गाउँगाउँमा जनगणनाका सुपरीवेक्षक

बैतडी । राष्ट्रिय जनगणना, २०७८ को पहिलो चरणको गणनाका लागि सुपरीवेक्षक गाउँगाउँमा पुगेका छन् । उनीहरूले घरघरमा पुगेर सूचीकरण फारम भर्न थालेका छन् । सूचीकरणका लागि जिल्लाभरी ८० सुपरीवेक्षक परिचालन गरिएको जिल्ला जनगणना कार्यालयका प्रमुख सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए । यही १८ असोजसम्म सञ्चालन हुने पहिलो चरणको जनगणनाअन्तर्गत घर, परिवारलगायतको गणना भइरहेको छ । ‘सुपरीवेक्षकले घरको विवरण, घरमूलीको नाम, पशुपक्षीको विवरण, बैंक खाता, ऋण, अनुदान पाए नपाएकोलगायत २० प्रश्न सोध्ने काम जारी छ’, उनले भने । गत ३० भदौदेखि गाउँगाउँमा परिचालन गरिएका सुपरीवेक्षकलाई तथ्यांक संकलनमा समस्या भएको पन्तको भनाइ छ ।

भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्यांक संकलनको काम प्रभावित भएको छ । उनले भने, ‘सुपरीवेक्षकले मोबाइल एपको सहायतामा घरघरमा गएर दैनिक तथ्यांक संकलन गर्नुपर्छ, तर सबै ठाउँमा इन्टरनेटको पहुँच नहुँदा समस्या भएको छ’, पन्तले भने । सदरमुकामस्थित दशरथचन्द, पाटन नगरपालिकाबाहेक अन्य स्थानीय तहमा खटिएका सुपरीवेक्षकलाई तथ्यांक संकलन गर्न समस्या भएको छ ।

सुपरीवेक्षकका सुरक्षाका लागि प्रहरी टोली खटाइएको सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । ०६८ सालको जनगणना अनुसार जिल्लाको जनसंख्या २ लाख ५० हजार ८ सय ९८ रहेको छ । पहिलो चरणमा संकलन गरिएको तथ्यांकका आधारमा मूल गणना गरिनेछ । मूल गणना अगामी २५ कात्तिकदेखि ९ मंसिरसम्म सञ्चालन हुनेछ । प्रत्येक १०÷१० वर्षमा जनगणना गरिन्छ । यसपालिको जनगणनाको नारा ‘मेरो गणना, मेरो सहभागिता ः राष्ट्रिय जनगणना, २०७८’ रहेको छ ।

प्रतिक्रिया