‘नारी’ माथि बहस

काठमाडौं । अग्रज परम्परागत कलाकार मुक्तिसिंह थापाले बनाएको ‘नारी’ शीर्षकको चित्रमाथि बहस भएको छ । परम्परागत चित्रकलामा चार दशकभन्दा लामो समयदेखि सक्रिय थापाले १३औं देखि १६औं शताब्दीका बीचमा काठमाडौं उपत्यकामा प्रचलित नेवार कलालाई पुनर्जीवित गर्दै आइरहेका छन् । यस्तै, उनले थाङ्कासँगै परम्परागत शैलीमा समसामयिक विषयलाई समेत क्यानभासमा उधिन्दै आएका छन् ।
यसैबीच, उनले ठमेलस्थित मोना (म्युजियम अफ नेपाली आर्ट) मा सात वर्षअघि बनाएको ‘नारी’ शीर्षकको चित्रमाथि चर्चा गर्दै त्यसको रचनागर्भका बारेमा बताए ।

कलाकार थापाले चित्रमा सामाजिक तथा मनोवैज्ञानिक विषय अटाएको सुनाए । उनले भने, ‘चित्रको रचना काठमाडौंमा गरिएको हो । तर यो चित्र म अमेरिका जाँदा लेखेको कवितामा आधारित छ । अमेरिकामा रेलमा यात्रा गर्नेक्रममा मनमा नारी विषयको कविता फु¥यो । पछि त्यही कवितामा केन्द्रित रहेर मैले चित्र तयार पारेको हुँ ।’ उनले चित्रमा केही धार्मिक, केही सामाजिक तथा केही मनोवैज्ञानिक कुरा समेटिएको बताए । कलाकार थापाले नारीलाई उच्च स्थान दिएको धार्मिक पक्ष र दर्शनलाई राखेर चित्र रचना गरेको सुनाए । उनले नारीले घर, समाज र देशलाई स्वर्ग बनाउने सक्ने तागत रहेको जिकिर गरे ।

सन् १९५७ मा तनहुँको बन्दिपुरमा जन्मिएका थापा आफ्नो सिर्जनामार्फत समसामयिक विषयलाई पनि परम्परागत कला मान्यतामा रहेर भावाव्यक्ति दिन रुचि राख्छन् । उनले धर्म, संस्कृति, यौन तथा मानव अधिकारका विषयलाई परम्परागत चित्रकलाको शैलीमार्फत आफूलाई अभिव्यक्त गर्दै आएका छन् । थापाले अमेरिकन हिमालयन फाउण्डेसनमार्फत सन् २००७ मा लोमान्थाङ (मुस्ताङ) का स्थानीय कलाकारलाई परम्परागत नेवार कला सिकाउने अवसर पाएका थिए । रुविन संग्रहालय न्युयोर्क, फुकुओका एसियन आर्ट संग्रहालय जापान लगायत विश्वका विभिन्न व्यक्ति, संस्था तथा प्रसिद्ध संग्रहालयमा कलाकार थापाका कलाकृति संग्रहित छन् । नेपाल लगायत विश्वका विभिन्न स्थानमा उनका कलाकृतिको प्रदर्शनीसमेत भएका छन् । मोनाका संस्थापक राजन शाक्यले कलाकार थापाले नेवार कलामा विशिष्ट योगदान दिएको बताए । उनले कलाकार थापाका कलाकृति र व्यक्तित्वका बारेमा चर्चा गर्दै साढे चार दशकदेखि नेपाली कलाक्षेत्रमा सक्रिय रुपमा लागेको जानकारी दिए ।

प्रतिक्रिया