‘दास प्रवृत्तिको अन्त्य हुन्छ’

धनराज गुरुङ, नेता नेपाली कांग्रेस

नेपालको पुरानो पार्टी नेपाली कांग्रेसमा यतिबेला तोकिएकै समयमा महाधिवेशन हुने वा नहुने अन्योलता छ । यदि, पछिल्लो तोकिएकै समयमा महाधिवेशन भएमा त्यो भदौ १६ हो । तर, महाधिवेशनका लागि एक महिनाभन्दा कम समय रहेको र पार्टीका आन्तरिक विवादहरू समाधान नभएकाले उक्त मितिमा महाधिवेशन हुनेमा नेताहरू विश्वस्त देखिँदैनन् । भर्खरै सत्ताको नेतृत्व गर्न पुगेको कांग्रेसमा दोस्रो र तेस्रो पुस्ता पार्टीको नेतृत्व लिन आतुर देखिएका छन् भने पुरानो पुस्ता आफ्नो वागडोर छोड्ने अवस्थामा छैन । यसै सेरोफेरोमा कांग्रेस नेता धनराज गुरुङसँग सौर्य दैनिकका लागि चमिना भट्टराईले गरेको संवादको संपादित अंश :

नेपाली कांग्रेसको महाधिवेशन भदौमा हुने अवस्था छ कि छैन ?
भदौमा महाधिवेशन हुन गाह्रो छ । त्यो समयमा होला भन्ने मलाई लाग्दैन ।

केही नेता भदौमा नै महाधिवेशन हुन्छ भन्दै हुनुहुन्छ । तपाईं गाह्रो छ भन्नुहुन्छ किन ?
अहिलेसम्म पार्टीको क्रियाशील सदस्यता विवाद टुंगेको छैन । संगठन व्यवस्थित बनेको छैन र महाधिवेशनको पुरानो सेडुल प्रभावित भइसकेको छ । अब नयाँ सेडुल बनाउँदा महाधिवेशन अहिलेसम्म तोकिएकै मितिमा हुने सम्भावना मैले कम देखेको छु ।

तोकिएको मितिमा महाधिवेशन भएन भने पार्टीको वैधानिकता के हुन्छ ?
यसबारेमा पनि केही गर्न सकिनेछ । जस्तो भदौको १६ बाट वडा तहको अधिवेशन सुरु गरेर गाउँ, नगर हुँदै भदौ २२–२३ सम्म प्रदेशसभा, भदौको २६ तिर संघीय निर्वाचन क्षेत्र, जिल्ला अनि असोजको ३–४ तिर प्रदेश अधिवेशन र असोजको अन्त्यमा महाधिवेशन गर्न सकिन्छ । यस प्रकारका सेडुलको बारेमा पनि छलफल हुँदै छ । त्यसो भयो भने, हामीलाई भदौ महिनामा नै महाधिवेशन सम्पन्न गर्ने दायीत्व संविधानअनुसार थियो । त्यसैअनुसार भदौबाट सुरु गर्दा अहिले तोकिएकै मितिलाई टेकेको देखिन्छ । यसले महाधिवेशनका प्रक्रिया सुरु भएको मानिने र महाधिवेशनको वैधानिकताको प्रश्न पनि टरेर जानेछ ।

अर्कोतर्फ कोभिड–१९ का कारण मुलुकमा पटकपटक लकडाउन भयो अघिल्लो वर्ष र अहिले गरी करिब ६ महिना मुलुक लकडाउनमा पर्यो यसले पनि हामीले कहीँ न कहीँ स्पेस पाउँछौँ कि भन्ने लागेको छ । सारा मुलुक नै ठप्प भएका कारण हामीले महाधिवेशनको गतिविधि अगाडि बढाउन नसक्नु यो पनि कारण हो । क्रियाशील सदस्यता वितरण, स्थानीय तहको अधिवेशन जस्ता काममा हामीलाई कोभिडले पनि प्रभाव पारेको हो । यसलाई पनि केही आधार मान्न सकिन्छ ।

