सडक ढलान गरिँदै

ललितपुर । ललितपुरको वाग्मती गाउँपालिकाअन्तर्गत छबेलीदेखि भट्टेडाडाँसम्मको मुख्य सडक ढलान गर्न थालिएको छ । वाग्मती प्रदेश मातहतको पूर्वाधार विकास कार्यालय ललितपुरको आर्थिक सहयोगमा एक हजार ६०० मिटर सडक ढलान गर्ने काम अघि बढेको गाउँपालिकाका प्रेस संयोजक दिपक घिमिरेले बताए ।

कूल रु ६ करोडमा साँढे पाँच मिटर चौडाइको सडक ढलान हुँदैछ । सडक ढलान कार्य एक वर्षभित्रमा सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको छ । सो सडक भएर गाउँपालिकाको खानीखोला हाइड्रोपावर तथा भट्टेडाँडा आधारभूत विद्यालयका साथै भट्टेडाँडा स्वास्थ्य चौकीसम्म पुग्न सहज हुनेछ ।

वाग्मतीले चालू आव २०७८–७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा ‘मानवीय र भौतिक पूर्वाधारः समुन्नति र दिगो विकासको आधार’ भन्ने नारालाई आत्मसाथ गर्दै गाउँपालिकाका सडकको वर्गीकरण गरी व्यवस्थितरुपमा विकास गरिएको छ । संघ तथा प्रदेश सरकार र सोअन्तर्गतका निकायसँग समन्वय गरी कालोपत्र गरिने योजना गाउँपालिकाले यसअघि सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया