काठमाडौं । बालगायिका निहारिका राईको चाम्लिङ राई भाषाको ‘फोप्ती’ बालगीतको भिडियो सार्वजनिक भएको छ । तिलक चाम्लिङको शब्द रचना रहेको गीतमा दीपेश राईले संगीत भरेका छन् । काजोल राईको निर्देशन, परिकल्पना र सम्पादन रहेको गीतको भिडियोलाई हौवा अनलाइन टिभीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतकार तिलकले गीतमा माटो टेक्दा पुर्खालाई सम्झने कथा रहेको सुनाए । उनले गीतमा ‘जन्मथलोको शिर ढल्दा शिरउभ्याउनी गर्छु, भाषा सिक्छु, संस्कृति सिक्छु, पहिचान जोगाउँछु, ठूलो मान्छे भएर कुलको इज्जत राख्छु,’ भन्ने भाव रहेको बताए ।
निर्देशक राईको परिकल्पना रहेको भिडियोलाई किरात राई यायोक्खा काठमाडौं जिल्ला कार्यसमितिका अध्यक्ष प्रमिला राईको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको हो । निर्देशक काजोलको प्रशंसा गर्दै प्रमुख अतिथि प्रमिलाले भनिन्, ‘पाँच मिनेटको गीतमा कति जीवन्त कथा परिकल्पना गर्नुभएको रहेछ । महिला कलाकार पनि यसरी फिल्म इन्डस्ट्रीमा निर्देशक भएको देख्न पाउँदा धेरै खुसी लागेको छ ।’ उनले गीतको भिडियोभित्र गीत मात्र होइन, कथा पनि हुने बताइन् । प्रमिलाले यो बालगीतको भिडियोले नयाँ पुस्तालाई आफ्नो भाषा संस्कृतिप्रति प्रेम जगाउनेमा आफू आशावादी रहेको विचार व्यक्त गरिन् ।
सांस्कृतिक अभियन्ता मविन्द्र राईले यसरी हरेक क्षेत्रबाट भाषा संस्कृति बचाउन लाग्नुपर्नेमा जोड दिए । गीतको भिडियोमा नियामा राई, साङ्केन राई, अनुका राई, किवाहाङ राई, इशक राई, नायुमा राई, डिपी राई लगायतका कलाकारको अभिनय छ । हौवा अक्षयकोष स्थापनार्थ निर्माण गरिएको भिडियोका निर्माता जीवनजित राईले जानकारी दिए । उनले कोष बनाएर पछिल्ला पुस्तालाई आफ्नो संस्कृतिप्रति जागरण ल्याउनमा प्रोत्साहन मिल्ने बताए । ‘फोप्ती’ लाई नेपालीमा ‘कोपिला’ भनिन्छ । गीतकार तिलकले किरात राई चाम्लिङ भाषामा यो पहिलो बालगीत भएको जिकिर गरे ।
गीतको भिडियोमा बालसखाको फोटो भेटिन्छ । उनीहरुको लामो समयसम्म भेट भएको हुँदैन । उनीहरुलाई आआफ्नो दुःखले कहाँ कहाँ पु¥याएको हुन्छ । धेरै समयपछि उनीहरु पहिचानको अभियानमा भेटिन्छन् । दुवैजना जागिर, व्यवसाय छोडेर भाषा संस्कृतिको जर्गेना गर्ने अभियानमा लागेका हुन्छन् । यो भेटमा उनीहरु खुसी मनाउँदा मनाउँदै कथाको मैझारो हुन्छ ।
प्रतिक्रिया