको सोे वायुसेवाले कम्पनीले जानकारी दिएको छ । अब वर्षा पनि केही कम हुने र मौसममा केही सुधार हुने संकेत देखिएको र पर्वतीय उडानका लागि सेप्टेम्बर–मार्च महिना उपयुक्त मानिने भएकोले उडान सुचारु गर्न लागिएको यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

अहिलेका लागि हरेक आइतवार एक उडान भर्ने गरि बुकिङ खुल्ला गरिएको जानकारि गराउँदै उनले साताको पहिलोदिन प्रत्येक आइतबारका लागि एटीआर ७२ विमान मार्फत एउटा पर्वतीय उडान हुनेगरि तालिका निर्धारण गरिएको बताए । प्रवक्ता बर्तौलाका अनुसार यस्तो उडानमा रमाउने यात्रुहरुको माग बमोजिम यस कम्पनीले विस्तारै पर्वतीय उडान संख्या थप गर्दै जाने लक्ष्य लिएको छ । हालका लागि स्वदेशी र भारतीय नागरिकका लागि सगरमाथाको उचाई बराबरको ८,८४८ रुपैयाँको आकर्षक भाडादरमा पर्वतीय उडानको टिकट खरिद गर्न पाइने सो कम्पनीले जनाएको छ ।

अन्य मुलुकका विदेशी नागरिकका लागि भने प्रति व्यक्ति १३ हजार दुई सय ७५ रुपैयाँ भाडादर कायम गरिएको प्रवक्ता बर्तौलाले जानकारी दिए । पहिलो लकडाउन पछि खुलेको पर्वतीय उडानमा पनि यतीले यहि भाडा दरमा उडान भरेको थियो । नेपाली यात्रुहरू तथा आवासीय विदेशी नागरिककालागी छुट्टाछुट्टै प्यागेज ल्याएको यतीले २ वटा टिकट खरिद गर्नेहरुका लागि भने क्रमशः ९ हजार ८ सय ४८ र १४ हजार सात सय पचहत्तर रुपैयाँ भाडादर तोकेको छ । यस्तो टिकट खरिद गर्दा भने यात्रुहरुले एउटा झ्याल भएको र अर्को संगैको झ्याल नभएको सिट प्राप्त गर्नेछ्न । पर्वतीय उडानका टिकटहरु नजिकको ट्राभल एजेन्सी, यतीको मोबाइल एप्स र अनलाईन मार्फत खरिद गर्न सकिने सो कम्पनीले जनाएको छ ।

प्रतिक्रिया