अफताव आलमको मुद्दा ‘हेर्न नमिल्ने’मा

फाइल तस्विर

काठमाडाैं । इँटाभट्टामा मजदुरलाई जिउँदै जलाएको अभियोगमा थुनामा रहेका कांग्रेस नेता मोहम्मद अफताव आलमको मुद्दा हेर्न नमिल्नेमा राखिएको छ ।

आज न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो । पेशी पहिलो नम्बरमै भए पनि हेर्न नमिल्नेमा राखिएको सर्वोच्च अदालतले जनाएको छ ।

नेता आलमलाई जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्जले दिएको थुनामा राख्ने आदेशविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए ।

आलमले ७३ नम्बरको थुनुवा निवेदन सर्वोच्चमा दायर गरेका थिए। २०७७ असोज १२ गते दर्ता भएको निवेदनमा उनलाई थुनामा पठाउने निर्णय बदर हुनुपर्ने माग गरिएको छ। जिल्ला, उच्च अदालत हुँदै उनको मुद्दा सर्वोच्च आएको हो। आलमको मुद्दा रौतहट जिल्ला अदालतमा विचाराधीन रहेको छ।

पुर्पक्षका लागि थुनामा पठाउने रौतहट जिल्ला अदालतको आदेश र सोही आदेशलाई सदर गर्ने उच्च अदालत वीरगञ्जको आदेश खारेज हुनुपर्ने जिकीर उनको निवेदनमा गरिएको छ। कोभिड-१९ को महामारी रहेको र जेलभित्र समेत संक्रमण ब्यापक भएकाले रिहाइ गर्नुपर्ने तर्क आलमको निवेदनमा गरिएको छ।

प्रतिक्रिया