ओलीले एकताको सबै ढोका बन्द गरे पार्टी पुनर्गठन प्रक्रियामा गइन्छ : माधव नेपाल

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको सबै ढोका बन्द गरे अर्कै पार्टी पुनर्गठन प्रक्रियामा जाने बताएका छन् ।

शनिबार (आज) बागमती प्रदेश सम्पर्क समितिको समानान्तर नेतृत्व घोषणा गर्न काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ सो कुरा बताएका हुन् ।

उनले भने, ‘पार्टी एकताका सबै ढोकाहरु बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न सकिँदैन, पार्टी एकताका लागि अझै पनि कोसिस गरिरहेका छौँ ।’

साथै, उनले निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधारमा चल्ने स्थिति अनुसार एकताका लागि आफूहरु तयार रहेको पनि बताए ।

नेता नेपालले दोहोर्याए, ‘एकता हाम्रो चाहना हो, इच्छा हो, हाम्रो इच्छा र चाहना विभाजन होइन, तर एकताको सबै ढोका बन्द भयो भने सम्भावना रहेन भने त्यस्तो अवस्थामा पार्टीको पुनर्गठन गर्ने, पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट हामी पछि हट्नु हुँदैन, त्यो अन्तिम उपाय मात्रै हुनेछ ।’

पार्टी एकताको लागि अझै केपीलाई सुधार्ने प्रयास जारी राखेकोसमेत उनले बताए । अध्यक्ष ओलीले गरेको गलत निर्णय फिर्ता लिने र निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधार चल्ने स्थिति भए पार्टी एकता हुने स्पष्ट पारे ।

प्रतिक्रिया