‘अद्यावधिक नक्सा अनुसारको क्षेत्रफल सार्वजनिक गरिनुपर्छ’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद तथा पूर्वमन्त्री गिरिराजमणि पाखरेलले नेपालको अद्यावधिक नक्सा अनुसारको क्षेत्रफल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले सरकारले यसलाई उच्च प्राथमिकता दिएर क्षेत्रफल सार्वजनिक गर्न माग गरेका हुन् । उनले चुच्चे नक्सा आइसकेको र नयाँ क्षेत्रफलभन्दा सरकारले घोषणा नगरेकोले विद्यार्थीहरू अलमलमा रहेको बताए ।

‘नेपाल भारतबीच सुगौली सन्धि भएको २०४ वर्षपछि बल्लबल्ल नेपाल सरकारले आफ्नो भूभागको नक्साको काम सम्पन्न गरी गत वर्ष ०७७, जेठ ७ गते वर्तमान नेपालको नक्सा अद्यावधिक गरी प्रकाशित गरियो, त्यसलाई संसद्बाट अनुमोदन गरी संविधानसमेत संसोधन गरी निशाना छापमासमेत अद्यावधिक गरिएको कुरा सर्वविदितै छ । त्यतिखेर नेपालको क्षेत्रफल भने अद्यावधिक गरिएन,’ पोखरेलले भने, ‘अहिले विद्यार्थीले नेपालको क्षेत्रफल कति हो भनेर सोध्दा शिक्षकहरू नाजवाफ छन्, पहिलेको क्षेत्रफल भनौँ नक्सा अद्यावधिक भएर चुच्चे नक्सा आइसकेको छ, अहिलेको भनौँ सरकारले घोषणा गरेको छैन, सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रममासमेत लिम्पयाधुरा, लिपुलेक र कालापानी भूभाग समावेश गरेको अवस्थामा कुटनैतिक वार्ता र सिमाङ्कन गर्नका लागि पनि आफ्नो क्षेत्रफल सुनिश्चित गर्न जरुरी छ । सरकारले यसलाई उच्च प्राथमिकतामा राखोस् ।’

पूर्व शिक्षामन्त्रीसमेत रहेका पोखरेलले आफ्नो कार्यकालमा ‘नेपालको भूगोल र नक्साबारे स्वअध्ययन सामाग्री’ भन्दै एक पुस्तकसमेत प्रकाशन गरेका थिए । तर, शिक्षा मन्त्रालयले प्रकाशित गरेको उक्त पुस्तक विक्री वितरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोक लगाएका थिए । उक्त पुस्तकमा त्यसबेला त्रिभुवन विश्वविद्यालय अन्तर्गत भूगोलका प्राध्यापक तथा विज्ञहरू सम्मिलित टोलीले अन्तर्राष्ट्रिय मापदण्ड र प्रविधि प्रयोग गरेर नेपालको नयाँ क्षेत्रफल उल्लेख गरेका थिए ।

पोखरेलले भने, ‘‘नासाको स्रोत लिएर वर्ल्ड जिओडेटिक सिस्टम (डब्लूजीएस १९४ ) प्रयोग गरेर निकालिएको निष्कर्ष अनुसार अद्वावधिक नक्सा अनुसार नेपालको पहिलेको नक्सामा ४६०.२ वर्ग किलोमिटर क्षेत्रफल थप भएको थियो ।” पुरानो नक्सा अनुसार नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर हो ।

प्रतिक्रिया