‘समयको बयान’ लोकार्पण

काठमाडौं । कवि मीनकुमार नवोदितको तेस्रो कवितासंग्रह ‘समयको बयान’ सार्वजनिक गरिएको छ । राजधानीमा शनिबार आयोजित कार्यक्रममा कवि तुलसी दिवस लगायतका स्रष्टाले संयुक्त रुपमा उक्त कृतिको विमोचन गरे । साहित्यिक पत्रकार संघद्वारा आयोजित उक्त कार्यक्रममा कवि दिवसले कृतिलाई जत्तिकै स्रष्टालाई पनि सम्मान गर्ने परम्परा विकसित गर्नुपर्ने धारणा राखे । उनले कवि नवोदितका कविता सशक्त भएको बताउँदै भने, ‘कवितामा समय र स्थानको प्रतिछाँया पाइन्छ ।’

संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्रा.डा. हेमनाथ पौडेलले कवि नवोदितका कवितामा वर्तमानको प्रतिबिम्ब पाइने बताए । समालोचक प्रमोद प्रधानले कवि नवोदितका कविता यात्राको चर्चा गर्दै कविताले नेपाली समाजको विविधतालाई उधिनेको बताए । उनले दुई दशकको काव्ययात्रामा नवोदितले नेपाली कविता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको जिकिर गरे । अर्का समालोचक ज्ञानु अधिकारीले नवोदितका कवितामा समय, सम्बन्ध र स्मृति बिम्ब पाइने धारणा राखिन् ।

कार्यक्रममा कवि विमल भौकाजी, महेश पौडेल, उमेश राई अकिञ्चन, मञ्जिला अनिल, शुभलक्ष्मी लम्साल, रामगोपाल आसुतोष र शकुन्तला जोशीले कवि नवोदितका लोकार्पित कृतिबाट एक एक कविता वाचन गरेका थिए । कवि नवोदितले आफ्नो काव्ययात्राको बारेमा चर्चा गरे । कार्यक्रममा आयोजक संस्थाका सदस्य डा. दामोदर पुडासैनी किशोरले स्वागत मन्तव्य राखेका थिए । उक्त संग्रह रत्न पुस्तक भण्डारले प्रकाशित गरेको हो ।

प्रतिक्रिया