काठमाडौं । टेकुस्थित ऋषेश्वर महादेव मन्दिर ऋषि पञ्चमीका दिन आज सर्वसाधरणको लागि खुल्ला गरिएको छ । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीको दिन खुल्ला हुने उक्त मन्दिर स्वास्थ्य मापदण्ड कायम गरी खुला गरिएको छ ।
भीड कम हुने गरी दर्शनको व्यवस्था मिलाइएको उक्त मन्दिरमा सप्तऋषिको पूजाआराधना गर्न भक्तजन आएका छन् । कोभिड–१९ को महामारीका कारण उक्त मन्दिर गत वर्ष बन्द गरिएको थियो ।
काठमाडौं महानगरपालिका–१२ स्थित सो मन्दिरमा महिलाले विशेषगरी विधिपूर्वक सप्तऋषिको पूजा गरेका छन् । कश्यप, अत्रि, भारद्वाज, गौतम, यमदग्नि, वशिष्ठ र विश्वामित्रलाई सप्तऋषि भनिन्छ । काठमाडौं महानगरपालिका–१२ का वडाध्यक्ष विकास डङ्गोलले भक्तजनको आग्रह अनुसार मन्दिर खुल्ला गरिएको जानकारी दिए ।
‘दर्शनार्थीलाई स्वास्थ्य समस्या भएमा वडाको स्वास्थ्य क्लिनिक र रेडक्रसको सहयोगमा स्थानीय बुद्ध माइ सेन्टर अस्पताल लैजाने व्यवस्था गरिएको छ’, उनले भने । भीड कम गर्न कुनै पनि संघसंस्थाको प्रतिनिधिलाई स्वयम्सेवकका रुपमा राखिएको छैन ।
प्रतिक्रिया