बुधबारदेखि राष्ट्रिय जनगणना सुरु हुँदै

इलाम । कोरोना संक्रमण बढ्दै गएपछि रोकिएको ‘राष्ट्रिय जनगणना २०७८’ बुधबारदेखि सुरु हुँदैछ । ‘मेरो गणना, मेरो सहभागिता’ भन्ने नाराका साथ आगामी ३० जेठदेखि ९ मंसिरभित्र सम्पन्न हुने गरी १२औँ जनगणना गर्न लागिएको छ । दुई चरणमा हुने जनगणनाको पहिलो चरणको काम बुधबारदेखि सुरु हुने मंगलबार पत्रकार सम्मेलन गरी जिल्ला जनगणना कार्यालयले जनाएको छ । पहिलो चरणको कार्यक्रम १८ असोजसम्म सञ्चालन हुने जिल्ला जनगणना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिए । २० दिनको अवधिमा सुपरिवेक्षकहरुले घर तथा घरपरिवारको सूचीकरण गर्नेछ ।

त्यसका लागि इलाममा ९९ जना सुपरिवेक्षक नियुक्त भई कार्यस्थलमा खटाइएको जनगणना अधिकारी कार्कीले बताए । ‘सुपरिवेक्षकलाई पहिलो चरणमा पाँच दिनको आधारभूत र भर्खरै दुई दिनको पुनर्ताजकी तालिम दिएर गणनाक्षेत्र पहिचान गरी सम्बन्धित गणना क्षेत्रमा खटाइसकिएको छ’ कार्कीले भने, ‘उहाँहरूले स्थानीय जनप्रतिनिधिहरूसँग समन्वय गरेर काम गर्नुहुनेछ ।’ सुपरिवेक्षकले घर तथा घपरिवारको सूचीकरणका लागि २५ वटा प्रश्नावलीको आधारमा सूचना संकलन गर्नेछ ।

त्यस्तै दोस्रो चरणको कार्यक्रम २५ कात्तिकदेखि ९ मंसिरसम्म सञ्चालन हुनेछ । १५ दिनको सो अवधिमा सुपरिवेक्षकले गरेको सूचीकरणका आधारमा गणकले मूल गणनाको काम गर्नेछ । गणकले विभिन्न ८० वटा प्रश्नावलीका आधारमा सूचना संकलन गर्नेछ । यसपटकको जनगणनाले तल्लो (वडा) तहसम्मको बेग्लाबेग्लै तथ्यांक दिने गरी व्यवस्थापन गरिएको छ । विगतका जनगणनामा जानसांख्यिक तथ्यांक मात्र लिने गरिएकोमा यसपटक आर्थिक र सामाजिक तथ्यांक समेत आउने गरी प्रश्नावली तयार गरिएको छ । ‘विगतका जनगणनामा जनसांख्यिक तथ्यांक मात्र आउनेगरी प्रश्न सोधिन्थ्यो । आर्थिक र सामाजिक प्रश्न आठ परिवारमध्ये एक परिवारलाई मात्र सोधिन्थ्यो’ जनगणना अधिकारी कार्कीले भने, ‘यस पटकको जनगणनामा प्रत्येक परिवारलाई आर्थिक र सामाजिक प्रश्नसमेत सोधिनेछ । यसबाट तल्लो तहसम्मको तथ्यपरक सूचना आउँछ भन्नेमा सरकार विश्वस्त छ ।’

नेपालमा पहिलोपटक अन्य लिंगीय समुदायको समेत गणना गरिँदैछ । हालसम्म नेपालमा अन्य लिंगीय समुदायको आधिकारिक तथ्यांक नभएको अवस्थामा यसपटकको जनगणनाबाट अन्य लिंगीय समुदायको पनि तथ्यांक आउने भएको छ । प्रश्नावलीमा नै लिंगको महलमा महिला, पुरुष र अन्य लिंग उल्लेख गरिएकाले अन्य लिंगीय समुदायको आधिकारिक तथ्यांक आउनेछ । अन्य लिंगीयअन्तर्गत महिला समलिंगी, पुरुष समलिंगी, द्विलिंगी, तेस्रो लिंगी र अन्तरलिंगी समेटिनेछन् ।

‘विगतका जनगणनामा लिंगको महलमा महिला र पुरुष मात्र उल्लेख गर्ने गरिएकाले उनीहरूको मात्र तथ्यांक आउँथ्यो’ यौनिक तथा अल्पसंख्यक समुदायको अधिकारको क्षेत्रमा कार्यरत ब्लु डाइमन सोसाइटीकी गौरी नेपालीले भनिन्, ‘तर यसपटक अन्य लिंगीयसमेत उल्लेख गरिएकाले पहिलोपटक उनीहरूको पनि तथ्यांक आउँदै छ ।’ तर, कतिपय घरपरिवार र समुदायले अन्य लिंगीय व्यक्तिको वास्तविक तथ्यांक नदिएमा तथ्यांक नआउने चुनौती पनि उत्तिकै रहेको नेपालीले बताइन् ।

जनगणनालाई छिटो, छरितो र विश्वसनीय गराउन वडा तहसम्मै विभिन्न समिति निर्माण गरिएको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला जनगणना समन्वय समिति, जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा, उपप्रमुख र जिल्ला भित्रका सवै स्थानीय तहका प्रमुख, उपप्रमुख सदस्य रहने गरी जिल्लास्तरीय जनगणना सहजीकरण संयन्त्र रहेको छ ।

स्थानीय तहमा स्थानीय जनगणना समन्वय समिति रहेको छ । जहाँ सम्बन्धित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत वा उनले तोकेका अधिकृत कर्मचारीको संयोजकत्वमा समिति बनेका छन् । त्यस्तै वडामा वडा अध्यक्षको संयोजकत्वमा वडास्तरीय जनगणना सहजीकरण समिति रहेको छ । उक्त समितिमा वडा कार्यालयले तोकेको वडाभित्रका विद्यालयका प्रधानाध्यापक, वडाअध्यक्षले तोकेको वडा सदस्य, वडाअध्यक्षले तोकेको महिला वडा सदस्य र वडा सचिव रहेको छ । ती समितिले जनगणनाका क्रममा सुपरिवेक्षक र गणकलाई आवश्यक समन्वय र सहयोग गर्नेछ ।

देशभर अक्सर बसोवास गर्ने सम्पूर्ण व्यक्तिको निश्चित समय अवधिभित्र गणना गरी व्यक्तिगत तथा पारिवारिक विवरणसँग सम्बन्धित तथ्यांक संकलन गर्न जनगणना गर्ने गरिन्छ । नेपाललमा विसं. १९६८ देखि जनगणना सुरु गरिएको थियो ।

प्रतिक्रिया