मुग्लिन । गाउँमा पहिलोपटक मोटर पुगेपछि स्थानीयवासीले चालकलाई फूलको माला र अबिर लगाएर स्वागत गरेका छन् । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित तल्लो ढुङ्गे गाउँमा सोमबार पहिलोपटक मोटर पुगेको थियो ।
‘गाउँमा गाडी चल्न सुरुआत भएसँगै कृषि उत्पादन बजार पुर्याउन सजिलो हुने भयो, आयआर्जनमा समेत वृद्धि हुन्छ’, स्थानीयवासी यामबहादुर गुरुङले भने । गाउँमा सडक पुगेसँगै कृषि प्रवद्र्धनका लागि सरकारले तालिम तथा अनुदानको व्यवस्था गर्नुपर्ने यहाँका स्थानीयवासीको माग छ ।
विशेषगरी तरकारी खेतीका लागि उर्वरभूमि भए पनि सडक सञ्जालले नजोडिँदा यहाँका स्थानीयवासी व्यवसायी रुपमा कृषि उत्पादनमा लाग्न सकेका थिएनन् ।
जलविरे–चण्डिभञ्ज्याङ कृषि सडकअन्तर्गत चण्डिभञ्ज्याङबाट तल्लो ढुङ्गेसम्म तीन किलोमिटर नयाँ ट्र्याक खोलिएको छ । उक्त गाउँमा मोटरबाटो पु¥याउनका लागि वाग्मती प्रदेश सरकारले ससर्त अनुदानबाट रु २५ लाख विनियोजन गरेको थियो ।
प्रतिक्रिया