कोभिड कारण देखाएर पछाडि धकेल्दा वैधानिक हुन्छ भन्न खोज्नुभएको हो ? त्यसोभए कोभिडले सहज बनाएको ठान्ने ?
कोभिडले सहज होइन, असहज बनाएको छ । कोभिडका कारण भएका लकडाउनले भेला अधिवेशन रोकिए । सदस्यता, नवीकरण र वितरण गर्न सकिएन । हाम्रो सदस्यता वितरण नवीकरण गर्न भेला गर्नुपर्ने विधानमा व्यवस्था छ त्यो प्रभावित भयो । महाधिवेशनको पहिलो अधार भनेको क्रियाशील सदस्य नै हो उनीहरूको बीचमा जान भेला गर्न पाइएन । त्यसैले कोभिडको असर हाम्रो महाधिवेशनमा परेकै हो । यसलाई नकार्न सकिन्न ।

तपाईंले महाधिवेशन बारेमा भन्नुभएको सेडुल समूहगत हो ?
हो । यसबारेमा पार्टीमा विभिन्न तहमा छलफल भएका छन् । केही साथीहरू महाधिवेशन भदौमा सुरु गरेर मंसिरमा पुर्याउने कुरा पनि गर्दै हुनुहुन्छ । त्यो नालायकी कुरा हो । किनभने भदौमा सुरु गरेर मंसिर सम्मका विभिन्न मितिमा के गर्ने त्यसको पनि कुरा हुनपर्छ ? हामीले भने भैmँ भदौमा सुरु गरेर असोजमा सकाउन सकिन्छ । तर, साथीहरू भदौमा वडा सुरु गर्ने र निर्वाचन आयोगमा चिठी पठाउने महाधिवेशन सुरु भयो भनेर अनि त्यो चिठी सिरानीमा राखेर मंसिरसम्म आनन्दले सुत्ने सोचमा हुनुहुन्छ । त्यसो गर्न सकिन्न ।

त्यस्तो प्रयास कसले गर्दै छन् ?
पदाधिकारीबाट नै आएको छ । यो एकदम नालायकी तर्क हो । जब भदौमा सुरु गर्ने हो भने दुई÷तीन दिनको ग्यापमा विभिन्न तहको अधिवेशन गर्न सकिन्छ । यदि कोभिड फेरी बढ्यो सक्दै सकिएन भने अर्को पनि उपाय छ । स्थानीय तहमा एकै ठाउँमा धेरै मान्छे भेला नगरेर निर्वाचनमा बहुकेन्द्र बनाई एउटै वडामा १०÷१२ वटा मतदान केन्द्र बनाएर पनि गर्न सकिन्छ । यसो गर्दा मान्छेको भिड कम हुन्छ । त्यसो गर्दा पनि समस्या भयो वा गर्ने इच्छा भएन भने सिधै भन्दा भयो नि कोभिडका कारण मुलुकमा पटकपटकको लकडाउनले अब महाधिवेशन भदौको सट्टा कात्तिकको यति गतेबाट सुरु गरेर मंसिरमा सम्पन्न गर्ने गरी निर्वाचन आयोगलाई पत्र पठाए हुन्छ । हामीलाई त निर्वाचन आयोगलाई पनि ढाँट्ने हो कि भन्ने आशंका पैदा भएको छ । महाधिवेशन सार्नुको कारण र सेडुलसहित निर्वाचन आयोगमा जानकारी दिनुपर्छ । तर, फेरी पनि हाम्रो प्राथमिकता भदौमा सुरु गरेर असोजमा नै महाधिवेशन गर्नुपर्छ भन्ने हो । त्यसो गर्न सकिन्छ पनि ।

