एमालेले ०७४ सालको वर्चश्व फर्काउँछ : घनश्याम भुसाल

बुटवल । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीले २०७४ सालको वर्चश्व फर्काउने बताएका छन् । बुटवलमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भुसालले एमाले जिम्मेवार भएर अघि बढे ०७४ सालको वर्चश्व फर्किने बताए ।

एमालेले समानता, न्याय र लोकतन्त्रका लागि सबैभन्दा बढी योगदान गरेको दाबी गर्दै भुसालले राष्ट्रको प्रतिनिधित्व गरिरहेको एमालेलाई मात्तिने छुट नभएको बताए । ‘एमाले जिम्मेवार बन्नुपर्छ, विगत, वर्तमान र भविश्यलाई हेरेर एमाले अघि बढ्नुपर्छ,’ उनले भने ।

राम्रो राजनीतिक पार्टी भयो भने राष्ट्र बलियो हुने भन्दै भुसालले जातजाति, भाषा, धर्मको प्रतिनिधित्व प्रभावकारी पार्टीले गर्ने बताए । ‘लोकतन्त्रमा राष्ट्रको प्रतिनिधित्व पार्टीले गर्छ, यो मुलुकमा एमाले सबैभन्दा बढी समानता र न्यायमा योगदान गरेकाले राष्ट्रको प्रतिनिधित्व एमालेले गरेको छ, गर्छ, गर्नुपर्छ । जिम्मवारीबोध हुनुपर्छ । कमजोरी गर्ने, उत्ताउलो हुने छुट छैन,’ उनले भने ।

पार्टी आन्तरिक रुपमा लोकतान्त्रिक हुन सकेन भने राष्ट्रको पनि प्रतिनिधित्व गर्न नसक्ने भन्दै भुसालले थपे, ‘व्यवस्थित अभ्यास गर्नुपर्छ । न्याय समानता र लोकतन्त्रको जति अभ्यास गर्न सक्छ त्यति नै राष्ट्रको प्रतिनिधित्व गर्नसक्छ ।’

बुद्धकै पालादेखि गणराज्यको अभ्यास भएको भन्दै उनले एमाले गणतन्त्र र लोकतन्त्र र आन्तरिक लोकतन्त्र सुदृढ गरेर यसैगरी अघि बढे २०७४ सालको वर्चश्व फर्काउने ठोकुवा गरे ।

भुसालले अब दलाल पुँजीवादीविरुद्ध लड्नुपर्ने बताए । ‘त्यो बाहिर पनि लड्ने हो पार्टीभित्र हो,’ उनले भने, ‘यो काम एमालेले गर्नुपर्छ, अरुले गरेर हुँदैन, एमाले आज जिम्मेवार भइदिएन जिम्मेवार भूमिका खेलिदिएन भने के हहुन्छ ? यसमा छलफल होस्, सामाजिक र सांस्कृतिक रुपमा पार्टीले जरा गाडिसकेको एमालेको अभाव अरुले पूर्ति गर्न सक्दैन ।’

लोकतान्त्रिक समानता न्यायमा एमाले लाग्नुपर्ने उनले बताए । ‘लोकतान्त्रिक समानता न्यायमा एमाले लाग्नुपर्छ, बलियो बनाउनुपर्छ, यही कुरा माधव नेपाललाई बुझाउन सकेनौँ । उहाँले आफै बुझिदिनुभएन । किन बुझ्नुभएन ? यो कुरा माधव कमरेडले बुझ्नुपर्छ । समीक्षा गर्नुपर्छ । मबाट के कमी भयो अर्कोबाट के भयो समीक्षा गरौं । कसले गल्ती गर्यो कसले गरेन माधव कमरेडले समीक्षा गर्नुपर्छ । विधानबाट जब हामी समेटिएर व्यवस्थति भएर आउनेछौं, त्यसपछि माधव कमरेडलाई बुझाउन समीक्षा गराउन बाध्य पार्नेछौं । एमाले उठ्छ, धुलो टक्टक्याएर अघि बढ्छ,’ भुसालले भने ।

प्रतिक्रिया