नेपाल बाहिरिए सरकार संकटमा : प्रचण्ड

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझै पनि एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा फर्किने कसरतमा रहेको बताएका छन् । दुई दुई पटक संसद विघटन गरेपछि बनाइएको वाम–लोकतान्त्रिक गठबन्धनको बलमा सत्ताको घोडाबाट झारेर बालकोट पठाइएका ओली अझै पनि फर्किने कोसिसमा रहेको ब्रिफिङ प्रचण्डले शनिबार बसेको केन्द्रीय कमिटी बैठकमा गरेका हुन् । बैठकमा सहभागी एकजना केन्द्रीय सदस्यका अनुसार साउन २९ मा गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारलाई एमालेको माधव नेपाल पक्षको साथ मिलिरहे मात्रै टिकिरहन सक्ने पनि तर्क दाहालले गरेका छन् । माधव नेपालले एमालेका २२ सांसदसहित देउवालाई साथ दिएका छन् । नेपाल पक्षका १४ र ओली पक्षका ८ सांसदको साथ पाएपछि देउवाले बलियो बहुमतसहित आगामी डेढ वर्षका लागि सत्ताको कुर्सी पक्का गरेका थिए ।

तर अध्यक्ष प्रचण्डले एमाले एकताका लागि चलिरहेको वार्तातर्फ संकेत गर्दै नेपाल पक्षको बलियो साथ नमिलेमा देउवा सरकारको जग हल्लिन सक्ने बताएका हुन् । यदि नेपाल पक्षले साथ छाडेको अवस्थामा देउवा नेतृत्वको गठबन्धन सरकार जुनसुकै बेला अल्पमतमा पर्न सक्ने जोखिम प्रचण्डले देखेका छन् । उनले पछिल्लो राजनीतिक अवस्थाको चिरफारका क्रममा जसपाको आधिकारिकता गुमाइसकेको महन्थ ठाकुर समूहले देउवालाई लामो समय साथ दिन नसक्ने पनि सम्भावना औँल्याए । उनले ठाकुर समूहको भरोसा नभएको बताउँदै यदि नेपाल पक्ष एमालेको विवाद मिलेर पार्टीमा फर्किएको अवस्थामा देउवा सरकार जोखिमा पर्न सक्ने विश्लेषण केन्द्रीय सदस्यहरुलाई सुनाएका हुन् ।

’माधव नेपालहरुको अडान र साथका कारण अहिले हाम्रो गठबन्धन सरकारलाई बलियो बहुमत मिलेको छ’, बैठकमा प्रचण्डको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने, ’माधवजीकै कारण केपी ओलीलाई सत्ताको घोडाबाट झारेर बालकोट पठाउन सम्भव भएको हो । तर यो गठबन्धन सरकार पनि जुनसुकै समय अल्पमतमा पर्ने जोखिम छ । त्यहीकारण हामी धेरै उत्साहित भइजानुपर्ने अवस्था छैन । बरु अझै सजगताका साथ हाम्रा कदम चाल्नु जरुरी छ ।’

देउवा नेतृत्वको सरकार बनेको एक महिना पूरा भइसक्दा पनि मन्त्रिमण्डल विस्तार हुन नसकेको अवस्थामा प्रचण्डले फेरि पनि ओली नै सत्तामा आउन सक्ने खतरा पनि देखेका छन् । उनले अहिलेको वाम–लोकतान्त्रिक गठबन्धनलाई फुटाएर ओली नै सरकारमा आउने खेल भइरहेको पनि बताएका छन् । ’हाम्रो वाम–लोकतान्त्रिक गठबन्धन फुटाएर ओलीलाई नै सरकार फर्काउने षडयन्त्र भइरहेको छ’, उनले भने, ’दुई दुई पटकको प्रतिगमन फेल भयो भनेर हामी हौसिनु उचित छैन । अझै पनि प्रतिगमनको खतरा यथावत छ ।’

प्रचण्डले सम्बोधनका क्रममा देउवा सरकारलाई मिलेको समर्थनको अंकगणितबारे पनि व्याख्या गरेका थिए । ’जसपाबाट उपेन्द्र यादवजीहरुका २० सांसद, कांग्रेसका ६३ र माओवादीको ४८ जोड्दा १३१ मात्रै हुन्छ’, उनले बैठकमा भने, ’तर सरकारलाई बहुमत पु¥याउन १ सय ३६ सांसद जरुरी छ । यो अवस्थामा हामीले माधवजीहरुलाई गठबन्धनमा राखिरहन आवश्यक छ । उहाँहरुको साथ बचाउन नसकिए गठबन्धन संकटमा पर्छ ।’

दाहालले माधव नेपालहरुलाई गठबन्धनमा राखिरहन सम्भावित सबै विकल्प खोजिने पनि बताएको ती केन्द्रीय सदस्यले जानकारी दिए। उनले माधव नेपालहरू गठबन्धनमै रहने विश्वास गरे पनि ढुक्क भएर बस्न सकिने अवस्था नरहेको टिप्पणी बैठकमा गरेका थिए । उनले शनिबारैै पेश गरेको आठ पेज लामो सांगठनिक तथा राजनीतिक प्रस्तावमा केपी ओलीको कदमविरुद्ध बनाइएको पाँच दलीय गठबन्धनलाई आगामी निर्वाचनसम्म कायमै राख्नुपर्ने पनि बताएका छन ।

कांग्रेस–माओवादी नेतृत्वको सत्ता गठबन्धनलाई आगामी वर्ष हुने स्थानीय, प्रदेश र संघीय संसदको निर्वाचनसम्म कायम गर्न सकेमा सबैजना सुरक्षित हुने निष्कर्ष दाहालले पेश गरेको दस्तावेजमा उल्लेख गरिएको छ । ओलीले दुई दुई पटक संसद विघटन गरेपछि बनेको वाम–लोकतान्त्रिक गठबन्धनलाई चुनावसम्म कायम राखेर अघि बढ्नुपर्ने दाहालको जोड थियो । यसो हुन सकेमा फेरि प्रतिगामीहरुले टाउको उठाउन नपाउने जिकिर पनि दाहालले गरेका छन् ।

प्रतिक्रिया