मनाङ । अवरुद्ध भएको तीन महिना पुग्दा पनि मनाङ जोड्ने सडकखण्ड पुनःनिर्माण तथा मर्मतमा ढिलाइ भएको छ । गत जेठ १४ र असार १ मा आएको बाढीपहिराले उक्त सडकखण्डको धेरै ठाउँमा क्षति पुगेकोे छ । सदरमुकाम चामे बजार नै बाढीको जोखिम छ । अत्यधिक वर्षा हुँदा यसवर्ष बाढीबाट धेरै क्षति भएको छ । बाढीका कारण स्थानीयवासीको उठिवास भएको छ भने विभिन्न पूर्वाधार बगाएको छ ।
बाढीले सदरमुकामस्थित मस्र्याङ्दी नदीमाथिको पुल बगाउँदा हिँडडुल गर्नसमेत समस्या भएको छ । बाढीबाट पु¥याएको क्षति हेरेर सरकारले विपद् संकटग्रस्त जिल्ला घोषणा गरेको छ । स्थानीयवासीलाई राहत उपलब्ध गराउन तथा पूर्वाधार निर्माण गर्न समस्या भएको छ ।
बँेसीसहर चामे सडक मर्मतका लागि डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयले सूचना जारी गर्दै बोलपत्र आह्वान गरेको छ । सडक मर्मत गर्न १ करोड ९२ लाख खर्च हुने कार्यालयका इन्जिनियर सुमन अधिकारीले जानकारी दिए । साउन अन्तिममा सूचना जारी गरेपछि उत्तरगया कन्स्ट्रक्सनले ५५ प्रतिशत घटेर भ्याटसहित ९१ लाखमा काम गर्ने जिम्मा लिएको छ ।
असोजसम्म मर्मतको काम सक्नेगरी ठेकेदारसँग सम्झौता भएको हो । अहिलेसम्म कामको प्रगति हुन सकेको छैन । नासों गाउँपालिका–३ खोत्रोदेखि तिमाङसम्मको सडक खण्डमा सबैभन्दा बढी क्षति भएको छ । उक्त सडकखण्डमा ठेकेदार काम नगरेको वडाध्यक्ष मीनबहादुर गुरुङ बताउँछन् । ‘मर्मतको काम केही भएको छैन’, उनले भने । सडक पूर्णरूपमा अवरुद्ध भएकाले बेँसीसहर–मनाङम्म खण्डमा सवारीसाधन चल्न सकेका छैनन् । यातायात ठप्प भएपछि खाद्यान्नलगायत अत्यावश्यक सामग्री ढुवानी गर्न सकिएको छैन ।
‘खच्चड र भरियाको भरमा सामान ढुवानी गर्नुपरिरहेको छ । त्यही पनि सहज छैन । बाढीपहिरोको जोखिम छ’, नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले भने, सडक ममर्तको काममा ढिला हुँदा जनजीवन प्रभावित बनेको छ ।’ समयमै सडक मर्मत नुहँदा खाद्यान्न संकट हुने अवस्था छ । सडक मर्मतका लागि ठेक्का लगाए पनि काम भए÷नभएको हेर्ने कुनै निकाय छैन । बाढीपहिराबाट पुगेको क्षतिको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले हालै निरीक्षण गरेका थिए । स्थानीयवासी राम गुरुङ भन्छन्, ‘सडक छिटो बनाउनुपर्छ भन्नेतर्फ कसैको चासो छैन । सडक सञ्जाल नहुँदा आवतजावत मात्रै होइन विकास निर्माण र भौतिक संरचना निर्माणका सामग्री ल्याउन सकिएको छैन । कसले बुझिदिने होला खै ?’
कम मूल्यमा ठेक्का लगाउने र काम नगर्ने प्रवृत्तिले सडक मर्मतमा ढिलाइ भएको स्थानीयवासीको गुनासो छ । तर, सडक मर्मतको काम भइरहेको डुम्रे–बँेसीसहर–चामे सडक योजना कार्यालयका प्रमुख इन्जिनियर अच्युत विलास पन्तले दाबी गरे । ‘बर्खाका कारण समयमै काम पूरा गर्न कठिन भएको छ । एक ठाउँमा बनायो अर्को ठाउँमा भत्किने समस्या छ ।’ उनले भने, ‘दसैँ अगावै मनाङ सदरमुकामसम्म सवारीसाधन सञ्चालन गर्ने योजनासहित काम भइरहेको छ ।’ माथिल्लो र तल्लो मनाङलाई जोडनका लागि करिब साढे दुई महिनापछि तलेखु–भ्राताङ भिरमा चट्टान काटेर सडक निर्माण गर्न थालिएपछि भने स्थानीयवासी खुसी छन् । माथिल्लो मनाङमा खाद्यान्न अभाव हुँदा मुस्ताङको मुक्तिनाथबाट थोराङ्ला पास (५ हजार ५ सय ४८ किमी अग्लो स्थान) हुँदै खाद्यान्न सामग्री ल्याइएको थियो ।
प्रतिक्रिया