भाष्करका चार कृति

काठमाडौं । प्रगतिवादी साहित्यकार भाष्करका चार कृति बजारमा आएका छन् । बालवाङ्मय तथा अनुसन्धान केन्द्रले भर्चुअल माध्यमबाट आयोजना गरेको कार्यक्रममा समीक्षात्मक कृति पर्यालोचन, कथासंग्रह आयुष्मान्, लघुकथा संग्रह जीवनयात्रा र अंग्रेजीमा अनूदित कृति मगर अङ्कल विमोचन गरिएको हो । भाष्कर प्रा.डा. भवानीप्रसाद पाण्डेको साहित्यिक नाम हो । उनका अहिलेसम्म विभिन्न विधाका २८ कृति प्रकाशित भइसकेका छन् ।

बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष साहित्यकार प्रमोद प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा समालोचक प्रा.डा.रमेश भट्टराईले पर्यालोचनमा लेखकको आलोचनात्मक चेत प्रखर देखिएको बताए । उनले भने, ‘साहित्यकार भाष्कर निडर, निर्भीक र आफ्नो कुरा स्पष्ट राख्ने बौद्धिक व्यक्ति हुन् ।’ लघुकथा समाजका अध्यक्ष एवम् साहित्यकार श्रीओम श्रेष्ठले जीवनयात्रा कृतिमा समानताको वकालत र अपसंस्कृतिको तीब्र विरोध पाइने विचार व्यक्त गरे । उनका अनुसार भाष्करका लघुकथामा समसामयिक विषय पाइन्छन् र कथाको अन्त्यले पाठकलाई एक प्रकारको झटका दिन्छ ।

समीक्षक प्रा.डा. श्रीधर गौतमले मगर अङ्कलका कथाहरू विकृतिविरूद्ध चेतना फैलाउने उद्देश्यले लेखिएको बताउँदै लेखकले आफ्ना कुरा निडरतापूर्वक राखेको जिकिर गरे । समीक्षक वसन्त महर्जनले आयुष्मानका कथाहरूमा कतिपय पात्र, स्थान, घटना र समय इतिहाससँग नमिल्ने बताए । तथापि बौद्ध दर्शन बुझ्न बुझाउन यो कृतिले मद्दत गर्ने उनको भनाइ थियो । संस्थाका अध्यक्ष प्रमोद प्रधानले साहित्यकार भाष्करको सक्रियता र निरन्तरता सबैका लागि उदाहरणीय भएको बताए । आयोजक संस्थाका उपाध्यक्ष विजयराज आचार्यले भाष्करका कृतिमा सामाजिक तथा मानवीय मूल्यचेत प्रखर रुपमा अभिव्यक्त भएको सुनाए कार्यक्रममा महासचिव अनन्त वाग्लेले स्रष्टाले द्रष्टाका रुपमा समाजलाई अग्रगति प्रदान गर्नुपर्ने बताउँदै भाष्करले सामाजिक मूल्य र मान्यतालाई कलात्मक रुपमा कृतिमा उधिनेको भनाई राखे । साहित्यकार भाष्करले पुस्तक प्रकाशन र कार्यक्रम आयोजनाका लागि विवेक सिर्जनशील प्रकाशन र बालवाङ्मय तथा अनुसन्धान केन्द्रलाई धन्यवाद दिए । उनले स्रष्टाले रुपान्तरण र परिवर्तनका पक्षमा कलम चलाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया