हिरोका साथी प्रेम

काठमाडौं । चलचित्र हिरो, हिरोइन, भिलेन, कमेडियन, हिरोको सहकर्मीलगायत थुप्रै पात्रले भरिएको हुन्छ । चलचित्रमा सबै पात्रको आ–आफ्नै किसिमको महत्व रहन्छ । थुप्रै पात्रमध्ये प्रायः चलचित्रमा हिरोको सहकर्मी अर्थात् साथीको रुपमा देखिँदै आएका कलाकार हुन् पुण्यप्रसाद पाण्डे ‘प्रेम पाण्डे’ । त्यहीकारण कतिपय चलचित्रकर्मीले उनलाई हिरोको साथी भनेर समेत बोलाउने गर्छन् । २०५८ सालमा नारायण पुरी निर्देशित चलचित्र ‘मामाघर’ का हिरो शिव श्रेष्ठका साथीको रुपमा चलचित्र अभिनय सुरु गरेका पाण्डेको अभिनययात्रा अहिले पनि जारी छ । सोही चलचित्र अभिनयको सिलसिलामा आफ्नो नाम पुण्यप्रसादबाट प्रेम पाण्डे बनाएका उनी चलचित्र क्षेत्रमा यसै प्रेम नामबाट चर्चित छन् ।

‘मामाघर’ रहरले अभिनय गरेको सुनाउँदै उनले यो चलचित्रको रिलिजपछि अभिनयको नसा लागिसकेको बताए । त्यसैले उनले चलचित्र ‘कर्तव्य’ पनि अभिनय गरे । ‘कर्तव्य’ मा पनि उनी अभिनेता राजेश हमालको साथीको रुपमा देखिए । ‘कर्तव्य’ पछि उनलाई पछि फर्किएर हेर्नुपरेको छैन । चलचित्र, टेलिचलचित्र, विज्ञापन, म्युजिक भिडियो लगायतमा उनको माग बढिरहेको छ । उनले ‘विष’, ‘वीरताको चिनो’ हँुदै ‘जात्रै जात्रा’ सम्म आइपुग्दा डेढ दर्जन बढी चलचित्र अभिनय गरिसकेका छन् । तीमध्ये ‘छ एकान छ’, ‘छ माया छपक्कै’, ‘छक्का पाञ्जा’ को तीन सिरिज, ‘जात्रा’, ‘जात्रैजात्रा’ लगायत निकै चलेका चलचित्र हुन् । ‘सृष्टिको फूल’ र ‘परदेशी’ उनको अभिनय रहेको प्रदर्शनमा आउन बाँकी चलचित्र हुन् ।

चलचित्र मात्र होइन उनले थुप्रै टेलिचलचित्र पनि अभिनय गरेका छन् । ‘तितो सत्य’, ‘जिरे खुसार्नी’, ‘जीवन चक्र’, ‘यातना’, ‘ट्वाक्क टुक्क रिटन्र्स’, ‘परिचय’, ‘टेन्सन साप’, ‘उल्टो सुल्टो’ लगायत दुई दर्जन बढी टेलिचलचित्रमा उनले काम गरेका छन् । यस्तै, उनले आधा दर्जन जति विज्ञापनमा काम गरेका छन् । जसमा ‘एड्स’ र ‘जस्मिन पेन्टस्’ नेपाल सरकारको खाद्यान्न लगायत पर्दछन् । प्रेमले भने, ‘संख्या त योभन्दा धेरै हुन सक्थ्यो । छानेर राम्रो मात्र काम गर्ने भएकोले कमी भएको हो ।’

झापाको बुधबारे–४, जयपुरमा जन्मिएका पाण्डेको कलाकारिता राजधानी छिरेपछि अगाडि बढेको हो । २०४९ सालमा एसएलसी दिएर उनी उच्चशिक्षा अध्ययनका लागि काठमाडौं छिरेका थिए । काठमाडांैमा कलाकारिता र अध्ययन एकसाथ अगाडि बढाएका उनले यो क्षेत्रमा स्थापित हुन निकै संघर्ष गरे । बाल्यकालदेखि नै विद्यालयका विभिन्न संगीतिक कार्यक्रम, नाटक लगायतमा सक्रिय रहने उनले केही नाटकमा अभिनयसमेत गरेका छन् ।

चलचित्रमा सधै हिरोको साथीको भूमिकामा देखिएका उनको हिरो बन्ने चाहना भने कहिल्यै अहिलेसम्म पूरा हुन सकेन । उनले कारण खुलाए, ‘मेरो अनुहार र शारीरिक बनावट हिरो हुनेजस्तो छैन । अर्काे कुरो निर्माता निर्देशकले सधैं मलाई सपोटिङ भूमिकाको लागि रुचाए ।’ सपोटिङ भए पनि अधिकांश चलचित्रमा महत्वपूर्ण भूमिकामा देखिन आफू सफल भएको उनले सुनाए ।

