खुल्न थाले स्याङ्जाका शक्तिपीठ

वालिङ । कोभिड–१९ को संक्रमणका कारण बन्द भएका यहाँका शक्तिपीठ क्रमशः खुल्न थालेका छन् । जिल्ला सुरक्षा समितिको बैठकले सङ्क्रमणको दर घट्दै गएकाले स्मार्ट लकडाउन गर्ने निर्णयसँगै यहाँका मुख्य शक्तिपीठ खुल्न थालेका हुन् ।

कोरोनाका कारण गत वैशाखदेखि बन्द भएका शक्तिपीठ असोज लागेसँगै खुलेपछि क्रमशः भक्तजन पूजाआजाका लागि पुग्न थालेका छन् । स्याङ्जाको वालिङ आठ गह्रौँसुरमा अवस्थित प्रसिद्ध गह्रौँसुर मन्दिरमा पाँच महिनाअघिदेखि नृत्य पूजामात्रै हुँदै आएकामा शुक्रबारदेखि भक्तजनका लागि खुला गरिएको गह्रौँसुर धार्मिक एवं पर्यटकीय केन्द्रका अध्यक्ष सुरजप्रताप खाँणले जानकारी दिए ।

‘पाँच महिनासम्म नित्य पूजामात्रै हुँदै आएको मन्दिर यही असोज १ गतेदेखि सर्वसाधारणलाई पूजाआजा गर्न खुला गरेका छौँ’, अध्यक्ष खाँणले भने, ‘पूजाआजाका लागि आउने दर्शनार्थीले सामाजिक दूरी कायम गर्नुपर्ने, मास्क तथा सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने र स्वास्थ्यसम्बन्धी अन्य मापदण्ड अपनाउनु पर्नेगरी खुला गरेका हौँ ।’

यसैगरी भिरकोट नगरपालिका–४ छाङ्छाङदीस्थित छायाँक्षेत्र मन्दिर पनि दर्शनार्थीका लागि खुला गरिएको छ । यसअघि त्यहाँ नित्य पूजामात्रै हुँदै आएको थियो ।

स्वस्थानी व्रतकथामा उल्लेख गरिएनुसार पार्वतीको अन्तिम अङ्ग यस ठाउँमा पतन भएको हो भन्ने धार्मिक विश्वास छ । स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड लागू गर्नेगरी दर्शनार्थीका लागि मन्दिर खुला गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पीताम्बर श्रेष्ठले जानकारी दिए ।

वालिङ–१२ घुरुङ्खास्थित तीनकन्या अकलादेवी मन्दिर पनि लागि खुला गरिएको छ । कोभिडको संक्रमण दर कम हुँदै गएकाले सर्वसाधारणका लागि खुला गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भविराज गुरुङले बताए ।

कालीगण्डकी गाउँपालिका–३ स्थित शाह वंशको कूल देवीकारुपमा परिचित छ आलमदेवी मन्दिर । जिल्लामा मात्रै नभएर देश तथा विदेशका विभिन्न स्थानबाट दर्शनार्थी यहाँ पूजाआजा गर्न आउने गरेका थिए । कोरोनाका कारण बन्द भएको मन्दिर अहिले खुला गरिएको मन्दिरका पूजा व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह रानाले बताए ।

पुतलीबजार–१४ सतौँकोटस्थित चण्डी र कालिका मन्दिर पनि खुला गरिएको छ । दुबै मन्दिरका देवीलाई सतौँकोटे राजाको इष्टदेवीकारुपमा पुजिदै आएको छ । यहाँ देशका विभिन्न भाग तथा छिमेकी देश भारतबाट पनि वर्षेनी श्रद्धालु भक्तजन आउने गर्छन् ।

प्रतिक्रिया