दुई किशोरीलाई भारतमा बेच्न लैजाने दुई महिला पक्राउ

सिरहा । सिरहा प्रहरीले मानव बेचबिखन तथा ओसारपोसारमा संलग्न रहेको आरोपमा दुई महिलालाई पक्राउ गरेको छ ।

१६ र १९ वर्षका दुई किशोरीलाई भारततर्फ बेचविखनको लागि लैजाने क्रममा प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत नरहा नगरपालिका –३ चोहर्वाबाट सप्तरी कञ्चनरुप नगरपालिका ११ बेङगरीकी २८ वर्षीया ललिता चौधरी र सिरहा धनगढिमाई नपा १ बाखैरकी ३५ वर्षीया उषा देवी मलाहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले ती किशोरीलाई लहान आश्रममा मासिक ५० हजारको दरले काममा लगाइदिने भनी बोलाएको प्रहरीले जनाएको छ । लहान आइसकेपछि यहाँभन्दा अझै राम्रो काम जनकपुरमा पाइन्छ भन्दै ल्याएका उनीहरुलाई चोहर्वामा नै ओरालेर माडरतर्फ लैजान ठिक्क पारेको बेला प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका दुवैमाथि मानव बेचविखन तथा ओसारपसार कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । यसमा संलग्न अन्य अभियुक्तहरुकोसमेत खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया