तेजविलास अधिकारी
घर चलाउन
सबेरै उठ्नु
कसैप्रति गुनासो नगर्नु
सधैं बित्यो र बिग्रने भो
सधैं जाग र जगाऊ
सन्तानप्रतिको प्रेम
अनि
अभावलाई भावमा बद्लेर
आफ्नो प्रभावलाई ढाल्दै जीवन शैलीमा
फालेर फोस्रो आडम्वर
बरु कताकता
अलिकति अन्धविश्वास
झारफुक, खरानीको टीका
खै ! कस्तो मनोविज्ञान हो ?
छोराछोरीको लागि मात्र होइन
ब्याज पुस्तालाई पनि
बनेर कर्मयोगी उदाहरण ।
आमाको प्रयोग कुशल व्याकरण
नयाँ नियम बनाउने मार्गमा
पुराना तर गतिशील नियमको
नहुने गरी बर्खिलाप
खार्दै दैनिकीबाटै
त्यसैले त
आमा शब्द नै काफी
भरिएको छ महिमाले
प्रेम वितरण गरेर सन्तानमा
कति धेरै शक्तिशाली
आमा ! धर्तीमाता
आमा पृथ्वी
मेरो प्रत्येक प्रश्न
उत्तर बनेर फर्किन्छ मतिरै
आमा फालेर आफ्नो स्वार्थ
बन्दै युगको दार्शनिक ।
आमाले आमाको गरिमा
आमाले आमाको महिमा
बोक्न नसकेको दिन
आमाको व्याकरण
कस्तो बन्ला ममतामयी
रूप अनि स्वरूप
आजसम्म नफेरिएको
आमाको व्याकरण
अरु जे–जे फेरियोस
नियम कानुन
एकचोटि लेखेर नपुग्ने
एकपटक पढाई गरेर नहुने
पत्रै–पत्र ममताले भिजेको
जीवन–शैली बनेको
आमाको व्याकरण
बुझ्न कठिन
तर मीठो भोगाइ
निःस्वार्थ सृष्टिको
कहिल्यै नमेटिने
अनि
अर्थ लगाउन मुस्किल
आमाको व्याकरण ।
प्रतिक्रिया