‘समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण’

विराटनगर । प्रदेश–१ प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले सहकारीले मुलुकको आर्थिक समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण हुने बताएका छन् । राजसति महिला बहुउद्देश्यीय सहकारी संस्था लि. बुढीगंगा–१ टंकीसिनवारी मोरङको २१औँ वार्षिक साधारणसभाको शुक्रबार उद्घाटन गर्दै उनले आर्थिक समृद्धिका लागि स्थानीय स्तरमा आयआर्जनका कार्यक्रम सञ्चालन गर्न सहकारीलाई आग्रह गरे । विश्वका धेरै मुलुक सहकारीको माध्यमबाट समृद्ध राष्ट्र भएको उदाहरण दिँदै स्वरोजगारका कार्यक्रममा लगानी बढाउनुपर्नेमा उनले जोड दिए । प्रदेश प्रमुख अधिकारीले सहकारी भनेको सहकार्य, सहयात्रा, साझा स्वामित्व भएकोले एकआपसमा विश्वासिलो वातावरण कायम हुनुपर्नेमा जोड दिए ।

संस्थाकी अध्यक्ष तारादेवी राई, नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकाल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेल, जिल्ला सहकारी संघका अध्यक्ष डिल्ली पोखरेल लगायतले सफल सहकारी सञ्चालनमा महिलाको भूमिका महत्वपूर्ण रहने उल्लेख गरे । सो अवसरमा प्रदेश प्रमुख अधिकारीले सहकारीका ७५ वर्ष उमेरका ६९ जना, ज्येष्ठ महिला सहकारी सदस्य आठ र एकल महिला सेयर सदस्यलाई दोसल्ला एवं सम्मानपत्रद्वारा सम्मानित गरे । ०५७ सालमा ९५ सदस्यबाट २० हजार संकलन गरेर सञ्चालन गरिएको उक्त सहकारीमा अहिले समावेशीको आधारमा ९ सय २ जना सेयर सदस्य रहेका छन् ।संस्था ले चालु आवको अहिलेसम्म १० करोड ५३ लाख ३९ हजार ४ सय २७ वचत संकलन गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया