अन्तर्वार्ता

सानातिना कामलाई सदरमुकाम जानु पर्दैन

सौर्य अनलाइन २०७८ भदौ २५ गते ६:५३ मा प्रकाशित

खडानन्द चौलागाईं, अध्यक्ष, शुभकालिका गाउँपालिका कालिकोट

नौ वटा स्थानीय तह रहेको कालिकोट जिल्ला ८२ वटा वडामा विभाजन भएको छ । विकास निर्माण र जनसेवाका दृष्टिले के कतिको परिवर्तन भयो त ? नगरपालिका प्रमुख/उप प्रमुख /गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवं अन्य जनप्रतिनिधिहरूले अहिलेसम्म के कस्ता कामहरूलाई प्राथमिकतामा राखेका छन् ? प्रस्तुत छ यस्तै विषयमा केन्द्रित रहेर शुभकालिका गाउँपालिका कालिकोटका अध्यक्ष खडानन्द चौलागाईंसँग सौर्य दैनिकका कालिकोट संवाददाता हस्त चौलागाईंले गरेको कुराकानी :

 

कार्यकालको अन्तिम वर्षतिर हुनुहन्छ, यो कार्यकाललाई आफैंले कसरी मूल्यांकन गर्नुहुन्छ ?
स्थानीय तहको चुनाव जितिसकेपछि एकातिर उत्साह थियो भने अर्काेतिर चुनौती । यिनै अप्ठ्यारा चुनौतीलाई चिरफार गर्दै आजसम्म पुग्दा थुप्रै कुराको अभाव रहेको महसुस गरेको छु । कहिले जनप्रतिधिहरूको चित्त बुझाएर सकिन्न, कहिले नागरिकहरूको चित्त बुझाएर सकिन्न । म एक गाउँपालिकाको अध्यक्ष हुँदै गर्दा नागरिकहरूले ठूलो आशा गरेका थिए । नागरिकहरूका ती आशालाई मध्यनजर गर्दै म मात्रै होइन सबैजसो जनप्रतिनिधिहरू दिनरात नभनी कामतिर लागे पनि थुप्रै नागरिकहरूको चित्त बुझाउन सकिएको छैन । अभावै अभावले भरिपूर्ण मानव जीवनमा आफूलाई बिर्सेर, आफ्नो बारेमा सोच्न छोडेर नागरिकहरूको कामप्रति लाग्दा स्वयं आपूm र आफ्ना अधिकारलाई थाती राख्नुपरेको छ ।

जनताले साच्चीकै संघीयता पाएको महसुस गरेका छन् त ?
गरेका छन् । पहिलेको तुलनामा गाउँपालिका क्षेत्रमा रहेका नागरिकहरू बैंकिङ कारोबार गर्न सदरमुकाम मान्म पुग्नु पथ्र्यो । गाउँका जनताले पहिले टाढाबाट गाडीहरू चलेको मात्र देख्न पाएका थिए तर अहिले धेरैले घरबाटै गाडी चढ्न पाएका छन् । एक पाकेट नुन लिन सदरमुकामै पुग्नु पथ्र्यो । कसैलाई फोन गनुपर्दा पनि सदरमुकामै धाउनुपर्ने अवस्था थियो । अहिले गाउँमै टावर आएको छ । स्थानीय सरकार नआउनुपूर्व हरेक काम, क्रियाकलापका लागि सदरमुकाम मान्म अथवा अन्य जिल्ला जानुपर्ने अवस्था थियो भने अहिले यो टरेको छ । यसैले नागरिकहरूले संघीयता आएको महसुस गरिरहेका छन् ।

शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आधारभूत अधिकारका क्षेत्रमा भएका खास परिवर्तनको बारेमा केही भन्दिनु न ?
पहिले शिक्षाको विषयमा कुरा गर्दा विद्यार्थीहरूलाई पहिलेको तुलनामा अहिले सहज भएको छ । गाउँका अन्य नागरिकहरू पनि यो समयमा विद्यालय सुधारतिर लागेका छन् । सम्पूर्ण जनप्रतिनिधिहरूको साथ र सहयोगका कारण अहिले विद्यालयमा आवश्यक खानेपानी, खेलमैदान, विद्यालय भवन, खेलकुदका सामग्री, दक्ष शिक्षक, विषयगत शिक्षक, शिक्षिकाको व्यवस्थाले पनि शिक्षा क्षेत्रलाई झन् मजबुद बनाएको देख्छु ।
स्वास्थ्यका क्षेत्रमा कुरा गर्ने हो भने, टोलटोलमा आधारभूत स्वास्थ्य केन्द्र, टोलटोलमा महिला स्वास्थ्य स्वयंसेविका, पालिकास्तरीय अस्पताल, स्वास्थ्यचौकी, दक्ष डाक्टर तथा अन्य स्वास्थ्यकर्मीको समेत व्यवस्था गरिएको छ ।

विगतमा बिरामी बोक्ने स्टेचरसमेत नहुँदा डोकोमा बोकेर सदरमुकाम मान्म पु¥याउनुपर्ने अवस्था थियो । अहिले यो सवै दूर भयो । स्वास्थ्यका क्षेत्रमा नागरिकहरूको लगानी, स्थानीय सरकारको आर्थिक सहयोग तथा अन्य कर्मचारीको भरपुर सहयोगले स्वास्थ्य क्षेत्रमा शुभकालिका गाउँपालिका बलियो देखिएको छ । खानेपानीका क्षेत्रमा भन्नुपर्दा हिजोका दिनमा र आज धेरै परिवर्तन भएको देख्छु । पहिले गाउँलेहरूको पानी खाने, कुवा, धारा एकै हुन्थ्यो । पानी लिन जाँदा झैझगडा हुन्थ्यो भने अहिले प्रत्येक टोलटोलमा एक घर एक धारा कार्यक्रम सञ्चालन भयो । घरघरमा पानीको धारा पुग्यो, फिल्टर सहितको धारा हुँदा पानीको क्षेत्रमा त्यति समस्या भएको देखिँदैन ।

