‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ विमोचित

काठमाडौं । राजनीतिज्ञ तथा लेखक परशुराम तामाङले लेखेको ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ पुस्तक बजारमा आएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पुस्तकको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत सामाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विमोचन गरे । कार्यक्रममा प्रचण्डले नेपालमा जनवादी क्रान्ति पूरा भए÷नभएको, दश वर्षे जनयुद्ध र दोस्रो जनआन्दोलनका उपलब्धिमूलक भए/नभएको, नेपाली क्रान्तिको कार्यदिशा सम्बन्धमा गम्भीर बहस भइरहेका बेला प्रकाशित यो पुस्तक सबैले अध्ययन गर्नुपर्ने विचार व्यक्त गरे । उनले नेपाली कम्युनिस्ट आन्दोलनप्रति रुचि राख्ने, यो आन्दोलनमा आबद्ध तथा सक्रिय नेता कार्यकर्ताका साथै अनुसन्धानकर्ताका लागि समेत महत्वपूर्ण अध्ययन तथा सन्दर्भसामग्री हुने बताए ।

अर्का वक्ता नेपालले नेपालको कम्युनिस्ट आन्दोलनका विविध आयाम र परिवेश बुझ्न पुस्तक उपयोगी हुने धारणा व्यक्त गरे । उनले पछिल्लो समय कम्युनिस्ट आन्दोलन गलत दिशातर्फ जान लागेकोमा चिन्ता प्रकट गरे । पुस्तकमाथि वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुति, नेकपा (माओवादी केन्द्र) का नेता राम कार्की ‘पार्थ’ र नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बन्धु चन्दले पुस्तकमाथि टिप्पणी गरेका थिए ।

नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष समेत रहेका तामाङका यसअघि बुद्धपथ (२०७६), नयाँ नेपालको प्रश्न (२०७१), नेपालको परिप्रेक्ष्यमा जातीय स्वशासन र संघीयता (२०६८), संघीय लोकतान्त्रिक गणतन्त्रको ढाँचा (२०६५), तामाङ संस्कार (२०५५), जनजाति र राष्ट्रवाद (२०५४), तामाङ जाति (२०५१) लगायतका पुस्तक प्रकाशित भइसकेका छन् । जागरण बुक हाउसले प्रकाशन गरेको यस पुस्तकमा नेपालमा कम्युनिस्ट आन्दोलनको विकास, कार्यदिशा तथा समाज रुपान्तरणका पक्षमा भएका विविध पक्षलाई केलाइएको छ । कार्यक्रममा लेखक तामाङ, प्रकाशक संस्था जागरण बुक हाउसका गणेश चितौरे र किसान नेता नहेन्द्र खड्काले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया