अवैध काठसहित तीनजना पक्राउ

बनेपा । प्रहरीले फरक–फरक ठाउँबाट अवैध चिरान काठसहित तीन जनालाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालयल काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार धुलिखेल र पाँचखाल क्षेत्रबाट गरी चिरान काठसहित त्यसमा संलग्न व्यक्ति र गाडीसहित नियन्त्रणमा लिइएको हो ।

सोही क्रममा पाँचखालबाट धुलिखेलतर्फ आइरहेको बा ८ च ३१३ नम्बरको गाडीमा सम्बन्धित कार्यालयको इजाजत पत्रबिना अवैध सल्ला जातको चिरान काठ लोड गरी ल्याइरहेको अवस्थामा फेला पारी गाडी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पाँचखाल नगरपालिका–५ खावास्थित अरनिको राजमार्ग सडकखण्डमा खटिएको प्रहरी टोलीले सवारी जाँच गर्ने क्रममा गाडीसहित नियन्त्रणमा लिएको हो । सो गाडीमा रहेका पाँचखाल–४ बस्ने प्रकाश सुनारलाई गाडीमा ल्याएको विभिन्न नाप साइजको चिरान १५ थान (४७.६५५ क्युफिट) काठसहित पक्राउ गरिएको छ ।

त्यस्तै धुलिखेल नगरपालिका–११ स्थित बिपी राजमार्ग सडकखण्डमा खटिएको प्रहरी टोलीले सवारी जाँच गर्ने क्रममा भकुण्डेबेँसीबाट धुलिखेलतर्फ आइरहेको बा २०च २३०७ टाटामोबाइल र बा २० च ८७४९ नम्बरको महेन्द्रा बोलेरो गाडीमा सम्बन्धित कार्यालयको इजाजतपत्रबिना अवैध उत्तीस र सल्ला जातको चिरान काठ लोड गरी ल्याइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सो क्रममा पनौती नगरपालिका–४ बस्ने रामकृष्ण काफ्ले र ओखलढुङ्गाको लिखु गाउँपालिका–३ घर भएका रेशम श्रेष्ठलाई नियन्त्रणमा लिइएको हो ।

विभिन्न नाप साइजका चिरान काठ ४० थान (३७.५२० क्युफिट र विभिन्न नाप साइजका चिरान लिष्टी गरी १७७.५ क्युफिट गरी २०९.६३ क्युफिट) काठ बरामद गरिएको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए ।

नियन्त्रणमा लिइएका गाडी, काठ र पक्राउ गरेका व्यक्तिलाई थप अनुसन्धान एवं कारबाहीका लागि डिभिजन वन कार्यालय पठाइएको प्रहरीले जनएको छ ।

प्रतिक्रिया