अर्यालको जन्मजयन्ती मनाइयो

काठमाडौं । नेपाली हास्यव्यंग्य साहित्यका चर्चित व्यक्तित्व भैरव अर्यालको ८६औँ जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइएको छ । भैरव अर्याल पुरस्कार गुठीले मंगलबार राजधानीमा उनको साहित्यिक योगदानमाथि स्मरण गरी जन्मजयन्ती मनाएको हो । कार्यक्रममा वक्ताले हास्यव्यंग्य साहित्यका श्रीवृद्धिमा अर्यालको विशिष्ट योगदान रहेको र उनका रचना कालजयी भएको बताए । उनको नेपाली साहित्यबाहेक पत्रकारिकताको क्षेत्रमा पनि अमूल्य देन रहेको उनीहरुको भनाइ थियो । सो कार्यक्रममा साहित्यकार तथा पत्रकार विजय चालिसे, साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’, साहित्यकार बद्री अर्याल, गोपाल बराल, वसन्त रिजाल, सागरराज सुवेदी लगायतले अर्यालको जीवनका विविध पक्षमाथि प्रकाश पारेका थिए ।

सोही अवसरमा भैरव स्मृति भवनमा नवनिर्मित सभाकक्ष तथा अत्याधुनिक पुस्तकालयको वाग्मती प्रदेशका सभासदस्य छिरिङदोर्जे लामाले शुभारम्भ गरे । विसं १९९३ असोज ५ गते ललितपुरको कुपण्डोलमा जन्मिएका अर्यालको ४० वर्षका उमेरमा २०३३ साल असोज १९ गते निधन भएको थियो । भैरवकी आमाको नाम खेमकुमारी अर्याल र पिताको नाम होमनाथ अर्याल हो ।

अर्याल नेपाली हास्यव्यंग्य निबन्ध फाँटमा निकै लोकप्रिय छन् । नेपालीमा एमए, साहित्यरत्न र संस्कृतमा मध्यमासम्मको अध्ययन गरेका अर्याल पत्रकारितासमेत लामो समय संलग्न रहेका थिए । उनले ‘हालखबर’ दैनिकबाट पत्रकारिता सुरु गरेका थिए । ‘हालखबर’ दैनिकका सम्पादक दाताराम शर्माले उनलाई प्रोत्साहित गरेपछि २०१४ सालमा त्यहीँ पत्रकार नियुक्त भएर काम गरे । उनी पछि गोरखापत्रको सम्पादन समूहमा रहेर काम गरे । साथै गोरखापत्र संस्थानको साहित्यिक मासिक ‘मधुपर्क’ लाई स्तरीय बनाउन उनले निकै मिहिनेत गरेका थिए । यस्तै, ‘रचना’ पत्रिका प्रकाशनमा समेत उनको महत्वपूर्ण भूमिका रहेको थियो ।

नेपालका विभिन्न स्थान, जर्मनी, भारत, बंगलादेशको भ्रमण गरेका अर्याल नेपाली हास्यव्यंग्य साहित्यक्षेत्रमा निकै लोकप्रिय छन् । उनले २००९ सालमा ‘नयाँ जीवन’ शीर्षकमा कविता लेखर साहित्यिकयात्रा प्रारम्भ गरेका थिए । उनको २०१३ सालमा ‘नव निर्माण’ शीर्षकको पहिलो कविता प्रकाशित भएको थियो । उनले हाँस्यव्यंग्य तथा काव्य लगायतका लेखनकर्ममा कलम चलाएका थिए । उनका उपवन –कविता संग्रह २०१८), राष्ट्रिय आह्वान (लघुकाव्य २०१८), काउकुती (हास्यव्यंग्य निबन्धसंग्रह २०१९), गलबन्दी (हास्यव्यंग्य निबन्धसंग्रह २०२६), जयभुँडी (हास्यव्यंग्य निबन्धसंग्रह २०२२), इतिश्री (हास्यव्यंग्य निबन्धसंग्रह २०२८), विरही राम (काव्य २०२०), दश औतार (हास्यव्यंग्य निबन्धसंग्रह २०३३), नेपाली काव्यमा प्रकृति (समालोचना २०३०), प्रवेशिका निबन्ध (निबन्धसंग्रह २०२७) टेडो ऐना (निबन्ध र कथा २०६३) प्रकाशित छन् । उनले २०२२ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कविता महोत्सवमा प्रथम पुरस्कार पाएका थिए ।

प्रतिक्रिया