माधव नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्ने एमालेको निर्णय

काठमाडौं । एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदलाई नेकपा एमालेले कारवाही गरेको छ ।ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज भएको स्थायी कमिटी बैठकले नेता नेपालसहितका १४ जनालाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको हो ।

सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलम्बन्धी अध्यादेश ल्याए लगतै ओली पक्षले कारबाही थालेको हो । राजनीतिक दलसम्बन्धी ऐन दफा २८ (१) बमोजिम कार्य नगरी दलको हृवीप उल्लंघन गरेको भन्दै कारबाही गरिएको स्रोतले जनाएको छ ।

कारबाहीमा पर्ने सांसदहरुमा वरिष्ठ नेता नेपालसँगै मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाक्री, विनोध खतिवडा, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणी चौधरी रहहेका छन् ।

उनीहरुलाई कारबाही गरेकाले पदमुक्त गर्न भन्दै एमालेले संसद सचिवालयमा पत्रसमेत पठाएको बताइएको छ । यो पत्र संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमको टेबलमा पुगेको स्रोतले बताएको छ ।

यसबारे सभामुख अग्निप्रसाद सापकोटाले निर्णय गर्नुपर्छ । संसदको अधिवेशन चालु भएको अवस्थामा सभामुखले संसदमै पदमुक्त भएको जानकारी गराउँछन् । संसद नभएको अवस्थामा सूचना टाँसेर पनि जानकारी गराउने गरिएको छ ।

प्रतिक्रिया