चितवन । यहाँका अस्पतालमा ज्वरोका बिरामीको संख्या बढेका छन् । भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको संख्या बढेको हो । मौसम परिवर्तन भएसँगै अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको हो । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार अहिले अस्पतालमा उपचार गराउन आउनेमध्ये जनरल मेडिसिन विभागमा आउने बिरामीको संख्या सयभन्दा बढी छ । पहिलेको तुलनामा यो संख्या बढी हो । लक्षण कारोनासँग मिल्दोजुल्दो भएको तर कोरोना नभई भाइरल ज्वरो रहेको उनले जानकारी दिए ।
भरतपुर अस्पतालको जनरल मेडिसिनमा अहिले दैनिक दुई सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । तीमध्ये ६० प्रतिशत ज्वरो र मौसमी रुघाखोकीका बिरामी आउने गरेका उनले बताए । मौसममा परिवर्तन हुने समय र नियमित वर्षाका कारण पानी दूषित हुँदा बिरामीको चाप बढेको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा.कालिदास अधिकारीले बताए । अहिले ज्वरो र मौसमी रुघाखोकीका बिरामी पहिलेको तुलनामा बढ्दै गएको उनको भनाइ छ । गत एक सातायतादेखि बिरामीकोे चाप बढ्दै गएको हो ।
अस्पतालमा आएका बिरामीमध्ये अधिकांश दुई÷तीन दिनदेखि उच्च ज्वरो आएका रहेका छन् । यस्तै भाइरल ज्वरोका बिरामी बालबालिकाको संख्या पनि अहिले उच्च छ । अस्पतालमा आउने बालबालिकामध्ये ७० देखि ८० प्रतिशत भाइरल ज्वरोका बिरामी छन् । बालबालिकामा पनि अहिले उच्च ज्वरो, निमोनिया र रुघाखोकीको समस्या देखिएको अस्पतालले जनाएको छ ।
पाँच वर्षमुनिका बच्चामा ज्वरो र मौसमी रुघाखोकीको समस्या बढी देखिएको अस्पतालका बालरोग विशेषज्ञ डा. युवानिधि बशौैलाले जानकारी दिए । कोभिडका कारण बालबालिकालाई पूर्णखोप लगाउन नपाउँदा यस्तो समस्या देखिएको उनको भनाइ छ । अहिलेको समयमा झोलिलो पदार्थ, सागपात, फलफूलजस्ता पोषणयुक्त खानेकुरामा बढी जोड दिन चिकित्सकले सुझाएका छन् ।
यससँगै यहाँका अस्पतालहरुमा रगतको अभावसमेत हुन थालेको छ । दैनिक सय युनिट हाराहारीमा रगत आवश्यक पर्नेमा हाल ३० प्रतिशत मात्र पूर्ति हुने गरेको क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले जनाएको छ । केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार रगत पु¥याउन निकै कठिन हुन थालेको छ । सम्बन्धित बिरामीका आफन्त र स्वयंसेवीहरूको भरमा रगतको माग धानिएको हो । उनका अनुसार बिरामीको चाप बढेसँगै रगतको माग बढेको हो । कोरोनाको खोप लगाएकाले दुई साता रक्तदान गर्न मिल्दैन । मुख्य रक्तदाताहरू भएको समूहले अहिले खोप लगाइरहेका छन् ।
यस्तै चाडपर्व पनि रक्तदान कार्यक्रम घट्नुको अर्को कारण हो । भाइरल फिबर र कोरोनाका बिरामीले गर्दा पनि रगत आपूर्तिमा कमी आएको छ । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा धेरै रगतको माग हुने गर्दछ । यससँगै भरतपुर अस्पताल, दुई मेडिकल कलेज र साना अस्पतालमा यहाँ संकलित रगत जाने गर्दछ । पौडेलले रक्तदान कार्यक्रमको आयोजना गरी रगत संकलनमा सहयोग पु¥याउन अनुरोध गरिएको बताए ।
प्रतिक्रिया