कांग्रेस भुत्ते खुकुरीजस्तै भयो

अर्जुन पराजुली, महासमिति सदस्य नेपाली कांग्रेस

सत्तारूढदल नेपाली कांग्रेस यतिबेला महाधिवेशनको चटारोमा छ । त्यसैको तयारी स्वरूप पार्टीको गाउँ, नगर, क्षेत्र र जिल्लाका अधिवेशन जारी छन् । ५ असोजमा हुने काठमाडौंको जिल्ला अधिवेशनले यहाँका नेता कार्यकर्तामा दौडधुपमा छन् । भोलिको पार्टी नेतृत्व कस्तो बनाउने ? महाधिवेशन प्रतिनिधि कस्तो चुन्ने भन्नेमा नै केन्द्रित छन् कांग्रेसका नेता कार्यकर्ता । यसै सन्दर्भमा नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य एवं कांग्रेस महासमिति सदस्य अर्जुन पराजुलीसँग सौर्य दैनिकका लगि चमिना भट्टराईले गरेको संवादको सम्पादित अंश :

नेपाली कांग्रेसको महाधिवेशन अबचाहिँ हुने निश्चित हो ?
हो, अबचाहिँ हाम्रो पार्टीको महाधिवेशन तोकिएकै समयमा हुन्छ । महाधिवेशनकै तयारी अनुरूप सबैजसो जिल्लामा जिल्ला अधिवेशन भइसकेको छ । काठमाडौंको अधिवेशन ५ असोजबाट हँुदै छ । त्यसको लागि उम्मेदवारी दर्ता र मतदानको समय तोकिएको छैन । अब भने विगतमा जस्तै कुनै पनि बहनामा महाधिवेशन सर्दैन ।

काठमाडौंको अधिवेशन सर्वसम्मत होला कि निर्वाचनै हुने सम्भावना छ ?
यो चाहिँ सबै ठाउँमा एकै प्रकार न हुन सक्छ । कहीँ सर्वसम्मत कहीँ निर्वाचन होला । स्थानीय तहको निर्वाचन जस्तै भइरहेको छ यति बेला हाम्रो विभिन्न तहको अधिवेशनको निर्वाचन प्रक्रिया । कार्यकर्तामा उत्साह र चासो छ । कांग्रेसको लागि यो ठूलो उत्सव पनि हो । त्यसैले निर्वाचनको प्रक्रिया कसरी हुन्छ अहिले नै भन्न सकिने अवस्था छैन ।

कांग्रेसको महाधिवेशन पटकपटक तोकिँदै सर्दै आएको छ अबचाहिँ नसर्ला ?
अब त्यसो हुँदैन । कांग्रेसका लागि महाधिवेशन अब बाध्यता पनि हो । नेपाली कांग्रेस आवाधिक निर्वाचनको पक्षमा भएका कारणले पनि अब महाधिवेशन कुनै पनि बहनामा सर्ने सम्भावना छैन । अरू दललाई जस्तो कुनै बहाना बनाएर निर्वाचन आयोगमा गएर आलटाल गर्न सकिने अवस्था छैन । त्यसैले पनि अब महाधिवेशन नगरी सुखै छैन । जति बेला हुनपर्ने थियो भएन, त्यसैले शंका उब्जिएको छ । त्यो स्वभाविक पनि हो । अब फेरी पनि के होला भन्ने आशंका । विभिन्न अफ्ठ्यारो अवस्थामा समय थप्न र सार्न सकिने ठाउँ थियो । त्यसलाई आधार बनाएर विगतमा नेतृत्वबाट खेल्ने काम भयो । त्यसैले पनि ढिला भएको हो । हिजोका दिनमा उहाँहरूले केही स्पेसमा टेकेर महाधिवेशन सार्नुभयो । अब त्यो सम्भव छैन उहाँहरूसँग महाधिवेशन गर्नुको अरू कुनै विकल्प छैन । यो कांग्रेसका लागि अब बाध्यता हो ।

के कारणले त्यसो भयो ?
यसमा मान्छेको आ–आफ्नै व्याख्या छ । हेर्ने दृष्टिकोण पनि फरक छ । असहज अवस्थामा केही सार्न सकिने हो । तर, त्यो सधँैभरी रहँदैन । अहिले कसैको दृष्टिमा समयमा गर्न नसकेर भन्नेछ । कसैको दृष्टिमा अलि लम्ब्याउन सक्दा अलि समय पदमा बस्न पाइन्छ भन्ने स्वार्थले पनि होला भन्नेछ । त्यसमा कसैको स्वार्थ लुकेको पनि हुन सक्छ । जे कारणले भएको भए पनि ठीक भएको थिएन । अब त्यसो हुँदैन भन्नेमा हामी विश्वस्थ छौँ । हुन पनि हुँदैन पार्टी समयमा नै अध्यावधिक हुनपर्छ । सयमा नेतृत्वले सोच्नुपर्छ ।

कांग्रेसमा नेतृत्वले नै महाधिवेशन समयमा गर्न नचाहेको भन्ने आरोप पनि लाग्ने गरेको छ नि के हो ?
यो पनि एउटा विषय हो । नेतृत्वले चाहेको भए पार्टीको महाधिवेशन समयमा नै हुने थियो । यसलाई पर धकेल्ने प्रयास नेतृत्वले गरेकै हो । यसमा उहाँहरूले जवाफदेहिता लिनैपर्छ । जे भयो माथिबाटै भयो यो सबैलाई थाहा छ । पार्टीको नेतृत्वले बेलैमा यसमा ध्यान दिएको भए कांग्रेस अहिले नयाँ जोस, जाँगरका साथ नयाँ तरंग लिएर जनताका बीचमा जान सक्थ्यो । आफूभित्र भएको शक्तिलाई सही ढंगले परिचालन गर्न सकेको भए राम्रो हुन्त्यो, त्यसमा नेतृत्व चुकेकै हो । यदि त्यसो गर्न सकेको भए पार्टीले छुट्टै स्थान बनाउन सक्थ्यो । पार्टीले व्यवस्थित कार्ययोजना बनाएर जानुपथ्र्याे, त्यो सकेन । यद्यपि ढिलै भए पनि नेपाली कांगे्रस महाधिवेशनको तयारीमा लागेको छ । यसले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा एउटा प्रभाव छोडने नै छ । कांग्रेस अहिले आफैंमा भुत्ते खुकुरीजस्तो भएको छ । महाधिवेशनपछि वैचारिक रूपमा धारिलो खुकुरीजस्तो बनेर जनताका बीचमा जानेछ भन्नेमा हामी विश्वस्थ छौँ ।

पार्टीमा अब नयाँपुस्ता नेतृत्वमा जानेमा कतिको विश्वस्त हुनुहुन्छ ?
यसमा शंका छैन । अहिलेकै अवस्थामा हेर्ने हो भने, दुईतिहाइको हाराहारीमा रहेको सरकारले आफूलाई सम्हाल्न नसक्दा ६३ सिट सांसद भएको नेपाली कांग्रेस नै सरकार चलाउन आवश्यक पर्दोरहेछ भन्ने देखियो । यसले मुलुकका लागि कांग्रेस नै हो भन्ने देखाएको छ । जब जब मुलुकमा अराजकता बढ्छ त्यतिबेला नेपाली कांग्रेस अपरिहार्य छ भन्ने कुराको यसले प्रमाणित गरेको छ । अब भोलिका दिनमा नेपाली कांग्रेसमा आउने नेतृत्वले नयाँ सोच र नयाँ उमंगका साथ काम गर्नेछ । अर्को कुरा कांग्रेसबाट अहिलेका पुराना नेतृत्वले विश्राम लिनुपर्छ भन्ने नयाँ र दोस्रो पुस्ताका नेताहरूको सोचाइ छ । यसमा आमकार्यकर्ताको साथ छ । पार्टीको नेतृत्व कुशल भएमा त्यसले देशको नेतृत्व पनि कुशलतापूर्वक गर्छ । यसमा नेपाली कांग्रेसका नेता कार्यकर्ता सचेत छन् । त्यसैले आउने नेतृत्व युवाको हातमा जानेमा शंका छैन ।

वर्तमान सभापति त पुनः दोहोरिन खोज्दै हुनुहुन्छ नि ?
उहाँले त्यो सोच्नु स्वभाविक होला । तर, पार्टीका आमकार्यकर्ता र क्रियाशील सदस्य त्यसप्रकारको सोचाइसँग सहमत छैनन् । महाधिवेशनमा आउने प्रतिनिधि कांग्रेसमा नयाँ अनुहार नेतृत्वमा आउनुपर्छ भन्ने चाहान्छन् । अब यो मुलुकका लागि र कांग्रेस पार्टीका लागि पनि नयाँ नेतृत्व स्थापित हुनपर्छ । पुरानो नेतृत्वले विश्राम लिएर अभिभावकीय भूमिकामा बस्नुपर्छ भन्नेछ । यसलाई उहाँहरूले पनि बुभ्mनुभएको छ भन्ने हामीले सोचेका छौँ ।