तथ्यांकको आधारमा भन्दा कुनकुन क्षेत्रमा के के परिवर्तन भएको छ त ?
समग्र रूपमा भनौँ भने धेरै तर पहिला सडकले नछोएको गाउँपालिकामा सडकले छोयो । पहिला विद्यालयका भवन जीर्ण थिए भवन बने । स्वास्थ्य संस्थाहरू बने । पहिला गाउँपालिकाका नागरिकहरूले काम गरेको रकम उपभोक्तामार्फत दिइन्थ्यो अहिले खातामा सिधै हालिन्छ । यस्ता थुप्रै किसिमका परिवर्तन भएको देख्छु । परम्परागत हानिकारक अभ्यास न्यूनिकरणका लागि पनि ठूलो पहल भएको देख्छु ।

बेरोजगारी समस्याको बारेमा पनि केही परिवर्तन भएको छ कि ?
भएको छ नि । भारतलगायत अन्य मुलकमा जाने नागरिकहरूले गाउँमै रोजगार पाएका छन् । कसैले गाउँमै कृषिकार्य गरेर जीविकोपार्जन गरिरहेका छन् । पढेलेखेका तर रोजगार नपाएकाहरूलाई स्तर अनुसारको काममा लगाइएको छ । विभिन्न विकास निर्माणका कामहरूमा रोजगारको सिर्जना भएको देख्छु ।

स्थानीय सरकार चलाउन खास समस्या के के रहेका छन् ?
समस्या त धेरै छन् । फरकफरक पार्टीबाट जितेर आएका जनप्रतिधिहरूसँग अनेक कुरा मिल्दैन । उहाँहरूका विकासी योजनाहरू फरकफरक हुन्छन् । स्थानीय सरकार आफँैमा एकरुपता नभएपछि नागरिकहरूले विश्वास गर्दैनन् । अनी दरबन्दी अनुसारको कर्मचारीहरू नहुँदा पनि समस्या भएको छ । मन्त्रालयमा धाएर धौ धौ कर्मचारी पाइन्छ । तर अझै पनि केही कर्मचारीहरूको कोटा खाली छ । दरबन्दीअनुसार कर्मचारी नभएपछि सरकार चलाउन त गारो भइहाल्छ नि ।

स्थानीय प्राकृतिक स्रोतसाधनको उत्खनन र उपयोग कत्तिको व्यवस्थित गर्नुभएको छ ?
हामीसँग पर्याप्त मात्रमा स्थानीय स्रोतसाधन भए पनि त्यति व्यवस्थित गर्न सकेका छैनौँ । जस्तै काइनेट खानी हाम्रो क्षेत्रको एक महत्वपूर्ण खानी हो । त्यसलाई व्यवस्थित र पर्यटकीय महत्वको बनाउन थुप्रै पहलकदमी थालियो तर त्यति सफल भने देखिएन । अन्य स्रोतसाधनहरू भने वडा स्तरबाट नै कडाइकासाथ व्यवस्थित गरेका छौँ ।

आर्थिक पारदर्शिताका चुनौतीहरू के कस्ता छन् ।
चुनौतीहरू भन्ने हो भने थुप्रै देखिन्छन् । तर, चुनौतीका बाबबुद पनि आर्थिक पारदर्शिताका लागि हरेक कर्मचारी, जनप्रतिनिधिलगायत सबैले काम गरिरहेका छन् । विकट कालिकोटमा नेटवर्कले पनि राम्रो काम नगरेकाले अनलाइनमार्फत काम हुने भएकाले केही जटिलता छन् । धेरै जटिलता हँुदाहँुदै पनि काम गरिरहेका छौँ ।

संघ र प्रदेश सरकारको व्यवहार कस्तो पाउनुभएको छ ?
संघले त सौतेनी व्यवहार गरेको पाइन्छ । पटकपटक फेरिएका सरकार र सांसदहरूले शुभकालिका गाउँपालिका मात्र होइन सिंगो कालिकोट जिल्लालाई नै सौतेनी व्यवहार गरेको देख्छु । यता प्रदेश सरकारले भने हरबखतको अनुगमन, आवश्यकता अनुसारको योजना र आर्थिक सहयोग गरेको छ ।

तपाईंले चाहेर पनि गर्न नसकेका काम केही छन् ?
यो कार्यकालसम्म सक्दो काम गरेकै छौँ । तर सडक, खानेपानी, सडकको स्तरोन्नति गर्न सकेका छैनौँ । आफ्नो कार्यकालसम्म सडकको स्तरवृद्धि गरेर मजबुद बनाउने सोच भए पनि त्यति सफल भएका छैनौँ, अरू विकास निर्माणको दृष्टिकोणले सबै सन्तोषजनक नै छ ।

अन्त्यमा थप केही भन्न चाहानुहुन्छ ।
विशेष गरी सौर्य राष्ट्रिय दैनिकलाई धन्यवाद । म आफ्नो कार्यकाल बाँकी रहेसम्म मात्रै होइन जनप्रतिनिधि नभए पनि गाउँपालिकाको विकासमा सधैँभरी लागिपर्ने प्रतिवद्धता जनाउँछु । धन्यवाद !

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय