नवलपरासी । विश्वव्यापी रूपमा फैलिएको नोबेल कोरोना भाइरसका कारण नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा गएको १ वैशाखदेखि भदौ मसान्तसम्ममा १ सय ३८ जनाले ज्यान गुमाइसकेका छन् । चार वटा नगरपालिका र चार वटा गाउँपालिका रहेको उक्त जिल्लामा कावासोती नगरपालिकामा २ हजार २ सय ६२ संक्रमित मध्ये ५० जनाको मृत्यु भएको छ जुन जिल्लाको सबैभन्दा ठूलो संख्या हो । त्यस्तै ८ सय ९३ जना संक्रमित रहेको मध्यबिन्दु नगरपालिकामा २४ जनाले ज्यान गुमाइसकेका छन् । गौँडाकोट नगरपालिकामा २ हजार ३ सय ५५ र देवचुली नगरपालिकामा १ हजार २ सय ६१ संक्रमित मध्ये दुवैमा मृत्यु हुनेको संख्या बराबर २१-२१ रहेको छ । यसैगरी ७ सय २३ जना संक्रमित रहेको विनयी त्रिवेणी गाउँपालिकामा १९ जनाले ज्यान गुमाएका छन् ।
३ सय ४३ जना संक्रमित रहेको हुप्सेकोट गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ । १ सय ५ जना संक्रमित रहेको बुलिङटार र २ सय २२ जना संक्रमित रहेको बौँदीकाली गाउँपालिकामा भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या शून्य रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पुर्व)का प्रमुख केशव चापागाईंले जानकारी दिए । त्यसैगरी एन्टिजिन तथा पिसिआर जाँच गर्ने २० हजार २ सय ५२ मध्ये १२ हजार ३ नेगेटिभ र ८ हजार २ सय ४९ जनामा पोजेटिभ देखिएको थियो जसमध्ये निको हुनेको संख्या ७ हजार ९ सय ९२ रहेको छ ।
श्ुाक्रबार नवलपुरमा ३१ जनामा गरिएको कोरोना परीक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । जसमध्ये सबैभन्दा बढी कावासोती नगरपालिकामा तीन जनामा र गौँडाकोट र मध्यबिन्दु नगरपालिकामा एक-एक जना गरी जम्मा ५ जनामा कोरोना पुष्टि भएको जनाइएको छ ।
गएको बुधबार र बिहीबार ६÷६ जनामा कोरोना पुष्टि भएको थियो भने मंगलबार १५ जनामा कोरोना पुष्टि भएको थियो । जिल्लामा पहिलो र दोस्रो चरणको कोरोना लहरबाट १ सय ७० जनाको ज्यान गइसकेको छ । जिल्लामा अब कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ सय १९ रहेको छ ।
जिल्लामा गएको २० भदौबाट निषेधाज्ञा हटाइएको छ । अहिले जिल्लामा निषेधाज्ञा हटाइएको भएपछि ठूलो मात्रामा मानिसहरूको जमघट गर्न नपाइने प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी भट्टराईले जानकारी दिइन् । उनका अनुसार चाडपर्व मनाउँदा, मठमन्दिर जाँदा सामाजिक दुरी कायम गर्नुपर्नेछ । साथै सार्वजनिक यातायात सञ्चालन गर्दा सिट बाहेक बढी यात्रु राख्न नपाइने र यात्रुले मास्क प्रयोग अनिवार्य रूपमा गर्नुपर्नेछ ।
प्रतिक्रिया