किमाथांका । संखुवासभाको मकालु गाउँपालिका–२ की एक वृद्धाले ८० वर्षमा नेपाली नागरिकता पाएकी छन् । राम्रोसँग आँखा नदेख्ने कान्छीमा शेर्पाले मकालु–२ को कार्यालयबाट सबै काजगपत्र लिएर सदरमुकाम खाँदबारीस्थित जिल्ला प्रशासन कार्यालय आएको सातौँ दिनमा नेपाली नागरिकता प्राप्त गरिन् ।
८० वर्षीया वृद्धा कान्छीमाले जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । नेपाली नागरिकले नैसर्गिक अधिकारका रूपमा पाउने नागरिकताको प्रमाणपत्र नहुँदा अनेक दुःखकष्ट झेलेकी कान्छीमाले लामो संघर्षपछि नागरिकता प्राप्त गरिन् । नागरिकता पाएपछि राज्यका तर्फबाट बुढेसकालमा पाउने सामाजिक सुरक्षा भत्तालगायत सेवासुविधाबाट वञ्चित हुनुपर्ने वाध्यता हटेको छ ।
नेपाली भाषा राम्रोसँग बोल्न नसक्ने, श्रीमान् र छोरीे गुमाएकी कान्छीमालाई सरकारी सेवासुविधाका बारेमा केही थाहा छैन । दुर्गम टासी गाउँमा भिर, पहारा चहारेर दिनचर्या बिताइरएकी उनलाई गाउँका युवाहरूले बुढेसकालमा सामाजिक सुरक्षा भत्ता मात्रै पाए पनि सहज हुने थियो भनेर आवश्यक पहल गरेका थिए ।
१९९८ मंसिर १० मा जन्मिएकी कान्छीमाले सोही गाउँमा तप्के शेर्पासँग ०२६ जेठ ५ मा विवाह गरिन् । उनले विवाह दर्तालगायतका पञ्जीकरणका काम कुनै गर्न पाइनन् । अर्को विवाह गरेका पतिको ०६८ असार १५ मा मृत्यु भएको थियो । कान्छी पट्टिका छोरासँग नाता प्रमाणित गरेर वडाबाट सर्जिमिन मुचुल्का लगायतका कागजी प्रक्रिया पूरा गरेर सदरमुकाम खाँदबारी आएर उनले नागरिकता लिइन् ।
प्रतिक्रिया