दाङ । जिल्लामा टिमुरको उत्पादन बढ्दै गएको छ । व्यावसायिक खेतीबाट राम्रो आम्दानी हुन थालेपछि पहाडी भेगमा टिमुरको उत्पादन बढ्दै गएको डिभिजन वन कार्यालय दाङले जनाएको छ । जंगली जनावरका कारण मकैलगायतका खेती गर्न नसकेका किसानले अहिले टिमुरको व्यावसायिक खेती गर्न लागेका हुन् ।डिभिजन वन कार्यालय दाङका अनुसार गत वर्ष जिल्लाबाट १ लाख ७७ हजार ५ सय किलो टिमुर निर्यात भएको छ । सो मध्ये १ लाख ३७ हजार किलो निजी वन र राष्ट्रिय वनबाट ४० हजार ५ सय किलो टिमुर जिल्ला बाहिर निकासी भएको वन कार्यालय दाङका सहायक वन अधिकृत भक्तबहादुर चौधरीले बताए ।
उनका अनुसार आर्थिक वर्ष ०७६÷७७ मा टिमुर ९६ हजार ७ सय ४५ केजी निर्यात भएको थियो । गत वर्ष जिल्लामा करिब–करिब दोब्बर ८० हजार केजी टिमुर वृद्धि भएको कार्यालयले जनाएको छ । टिमुर उत्पादनको दृष्टिले दाङको पहाडी क्षेत्र सम्भावनायुक्त क्षेत्र भएको भन्दै डिभिजन वन कार्यालय दाङले बंगलाचुली गाउँपालिकासँगै घोराही उपमहानगरपालिकाको १८ र १९ वडालाई गतवर्ष पकेट क्षेत्र घोषणा गरेको छ ।
पकेट क्षेत्रमा टिमुरसँगै मालागेडी र दालचिनीका १ लाख ८४ हजार बिरूवा दुई वर्षको अवधिमा रोपिएको वन कार्यालयले जनाएको छ । जसमा करिब एक लाख बढी बिरूवा टिमुरका छन् । ‘पहाडी क्षेत्रमा थोरै–थोरै बोट प्रायः सबै किसानका घरमा छन्, त्यसले मात्र किसानको जीवनस्तरमा परिवर्तन हुन सक्दैन, जडीबुटीका माध्यमबाट किसानको जीवनस्तरमा परिवर्तन ल्याउन धेरै नै जडीबुटी खेती गर्नुपर्छ भनेर अहिले बढाउँदै लगेका छौँ, जसले गर्दा अहिले धेरै किसानले बिरूवा रोप्न थाल्नुभएको छ’, सहायक वनअधिकृत चौधरीले भने ।
कार्यालयका अनुसार टिमुरसँगै अन्य जडीबुटीको जिल्लाबाट निर्यात बढेको छ । जसअनुसार मालगेडी ६० हजार केजी, रिठा ३५ हजार ५ सय ८० केजी, अमला ११ हजार २ सय केजी, काउलोको बोक्रा ५२ हजार १ सय ५० केजी, तेजपात ६७ हजार ३ सय केजी, लहरे गुर्जाे १ हजार ३ सय केजी र टिगडी ५ हजार ४ सय ५० केजी जिल्ला बाहिर निर्यात भएको सहायक वन अधिकृत चौधरीले बताए ।
उनका अनुसार अल्लोको बोक्रा दुई सय केजी, पाखनवेद नौ हजार केजी, सुगन्धवा पाँच सय केजी, गत्रो ७ हजार १५ केजी, बर्रो पाँच हजार केजी, हर्राे चार हजार केजी, धाइराको पूmल १ हजार ५ सय केजी, भृगराज १ हजार ५ सय, दूधेलहरो १ हजार ५ सय, ब्राह्मी १ हजार ५ सय, बेलचना ३ सय हजार केजी र चुत्रोको बोक्रा पाँच हजार केजी निर्यात हुँदा ७ लाख १७ हजार २ सय ५० रुपैयाँ राजस्व संकलन भएको छ ।
वन कार्यालयले राष्ट्रिय वनबाट संकलित जडीबुटीको निर्यातमा राजस्व लिने गरेको छ । निजी वनबाट संकलित जडीबुटीमा राजस्व नलिने गरेको सहायक वन अधिकृत चौधरीले जानकारी दिए । जिल्लामा ८९ हजार ४ सय १७ हेक्टर वनमध्ये १ सय ६० हेक्टर वन क्षेत्रमा जडीबुटीखेती हुने गरेको छ ।
प्रतिक्रिया