तनहुँ । कवि अनिल श्रेष्ठको छैटौँ कविता संग्रह ‘मध्यरातमा मुर्कट्टा’ बजारमा आएको छ । बिहीबार आँबुखैरेनीमा आयोजित एक कार्यक्रममा उक्त कृतिको विमोचन प्रमुख अतिथि कवि प्रमोद प्रधान, विशेष अतिथि आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिरबहादुर थापा र साहित्यकार विजयराज आचार्य लगायतले संयुक्त रुपमा गरे । आँबुखैरेनी स्रष्टा समाजले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रधानले नेपाली कविता क्षेत्रमा क्रान्तिचेतनालाई कलात्मक सौन्दर्यका साथ प्रस्तुत गर्ने कविको रूपमा अनिल श्रेष्ठको योगदान महत्वपूर्ण रहेको बताए । उनले विचार र कलाको संयोजन कवि श्रेष्ठका कवितामा प्रचुर मात्रामा रहेको जिकिर गरे । उनले भने, ‘पछिल्लो समयमा धेरै प्रगतिवादी कविहरू पद, पैसा र पहुँचको सत्तासुखमा रमाएर चुप लागेको बेला अनिल श्रेष्ठ भने प्रतिपक्षको रूपमा अभैm सशक्त भएर प्रस्तुत भएका छन् ।’ प्रधानले कला र साहित्यले परिवर्तन, समाज र सामाजिक मूल्य मान्यताका विषयलाई सशक्त रुपमा उठाउनुपर्ने धारणा व्यक्त गरे ।
गाउँपालिकाका अध्यक्ष थापाले समाजलाई गतिशील बनाउन र रुपान्तरणका पक्षमा अग्रसर गराउनका लागि कला साहित्यको महत्व विशिष्ट रहेको धारणा व्यक्त गरे । उनले गाउँपालिकामा संस्थाबाट भइरहेका साहित्यिक सक्रियताको प्रशंसा गर्दै छिम्कालेकमा एक साहित्यिक कार्यक्रम गर्ने घोषणा गरे ।
सो अवसरमा समालोचक तेजविलास अधिकारीले अनिलका कविताहरू आकारमा छोटा भए पनि त्यसले दिने विचार गम्भीर र अत्यन्त महत्वपूर्ण रहेको विचार राखे । उनले कवि श्रेष्ठका कविताबारे जति पनि व्याख्या र विश्लेषण गर्न सकिने बताउँदै क्रान्ति, रुपान्तरण र सामाजिक न्यायका पक्षमा कवि सशक्त रुपमा प्रस्तुत भएको बताए । उनले भने, ‘कवि श्रेष्ठका कविताले मानव, समाज, प्रकृति र सांस्कृतिक रुपान्तरणका विषयलाई सबलताका साथ उठान गरेको पाइन्छ ।’ अर्का समीक्षक भीम रानाभाटले पनि श्रेष्ठका कविता विषय, भाव, शैली र कलाका दृष्टिकोणबाट अब्बल रहेको जिकिर गरे । उनले समाजमा जरा गाडेर बसेको परिवर्तनविरोधी विचारलाई खारेज गर्दै कवि श्रेष्ठले प्रगतिको पक्षमा हिँड्न अभिप्रेरित गर्ने कविता लेखेको धारणा व्यक्त गरे ।
आयोजक संस्थाका सल्लाहकार एवं कवि सानुकाजी थापाले स्वागत मन्तव्य राख्दै कवि श्रेष्ठले समाज र परिवर्तनका पक्षमा आफूलाई सशक्त रुपमा उभ्याएको बताए । कवि अजुर्नकुमार ढकालले तिर्खा र समाजपक्षधरता कवि श्रेष्ठका कविताको मुख्य विशेषता रहेको बताए । संस्थाका अध्यक्ष एवं कृतिकार कवि अनिल श्रेष्ठले संस्थाको गतिविधिमाथि प्रकाश पार्दै एक कविता वाचन गरेका थिए । उनले कवितामा समाज, न्याय, प्रगति र रुपान्तरणका विषयलाई उठान गरिएको बताए । कवि श्रेष्ठले भने, ‘मानिस जहिल्यै पनि परिवर्तन, रुपान्तरण तथा सामाजिक न्यायको पक्षमा रहनुपर्दछ । मैले कवितामा पनि यिनै पक्षलाई प्रमुखताका साथ चित्रण गर्ने जमर्को गरेको छु ।’ ३५ कविता रहेको उक्त कृतिलाई विवेक सिर्जनशील प्रकाशन प्रालिले प्रकाशन गरेको हो ।
प्रतिक्रिया