गोतामेको पहिलो कृति

काठमाडौं । लेखक मीरा गोतामेले लेखेको उपन्यास ‘निती’ बजारमा आएको छ । साहित्यिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा कथाकार भागीरथी श्रेष्ठ, गुन्जनका अध्यक्ष हिरण्यकुमारी पाठक, समालोचक प्रमोद प्रधान, अनेसासका वरिष्ठ उपाध्यक्ष बाबा बस्नेत र आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकाली लगायतले संयुक्त रुपमा उक्त पुस्तक विमोचन गरे । ३५ अध्यायमा लेखिएको यो उपन्यास अनेसास एसिया च्याप्टरको प्रकाशन संयोजनमा धर्मराज बोगटीले प्रकाशित गरेका हुन् ।

कार्यक्रममा कथाकार भागीरथी श्रेष्ठले उपन्यास कौतूहलपूर्ण भएकोले पढ्न थालेपछि नसकिएसम्म तानिरहने बताइन् । उनले विषय, घटना, पात्र र भाषा सबै दृष्टिबाट पुस्तक राम्रो रहेको बताउँदै उपन्यासको अन्त्यले न्याय गरेको धारणा राखिन् । साहित्यकार हिरण्यकुमारी पाठकले महिला साहित्यकारको संस्था गुन्जन १० जनाबाट सुरु भएकोमा अहिले सयभन्दा बढी सदस्य भएको जानकारी दिइन् । उनले महिला साहित्यकारको संख्या बढ्नु सुखद् भएको बताउँदै लेखकलाई बधाई दिँदै भनिन्, ‘पहिलो कृति नै उपन्यासका रूपमा लेख्नु पनि महत्वको कुरा हो ।’

समालोचक प्रमोद प्रधानले उपन्यासमा नेपाली नारीले भोग्नुपरेका विभिन्न समस्यालाई सचेततापूर्वक उठाइएको बताए । उनले विषयलाई न्यायपूर्ण तरिकाले निरूपण गरिएको सुनाउँदै भने, ‘उपन्यासमा नारीका समस्या उठाइए पनि पुरुष चरित्रप्रति पनि न्याय गरिएको छ ।’ अनेसासका वरिष्ठ उपाध्यक्ष बाबा बस्नेतले पहिलो उपन्यासमा नै दह्रो रूपमा प्रस्तुत भएकोमा स्रष्टालाई बधाई दिँदै नारी सम्बद्ध थुप्रै पक्षलाई उपन्यासले सम्बोधन गरेको जिकिर गरिन् ।

कार्यक्रमको संघका अध्यक्ष राधेश्याम लेकालीले संस्थाका गतिविधिमाथि प्रकाश पार्दै मीरा गोतामेको साहित्यिक यात्रा अझै सिर्जनशील ढंगले अघि बढ्नेमा आफू आशावादी रहेको बताए । सो अवसरमा लेखक मीरा गोतामेलाई सम्मान पनि गरिएको थियो । उपन्यासकार गोतामेले आफूले समाजमा नारीले भोगिरहेका अनेकन् समस्या देखेको र ती समस्याले आफूलाई सधैं भावुक बनाउने गरेको बताइन् । उनले त्यही भावुकताले घच्घच्याएपछि कोरोनापछि लगाइएको बन्दाबन्दीको समयको सदुपयोग गरेर उपन्यास तयार गरेको सुनाइन् ।

कार्यक्रममा उपन्यासकारका जीवनसाथी एवं प्रकाशक धर्मराज बोगटी, उपन्यासकारका बाल्यकालका साथी रक्षा अधिकारी, साहित्यिक पत्रकार संघका सदस्य डा. दामोदर पुडासैनी किशोर र साहित्यकार गीता सापकोटाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उक्त अवसरमा गायिका रितु कडेलले केही गीत प्रस्तुत गरेकी थिइन् ।

प्रतिक्रिया