तपाईंले भनेको जस्तो सम्भव छ ?
हामीले यो कुरालाई स्थापित गर्ने प्रयास गरेका छौँ । यसमा मेरो ंमात्रै होइन, कांग्रेसको हित चाहने सबैको प्रयास छ । तर, पुरानै नेतृत्वले रहर गर्नुभयो भने त्यसलाई विस्थापित गर्न महाधिवेशनमा प्रतिनिधि भएर आउने नेताहरू लाग्नुहुन्छ भन्नेमा मलाई विश्वास छ । त्यसो गर्न सकिएन भने कांग्रेसले फेरि पनि यो मुलुकको नेतृत्व गर्ने ठाउँबाट चुक्नसक्छ । त्यो अवस्था आउन नदिनका लागि कांग्रेसका नेता कार्यकर्ता सचेत छन् ।

नेतृत्वका लागि नयाँ अनुहार धेरै आकांक्षी देखिनुभएको छ । तपाईंले भनेजस्तै अब कांग्रेस नेतृत्व नयाँ पुस्तामा जाने सम्भावना छ ?
नेपाली कांग्रसेको भूमिका सरकारमा हुँदा वा प्रतिपक्षमा हुँदा सधैँ शालीन रह्यो । पार्टीले आफ्नो जिम्मेवारीलाई भुल्दैन । भोलिका दिनमा अझै सशक्त रूपमा अगाडि बढ्नका लागि नयाँ जोस, जाँगरका साथ नयाँ पुस्तालाई समेटन नयाँ विचार आवश्यक हुन्छ । त्यसका लागि हामीले पुरानै कुरा, विचार र पुरानै नेतृत्वले सम्भव हुँदैन । त्यसकारण यो अहिलेका लागि आवश्यकता हो । यो मुलुकका लागि पनि र पार्टीका लागि पनि हो । असम्भव भन्ने कुरा केही छैन । यहि विचार भएका मान्छेको बाहुल्यता भएपछि त्यो पूरा हुन्छ नै । आखिर नेतृत्व भनेको कार्यकर्ताले चुनेर नै बन्ने हो । अर्को कुरा कांग्रेसमा नयाँ पुस्ताले नेतृत्व गर्नुपर्छ भन्ने कुरा नयाँ होइन, धेरै पहिलादेखि उठेको थियो, अब पूरा गर्ने बेला आएको छ ।

महाधिवेशनमा तपाईंको भूमिका के रहने छ ?
म १३औँ महाधिवेशनमा पार्टीको काठमाडौं जिल्लाको सचिवमा हारेँ त्यसले मलाई केही सिकाइ भयो । अहिले म निर्वाचन क्षेत्र नम्बर दुईकोे क्षेत्रीय सभापतिको दावेदार हुँ । यस क्षेत्रको पार्टी सदस्य नेता कार्यकर्ताले मेरो दाबीलाई सहज रूपमा लिनुभएको छ । भोलिका दिनमा नेपाली कांग्रेसले यसक्षेत्रको विभिन्न तहमा हुने निर्वाचनमा पार्टीको भूमिका र अवस्था मजबुद बनाउन पनि नेतृत्व कुशल चाहिन्छ भन्नेमा यहाँका पार्टीपंक्ति सचेत छ । त्यसैले पनि मैले यहाँको नेतृत्व लिनुपर्छ भन्नेमा पार्टी नेताहरू लाग्नुभएको छ । हामी कांग्रेसको मात्रै नेतृत्व गर्न खोजेका छैनौँ, भोलिका दिनमा पार्टीलाई सबै तहमा सशक्त रूपमा उभ्याउन पनि पार्टीको नेतृत्व त्यहीअनुसार हुनुपर्छ भनेर नै मलाई सबैले अगाडि बढ्न आग्रह गर्नुभएको छ । मैले आफ्ना अगुवा र यहाँका सबै तहका नेता कार्यकर्ताको सुझाव र सहयोगमा अगाडि बढ्ने निर्णय गरेको हुँ । त्यसमा सफल हुनेमा विश्वस्त छुु ।

प्रतिक्रिया