महाधिवेशन समयमा नहुनु कोभिड हो कि आन्तरिक कारण ?
समस्या आन्तरिक नै हो । यसमा धेरै व्याख्या गर्नु परेन । किनभने, चार वर्षमा महाधिवेशन गर्नुपर्ने विधानमा छ । पहिला नै गर्नुपर्ने समयमा गरिएको भए न नेपालमा कोभिड आएको थियो न लकडाउन थियो । त्यसैले महाधिवेशन समयमा नै नहुनु भनेको हाम्रो अकर्मण्यता नै हो भन्ने मलाई लाग्छ । हामीले विधानबमोजिम महाधिवेशन गर्न चाहेनाैं र संविधानले दिएको एक वर्ष थप्न सकिनेछ भन्ने व्यवस्थालाई पनि सही रूपमा लिन सकेनौँ । विधानमा महाधिवेशन सार्न मुलुकमा संकटकाल वा महामारी चलेको हुनुपर्छ भन्ने छ । तर, यी सबै कुरा नभएर पनि हामीले समयमा महाधिवेशन गर्न सकनौँ । त्यतिबेला हामीले भनेको हो महाधिवेशनको तयारी गर्नुपर्छ । तर, केही नेतालाई लाग्यो होला समय थपेर पनि चलाउन पाइन्छ भन्ने, यही बीचमा कोभिड आयो । कोभिडका कारणभन्दा पनि आन्तरिक कारणले समयमा नै पार्टीको महाधिवेशन हुन नसकेको हो । अहिले कोभिड थप कारण बनेको छ ।

त्यसोभए नेतृत्वको अनिइच्छाका कारण पार्टीको महाधिवेशन समयमा हुन सकेको छैन ?
नेतृत्वले आफ्नो जिम्मेवारी लिने बित्तिकै पहिलो दिनबाटै क्रियाशील सदस्यता वितरण गर्नुपर्ने थियो । उहाँहरूले त्यसो गर्नु भएन । महाधिवेशन गर्ने वर्ष सदस्यता नवीकरण र नयाँ क्रियाशील सदस्यता वितरण गर्न पाइँदैन । अहिले जसरी सदस्यता वितरण र नवीकरण भएका छन् त्यो विधानबमोजिम भएका छैनन् । विधान विपरीत गएर विधि पद्दती कुल्चने काम गरिएको छ ।

पार्टीले भदौमा महाधिवेशन गर्ने भनेको छ सदस्यता टुंगिएको छैन, पार्टी कार्यालयमा सदस्यताकै विषयमा धर्ना छ । यसलाई के भन्नुहुन्छ ?
यी सबै चीज बेलामा नै गरेको भए यो धर्नासर्ना देख्नुपर्ने थिएन । अहिले आएर एकातिर साथीहरू धर्नामा बस्नुभएको छ । अर्कोतर्फ क्रियाशील सदस्यता टुंगिएको छैन । मलाई लाग्छ । नेतृत्वका कारण जहाँजहाँ अन्याय भएको छ त्यसलाई अन्त्य गर्नुपर्छ पार्टीका सदस्य कसैलाई अन्याय गर्नु हुँदैन । पार्टीभित्र सबैलाई समान व्यवहार गर्नुपर्छ । यी सबै कुरा नेतृत्वले समयमा नै गर्न नसकेका कारण भएको हो ।

भर्खरै सरकारको नेतृव कांग्रेसले गरेको छ यसले महाधिवेशनलाई प्रभाव पार्न सक्ला कि नसक्ला ?
सरकार भनेको एउटा पक्ष हो र पार्टीको महाधिवेशन अर्को पक्ष हो । तर, नेपालको परम्परा र मानसिकता शक्तिका आधारमा चल्नेछ । कतै त्यो महाधिवेशनमा प्रभावित न होला भन्ने लाग्दैन । तर, कांगे्रस राजनीतिमा खारिएर आएको पार्टी हो । यसमा खारिएका नेताहरू हुनुहुन्छ भन्ने लागेको छ । त्यसकारण सत्ता शक्तिको प्रभाव महाधिवेशनमा पर्ला भन्ने मलाई लाग्दैन । पर्न पनि हुँदैन ।

कांग्रेसभित्र नेतृत्व हस्तान्तरणको कुरा उठ्ने गरेको छ । अबको महाधिवेशनमा नेतृत्व युवा पुस्तामा जाने सम्भावना कत्तिको छ ?
हामीले रूपान्तरणको कुरा गरेका छौँ । रूपान्तरण भनेको एउटा पात्रको ठाउँमा अर्को उस्तै पात्र ल्याउन मात्रै होइन, अर्को कुरा पात्र परिवर्तन कि दृष्टि परिवर्तन भन्ने छ । पात्र मात्रै परिवर्तन गरेर हुँदैन दृष्टि पनि परिवर्तन गर्नुपर्छ रूपान्तरणका लागि । अहिलेको परम्परागत प्रवृद्धि परिवर्तन गर्नुपर्छ । त्यसका लागि नेतृत्व परिवर्तन हो । अहिले जो जो नेताहरूले आकांक्षा व्यक्त गर्नुभएको छ ती सबैप्रति मेरो शुभकामना छ । तर, फेरी पनि नेपाली कांग्रेसमा परम्परागत शैलीमा नै चल्ने नेतृत्व आउला भन्ने मलाई लाग्दैन । अबका दिनमा नेतृत्वमा ठूलै परिवर्तन आउने सम्भावना देखिँदै छ । आउँदो १४औँ महाधिवेशनमा नेृतत्वमा उथलपुथल हुन्छ । विगतमा जस्तो दौरा र सारीको फुर्को समातेर पद हासिल गर्ने दास प्रवृद्धिको अन्त्य हुन्छ भन्ने आशा लागेको छ मलाई ।

त्यसोभए आउने महाधिवेशनमा नयाँ पुस्तामा नेतृत्व जाने सम्भावना बढी छ ?
हो आउने महाधिवेशनमा नेतृत्वमा धेरै फेरबदल आउनेछ । अब नेपाली कांग्रेस परम्परागत रूपमा चल्दैन । नयाँ ढंगले चल्ने गरी नयाँ नेतृत्वले पार्टी चलाउनेछ र परम्परागत शैली समाप्त हुनेछ । कांग्रेस विधानअनुसार चल्ने क्रियाशील पार्टी बन्नेछ ।

अब कांग्रेसले सबै क्षेत्रलाई सुधारेर अगाडि बढ्ने नेतृत्व पाउनेछ ?
त्यो आवश्यक छ । आफैं रूपान्तरण नहुने, पार्टीलाई रूपान्तरण गर्न नसक्नेले देशको मुहार बदल्छु भन्नु बेकार छ । त्यसैले हामीले १४औँ महाधिवेशनबाट नयाँ नेतृत्वका साथ पार्टीलाई रूपान्तरण गरी देशको मुहार फेर्नेे छौँ । हाम्रो लक्ष भनेको अन्ततोगत्वा समग्र मुलुकको रूपान्तरण हो । तर, मुलुकको रूपान्तरण खोज्नेले पहिला आफैंलाई रूपान्तरण गर्नुपर्छ । आफू नबदलिने, पार्टी बदल्न नसक्नेले देशको मुहार बदल्छु भन्नुको अर्थ छैन । त्यसकारण पहिला आफू बदलौँ, पार्टीलाई बदलौँ र देशको मुहार फेर्ने आजको अवश्यकता हो । यसलाई कांग्रेसका नेता कार्यकर्ताले बुझेका छन् । त्यसैअनुसार नेतृत्व छनौट गर्नेछन् । मुलुकमा सत्ता भनेको आतेजाते जस्तो मात्रै भएको छ । ‘जुन जोगी आए पनि कानै चिरेको’ भने झैं भएको छ । अब हामी त्यस्तो हुन दिने छैनौँ ।

तपाईंले भने झैं कांग्रेस १४औँ महाधिवेशनपछि मुलुक र जनताप्रति जिम्मेवार हुने कुशल नेतृत्व चयन गर्नेछ त ?
महाधिवेशनपछि पहिलो कुरा पार्टीभित्र न्यायोचित न्याय प्रणाली स्थापित गरिनेछ । पार्टीमा कसैले दजनौँपटक अवसर पाउने, कसैले एकपटक पनि अवसर नपाउने, सँगै जेल बसेको मान्छे पटकपटक मन्त्री हुने, अर्को सँगै जेल बसेको उत्तिकै क्षमता भएको मान्छेले सांसद पनि हुन नपाउने । अत्यन्तै असक्षम मान्छे जो एकदिन पनि संसद्मा जनताका कुरा बोल्न सक्दैन त्यस्ताले पनि दौरा र सारीको फुर्को समातेको भरमा पटकपटक अवसर पाउने गरेका छन् । यस्ता कार्यले पार्टीभित्र ठूलो विभेद छ यसलाई अन्त्य गरिनुपर्छ । पार्टीमा नयाँ पुराना, योग्यता क्षमता र भूमिकाका आधारमा अवसर दिनुपर्छ यो प्रकारको न्यायोचित व्यवस्था गरी अगाडि बढ्नुपर्छ । त्यसपछि मुलुकलाई प्राथमिकताका आधारमा विकास गर्दै लानुपर्छ । हामीले सरकारलाई सुझाव दिएका छौँ । पहिलो कुरा सरकारले भ्रष्टाचारीलाई कारबाहीको सुरुआत गरी हाल्नुपर्छ । जुनसुकै पार्टीको भए पनि कारबाही गर्नुपर्छ । हामी त्यसका लागि निरन्तर दबाब दिन्छौँ । महाधिवेशनपछि पनि हाम्रो सरकार भए यी काम गर्छौं अरूको सरकार भए दबाब दिन्छौँ र भ्रष्टाचारका फाइल खोल्न लगाउँछौँ । भ्रष्टाचारकै कारण जनताले सुशासन पाएका छैनन जबसम्म सुशासन हुँदैन, तबसम्म समृद्धि आउँदैन । समृद्धि नआइ नेपाल अघि बढ्दैन । त्यसैले हाम्रो ध्यान त्यता केन्द्रित छ ।

हिजोसम्म कांग्रेस प्रतिपक्षमा थियो तर, मुलुकमा प्रतिपक्ष छ कि छैन भनेजस्तै भयो अब तपाईंका कुरा कसरी विश्वास गर्ने ?
यसमा केही सत्यता छ । तर, हामीले पार्टीमा यसबारेमा पटकपटक कुरा उठायौँ । तत्कालीन सरकारले यति काण्ड, ओम्नी काण्ड, स्वास्थ्य सामग्री खरिदका विषयमा उठेका प्रश्नदेखि कोभिडका कारण जनताले खेप्नुपरेको सास्तीका बारेमा पार्टीले बोल्नुप¥यो आन्दोलन गरौँ भन्यौँ । यस्तो कोभिडका बेला कहाँ आन्दोलन गर्ने भन्दै टार्ने काम भयो । त्यसोभए सत्याग्रह गरौँ सभापति, पदाधिकारीसहित केन्द्रीय सदस्य बसन्तपुरमा सत्याग्रहमा बसौँ र प्राथमिकतामा आधारमा सरकारलाई दबाब दिऔँ । यसको असर जिल्ला जिल्लामा पनि पर्छ जिल्लामा पनि सुरु हुन्छ भनेर प्रस्ताव गरेको हो । तर, हिजो केन्द्रीय समितिमा हाम्रा कुरा सुनिएन । अब म के कुरामा ढुक्क छु भने आउने महाधिवेशनपछि हामी आपैmँ पदाधिकारी हुनेछौँ । हाम्रो एजेन्डा लागू गर्नेछाँै । हाम्रा एजेन्डामा महाधिवेशनमा आउने धेरै प्रतिनिधिले साथ दिनेछन् । पार्टीमा भ्रष्टाचारमा लागेका गन्हाएकालाई नेतृत्वमा स्थापित गर्ने छैन भन्ने लागेको छ । अबको कांग्रेसको नेतृत्व भ्रष्टाचारका विरुद्ध लाग्नेले लिनेछ र त्यसले मुलुकलाई तरंगित गर्दै लैजानेछ । नेपाली जनतालाई सुसूचित गर्नेछ ।

भनेपछि १४औँ महाधिवेशनपछि नेपाली कांग्रेसले कुशल र भ्रष्टाचारमुक्त नेतृत्व पाउनेछ ।
हो । मैले त पटकपटक भ्रष्टाचारको विरोध गर्दै आएको छु र यो सोच भएका ठूलो पंक्ति नेपाली कांग्रेसमा छ जसले आउने महाधिवेशनले नेतृत्वमा पु¥याएर मुलुकका लागि जिम्मेवार ढंगले काम गर्ने अवसर दिनेछ ।

तपाईंको पार्टीले सरकारको नेतृत्व गरेको छ । सरकारसँग जनताले कति अपेक्षा गर्ने ?
सरकारसँग जनताले अपेक्षा गर्नुपर्छ र सरकारले पनि प्रतिवद्धताअनुसार जनताको पक्षमा काम गर्नुपर्छ । अहिलको प्रमुख समस्या खोप हो । त्यसलाई प्रभावकारी रूपमा जनतालाई दिनुपर्छ । यसको व्यवस्थापन पक्ष कमजोर देखिएको छ यसलाई चुस्त बनाउनुपर्छ । विदेश जाने युवालाई खोप लगाएको टिआर कोडका लागि सहज बनाउन पर्छ यसमा गुनासो सुनिएको छ त्यस बारेमा सरकारले ध्यान पु¥याउन पर्छ । खोप ल्याएर मात्रै हुँदैन व्यवस्थित रूपमा जनताले लगाउन पाउने व्यवस्था बनाउनुपर्छ । अर्को कुरा भ्रष्टाचार नियन्त्रण हो । भ्रष्टाचार गर्ने छुट यो सरकारलाई छैन र विगतमा जसले गरेका छन् त्यसको पनि छानविन हुनपर्छ ।

त्यसैगरी नागरिकलाई स्थानीय निकायमार्फत निःशुल्क स्वास्थ सेवा दिनुपर्छ । गरिब र निम्नस्तरका जनतालाई निःशुल्क स्वास्थ्य सेवा दिनुपर्छ । कुनै पनि गरिब नेपाली उपचार नपाएका कारण मर्ने अवस्था यो सरकारमा हुनु हुँदैन । यसका लागि टयक्सको भार बढाएर होइन, यसको दायरा बढाउन पर्छ बरु । यस्तै सबैका लागि निःशुल्क गुणस्तरीय शिक्षा प्रदान गर्न प्रारम्भ गरिनुपर्छ । शिक्षामा मेरो सुझाव छ, बुढानीलकण्ठ स्कुलको मोडल । त्यहाँ ६६ प्रतिशत विद्यार्थी पैसा तिरेर ३३ प्रतिशत निःशुल्क पढछन् । त्यो मोडल मैले ठीक देखेको छु । पैसा हुनेले तिरेर पढ्ने नहुनेले निःशुल्क पढ्ने तर शिक्षाको स्तर एकै प्रकारको हुने व्यवस्था गर्नुपर्छ । बुढानीलकण्ठमा दुर्गममा विद्यार्थी सित्तैमा र काठमाडौंका धनीका छोराछोरी पैसा तिरेर पढ्ने गरेका छन् । यस्तै व्यवस्था सातै प्रदेशमा गरिनुपर्छ । यस्ता काममा सरकारले ध्यान दिने हो भने जनताको आकर्षण सरकारप्रति ह्वात्तै बढ्छ ।

तपाईंले भनेको जस्तो सम्भव होला ?
गर्ने भनेकै यस्तै काम हो । यति पनि नगर्ने हो भने सरकारमा किन जाने ? सरकारमा जानु भनेको खाली अगुवा पिछुवा गाडी हाँकेर हाहाहुहु गर्ने साइरन बजाएर झण्डावाल गाडीमा ट्राफिक नियम मिच्दै जताबाट मनलाग्यो उतैबाट हिँड्न होइन । जनताका काम गर्न हो । त्यसकारण सरकारमा जाने भनेको जनता र राष्ट्रको हितमा काम गर्न जाने हो । त्यसैले त्यसको सुरुआत गर्नै पर्छ । त्यसो गरियो भने मात्रै सरकारप्रति जनताले गरेकोे अपेक्षा पूरा हुनेछ । यो वर्तमान सरकारको दायीत्व पनि हो ।

प्रतिक्रिया