सानैदेखिको सपना र विद्यालयमा कलाकारिता गर्दा साथीभाइले दिएको हौसलाले आफूमा कलाकारिताको रुचि जागेको उनले बताए । प्रेमले भने, ‘टिभी हेर्दा त्यसैमा देखिएका कलाकारझै सबैले चिन्ने बन्न मन लाग्यो । पहिले मात्र चिनुन् भन्ने चाहन्थे । कलाकारिता गर्दै जाँदा यसैलाई पेशा बनाएँ ।’ उनले कलाकारितामा लागेर राम्रो आम्दानी गर्न सकेको बताए । काठमाडौंमा घर र गाडी जोड्न कलाकारिताले नै सम्भव भएको उनी खुलाए । सपोटिङ भूमिकामा अभिनय गर्दै आएका उनको पारिश्रमिक राम्रै छ । कोरोना कहरपछि पनि उनी निकै व्यस्त छन् । कहिले म्युजिक भिडियो, कहिले सिरियल त कहिले विज्ञापनले अहिले पनि भ्याइनभ्याइ भएको उनी बताउँछन् ।

उनी कोरोनाको कारणले धेरै कलाकार फुर्सदिलो भएकामा दुःखी छन् । प्राविधिक तथा अन्य कलाकार कोरोनाका कारण बेरोजगार बनेको उनीले चिन्ता व्यक्त गर्दै राज्यले ध्यान नदिएको गुनासो गरे । उनले राज्यले चलचित्र क्षेत्र चलायमान गराउन पहल गर्नुपर्ने जिकिर गरे । उनले कलाकारको अभिनयका साथै अन्य काममा पनि हुनु जरुरी रहेको कोरोनापछि आफूले अनुभव गरेको बताए । प्रेमको विदेशी चलचित्रमा काम गर्ने इच्छा रहेको बताउँदै केही विदेशी प्रोजेक्टसँग कुराकानी भइरहेकाले सो इच्छा छिट्टै पूरा हुने सुनाए ।

कोरोनालगत्तै केही फुर्सदिलो बनेका उनले त्यसबेला केही स्कुलमा कलाकारिता सिकाउन थालेका थिए । सो अहिले पनि निरन्तर चलिरहेको छ । उनले भने, ‘अभिनयको प्रोजेक्ट नभएको समय स्कुलले भरथेक गर्दाेरहेछ ।’ कलाकारिताबाटै नाम र चर्चाले उनी २०६५ सालमा पशुपति क्षेत्र विकास कोषको सञ्चालन परिषद्को सदस्यमा समेत मनोनित भएका थिए । त्यसको अलवा उनले थुप्रै सामाजिक संघसंस्थामा रहेर सामाजिक काम गर्दै आएका छन् । नेपाल चलचित्र तथा कलाकार श्रमिक संगठनको केन्द्रीय सदस्यसमेत रहेका उनी नेपाल मानव धर्म सेवा समिति, नेपाल टेलिभिजन, महानगरीय प्रहरी प्रभाग व्यवस्थापन तथा भवन निर्माण समिति, महानगरीय प्रहरी परिसर काठमाडौं, चलचित्र निर्माण संस्था लगायत थुप्रै संघ संस्थाबाट सम्मान, प्रशंसा र अवार्डसमेत जित्न सफल छन् । बेलाबेलामा सौन्दर्य प्रतियोगिता, अवार्ड लगायतमा निर्णायकको भूमिकासमेत निर्वाह गरेका उनको चलचित्र निर्माण गर्ने सोचसमेत रहेको छ ।

चलचित्र निर्माण भने टिम मिल्यो भने छिट्टै गर्ने उनी बताउँछन् । पछिल्लो समय कागेश्वरी मनहरा नगरपालिका ८ निवासी नयाँपुस्तालाई सस्तो लोकप्रियताभन्दा राम्रो कलाकारिता गर्न सुझाउँछन् । कलाकारिताबाहेक समाजसेवा रुचि राख्ने उनी निर्देशक नारायण पुरी, दीपकराज गिरी, दीपाश्री निरौला र प्रदीप भट्टराईलाई कहिलै नबिर्सिने बताउँछन् । उनले भने ‘मलाई यहाँसम्म ल्याउन उहाँहरुको भूमिका महत्वपूर्ण रहेको छ ।’ पछिल्लो समय चलचित्र होस् वा टेलिचलचित्र कमेडीले प्राथमिकता पाइरहेको छ । त्यसको क्षेत्र उनलाई पनि जान्छ । कोरोनाको कारण जारी निषेधाज्ञा पछिको समय भने उनले म्युजिक भिडियोमा चित्त बुझाउन परेको छ ।

प्रतिक्रिया