सल्यान । जिल्लामा नेकपा एमालेभन्दा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बलियो देखिएको छ । नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाको गृह जिल्ला सल्यानमा नेकपा एमालेभन्दा नयाँ पार्टी समाजवादी बलियो बनेको हो । नेकपा एमाले विभाजनपश्चात माधवकुमार नेपालको अध्यक्षतामा गठन भएको नेकपा एकीकृत समाजवादीमा सनाखत गर्ने जनप्रतिनिधिहरूको संख्या धेरै रहेको छ । बुधवार बिहान जिल्लाको सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गर्दै सो पार्टीले जिल्लाभरका ७६ जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेको जानकारी दिएको छ ।
पार्टीका सचिव रमेश गौतमले जिल्लामा गाउँपालिका अध्यक्ष एक, उपाध्यक्ष एक, वडाध्यक्ष १९ जना र ५५ जना वडा सदस्य गरी ७६ जनाले एकीकृत समाजवादीमा सनाखत गरेको जानकारी दिए । गएको स्थानीय तहको निर्वाचनमा जिल्लाभर १ सय ४२ जनाले नेकपा एमालेबाट स्थानीय तहको निर्वाचन जितेका थिए । ती मध्ये कालिमाटी गाउँपालिका–१ का वडासदस्य कुलबहादुर बबालको निधन भएको छ । यस्तै छत्रेश्वरी गाउँपालिका–५ का वडासदस्य भेदबहादुर सार्की पनि देश बाहिर छन् ।
बाँकी १ सय ४० जनामा ७६ जना एकीकृत समाजवादीमा आउँदा ६४ जना मात्रै नेकपा एमालेमा रहेका छन् । सोही विवरणलाई आधार मान्ने हो भने पनि जिल्लामा समाजवादी पार्टी एमाले भन्दा बलियो रहेको गौतमको भनाइ छ । उनका अनुसार जिल्लाभरको अवस्थालाई हेर्दा झण्डै ७५ प्रतिशत नेता कार्यकर्ता एकीकृत समाजवादीमा रहेको र बाँकी २५ प्रतिशत मात्रै एमालेमा भएको बताए ।
पार्टीका जिल्ला अध्यक्ष उदय बोहराले नेकपा एमालेमा नीति प्रधान नभएर नेता प्रधान हुँदा आज यो समस्या आएको बताए । अहिले पालिकास्तर र वडास्तरमा भेला, संगठन निर्माण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेकाले तत् पश्चात पार्टी कार्यालय स्थापना गरेर थप कार्यलाई अगाडि बढाइने उनको भनाइ छ ।
आपूmहरू एमालेमा हुँदा जिल्ला पार्टी अधिवेशनमा एमालेकै ८ सय ८७ जना संगठित सदस्यहरूको पैसा बुझाउँदासमेत नवीकरण नगरेर षड्यन्त्र गरेको भन्दै चुनावमा जितेका पदाधिकारीहरूलाई समेत हारेको घोषणा गरेको अध्यक्ष बोहोराले आरोप लगए । ‘जिल्ला अधिवेशनमा आपूmहरू पराजय हुने डरले कहिल्यै संगठित सदस्यहरूले पैसा बुझाउँदा पनि नवीकरण नगर्ने चुनावमा जितेका साथीहरूलाई समेत फरक गुटमा भएको भन्दै हराउने कार्य भयो, अहिले पनि स्थानीय तहमा एमाले ठूलो भएको प्रचार गरिँदै रहेछ, त्यस्तो सपना नदेखे हुन्छ’, अध्यक्ष बोहराले भने । जिल्लाका १० स्थानीय तहमध्ये चार वटा स्थानीय तहमा एमाले निर्वाचित भएका छन् । बहुमतले समाजवादी पार्टीमा सनाखत गरेपछि एमालेमा जनप्रतिनिधिहरूको संख्या कम रहेको छ ।
प्रतिक्रिया