सम्पादनमा सफल अर्जुन

काठमाडौं । सम्पादनलाई चलचित्रको महत्वपूर्ण प्राविधिक पक्ष मानिन्छ । सम्पादनविना चलचित्र नै तयार गर्न जटिल हुन्छ । किनकी छायांकनमा खिचिएका दृश्यका फुटेजलाई सम्पादकले जोडेर एउटा सिंगो चलचित्र बनाउँछन् । सम्पादकले चलचित्रलाई कलात्मक बनाउनुका साथै यसमा सुन्दरता थप्ने काम गर्दछन् । नेपाली चलचित्र जगत्मा पछिल्लो समय यस विधामा सक्रिय व्यक्तित्वका रुपमा अर्जुन जिसीलाई लिने गरिन्छ ।

२०६० सालमा दाङमा साथीभाइले बनाएका गीति भिडियोको सम्पादन गरेर उनी यस विधामा प्रवेश गरेका हुन् । उनलाई चलचित्रको सम्पादन गर्ने सोच पनि त्यहीबेलादेखि जागेको हो । सानैदेखिको नेपाली चलचित्रप्रतिको अर्जुनको मोहलाई पूर्णता दिनकै लागि उनले चलचित्र सम्पादन गर्ने सपना बुने ।

आइटी पढ्ने योजना बनाएर उनी दाङबाट राजधानी आए । त्यहीबेला गोपीकृष्ण मुभिजको व्यवस्थापनमा चलचित्र विकास कम्पनी सञ्चालनमा थियो । दाङको एक सिनेमा हल सञ्चालक चेतन कोइरालाको सिफारिसमा अर्जुनले उक्त कम्पनीमा काम गर्ने अवसर पाए । जहाँबाट उनले सम्पादनको पूर्ण ज्ञान लिए । उनले बनिस शाह, बद्री लामिछाने र स्वर्गीय अनिल गौतमजस्ता अग्रज सम्पादकबाट उनले सम्पादन सिके । पचास बढी सिनेमामा सह–सम्पादन गरेपछि उनी चलचित्र बल्ल निर्देशकको नजरमा परे ।

त्यसपछि विकास आचार्यकै चलचित्र ‘म तिम्रो भइसकेँ’ बाट उनले प्रमुख सम्पादकको रुपमा चलचित्रको नयाँ यात्रा सुरु गरेको सुनाए ।‘सम्पादन एक अदृश्य कला हो । आमदर्शकलाई चलचित्र सम्पादन पनि कला र पेशा हुन्छ भन्ने नै थाहा छैन । नेपाली चलचित्रको विकासमा श्रव्यदृश्य सम्पादकको भूमिका अहम् छ । म एनालग र डिजिटलबीचको पिरियडमा काम गरिरहेको थिएँ । आइटीको विद्यार्थी भएकाले दुवै प्रविधिमा मलाई त्यति लागेन,’ अर्जुन भन्छन् ।

एनालगबाट डिजिटलसम्मको चलचित्रको यात्रामा सोही अनुरुप सम्पादन क्षेत्रमा प्रविधि र कौशलता भित्र्याउने श्रेय अर्जुनलाई जान्छ । नेपालमा प्र्रथम रेड कम्पनीको फोरके क्यामराले खिचिएको चलचित्र ‘म तिम्रो भैसकें’ को सम्पादन अर्जुनले नै गरेका हुन् । उनले अहिलेसम्म ‘नाइँ नभन्नु ल ३’, ‘नाइँ नभन्नु ल ४’ र ‘नाइँ नभन्नु ल ५’, ‘काली’, ‘हिम्मतवाली’, ‘मायाज बार’, ‘लिली बिली’, ‘वीरविक्रम’, ‘साङ्लो’ र ‘रण’ लगायतका पाँच दर्जनभन्दा बढी नेपाली तथा भोजपुरी चलचित्रमा प्रमुख सम्पादकको रुपमा काम गरिसकेका छन् ।

उनी नेपालकै महँगा चलचित्र सम्पादकका रुपमा परिचित छन् । उनी एक चलचित्रको सम्पादनबाट ३ लाख रुपैंयाँसम्म पारिश्रमिक लिन्छन् । पछिल्लो दशकमा नेपाली चलचित्र युरोप र अमेरिकामा छायांकन हुन थालेका छन् । त्यहीकारण निर्माता तथा निर्देशकले सम्पादकलाई पनि चलचित्र सम्पादनका लागि लैजाने गरेका छन् । यही क्रममा अर्जुनले ‘लिली बिली’, ‘बबी’ र ‘सम्हालिन्छ कहिले मन’ लगायतका चलचित्रको सम्पादन युरोपमै गएर गरेको सुनाए ।

सन् २०१७ देखि चलचित्र मोसन नेपाल नामक आफ्नै स्टुडियो चलाएर बसिरहेका अर्जुनको स्टुडियोमा दैनिक ६ देखि ७ वटा चलचित्रका पोस्ट प्रोडक्सनका काम भइरहेका छन् । यो उपलब्धिको पछाडि एउटै कारण सम्पादनको क्षेत्रमा अर्जुनले देखाएको अनवरत् लगाव नै हो । उनले सम्पादन विधाबाट सम्मान र अवार्ड पनि पाएका छन् ।

प्रतिक्रिया